कोभिड – १९ को असर : लेकसाइड सुनसान, आसपास भरिभराउ


     जमुना वर्षा शर्मा     
     मंसिर १२ गते २०७७ मा प्रकाशित




कोरोना महामारीले हरेक क्षेत्रमा उस्तै प्रभाव पारेको छ । अझ पर्यटन क्षेत्रमा यसको असर बढी देखिएको पाइन्छ । पोखरा पर्यटकीय शहर, पोखराको सुन्दरतादेखि बन्दै गरेको अन्तराष्ट्रिय एयरपोर्टले गर्दा पनि यस क्षेत्रका अधिकांश व्यवसायीले पर्यटन क्षेत्रमा लगानी गरेका छन् । यसैबीच कतिलाई लगानी डुब्ने चिन्ताले सताएको छ भने कति ले ‘पर्ख र हेर’ को अवस्थामा बसेका छन् । लेकसाइड अधिकांश पर्यटकको रोजाइको स्थल हो । फेवातालको सुन्दरता र तालको बीचमा माछापुच्छ्रेको मनमोहक छायाँको दृश्यले जो कोहीलाई मोहित बनाउँछ ।
कोरोना कहरले सुस्ताएको पोखराको पर्यटन बन्दाबन्दी खुले यता केही चलायमानको आशा गरेपनि लेकसाइडका प्रमुख होटल तथा रेष्टुरेण्ट प्राय सुनसान छन् भने २० देखि ३० प्रतिशत व्यवसायी व्यवसायबाटै पलायन भएको अवस्था छ । कोरोना कहरकै बीच खपौदी पामे लगायत शहरी क्षेत्रभन्दा केही टाढा बनेका होटल रेष्टुरेण्टमा भने आन्तरिक पर्यटकको चहलपहल राम्रो देखिएको छ ।
पोखराको खपौदीमा यहि कात्तिक ७ गतेदेखि सञ्चालनमा आएको ‘पाम विच एण्ड लाउन्च’मा यतिबेला आन्तरिक पर्यटक भरीभराउ देखिन्छन् । पोखरा बाहिर चितवत भैरवहा, स्याङ्जा, तनहुँ, पर्वतदेखि आएका गेष्टहरु तालछेऊ मा खानाको स्वदसँगै तालको दृश्यावलोकनमा रमाएको देख्न सकिन्छ ।
तीन रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर पोखराकै पाँच जना युवाले सञ्चालन गरेको उक्त रेष्टुरेन्टमा अहिले दैनिक २५० भन्दा बढी गेष्ट आउने गरेको संचालक राजेन्द्र रानाभाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले तालछेऊको सुन्दरतालाई मध्यनजर गर्दै रेष्टुरेन्टको संरचना बनाउँदै गर्दा कोभिडको मारमा पर्यौ, कोरोना महामारीका कारण रोकिएको व्यवसायलाई ६० प्रतिशत भौतिक संरचना मात्र तयार भएपछि कात्तिक ७ गते सञ्चालनमा ल्यायौँ, राम्रोसँग प्रमोशन पनि गर्न पाएका छैनौ, तर अहिले गेष्टको आगमन एकदम राम्रो छ ।” उहाँले कोरोनाको समयमा व्यवसाय शुरु गर्दा निकै तनाव भएको स्मरण गर्दै भन्नुभो । “हामी निकै तनावमा भोग्यौ, एक करोडको हाराहारीमा मात्रै प्लानिङ गरेका थियौँ, तर सोचेको भन्दा बढी लगानी भयो । अहिले साढे दुई करोड पुगिसक्यो, संरचनाहरु थपिदै छन् । तत्कालिन समयमा कहिँ कतैबाट उधारो सामान पाउन पनि मुस्किल भयो, बैंकले पनि लगानी गरेन” अहिले ६० प्रतिशत मात्रै संरचनामा गेष्टहरुको आगमन उत्साह थपिएको र आशा पलाएको बताउनुभयो ।


अर्का संचालक शंकर पराजुलीले रेष्टुरेन्टको विशेषतााको रुपमा तालछेऊको इन्टेरियरलाई ध्यान दिएको बताउनुभयो । “हामीले वालीका खेतका बीचमा चराको गुँड जस्तै बनाएर सजाएको देखेका थियौँ । त्यसको प्रयोग ताल छेऊमा हामीले गर्यौ । यहाँ आउने अधिकांशले त्यहा फोटो खिच्ने बस्ने र रमाउने गर्नुभएको छ ।” उहाँले अहिले ३० ÷३५ जना स्टाफ रहेको र निकट भविष्यमा स्थानीयलाई रोजगार दिर्दै अर्गानीक तरकारी उत्पादनमा जोड दिने बताउनुभयो ।
खपौदीमै रहेको ‘कोको विच’ रेष्टुरेन्टमा पनि अहिले ग्राहकको बाक्लो चहलपहल देख्न सकिन्छ । कोरोनाका कारण बन्द रहेको रेष्टुरेन्ट भदौको अन्तिम साताबाट सञ्चालनमा आएको उक्त रेष्टुरेन्टका सञ्चालक जीवन गुरुङ जानकारी दिनुभयो । “लामो समयको बन्दाबन्दी पछि हामीले भदौ अन्तिम साताबाट शुरु गरेका हौ, अहिले शुक्रबार र शनिबार ग्राहक अलि बढी आउने र अरु बार ठिक ठिकै रहेको छ । कोरोनाको समय यत्तिको ग्राहक सन्तोषजनक रुपमा लिएका छौ ।” तीन वर्ष अघि करिब २ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर ५० लाख लगानीबाट सुरु गरीएको उक्त रेष्टुरेन्टमा ३० ÷३५ जना स्टाफ भएपनि अहिलेको अवस्था ८ ÷१० जना स्टाफ मात्रै राखेर काम चलाइरहेको उहाँको भनाइ छ ।
पोखरा– २८ कालिकास्थानमा रहेको पोखरा हेभन रिर्सोट पनि पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । माछापुच्छ्रे अन्नपूर्ण हिम श्रृखंला धौलागिरी, लमजुङ सहित पोखरा आसपासका सुन्दर दृश्य कैद गर्न सकिने र पोखरा देखि १४ किलोमिटरमा रहेको उक्त रिर्सोटमा पोखरा आसपासका जिल्लाबाट पाहुना आउने गरेका संचालक प्रवेश राजभण्डारीले जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण मानिसलाई ‘मोनोटोनस’ भएकाले अलि ‘रिफ्रेस’ स्थानको लागि प्राकृतिक वातावरण खोज्दै पाहुनाहरु आउने गरेको बताउनुभयो ।
राजभण्डारीका अनुसार उत्त रिर्सोटमा जग्गा सहित ८ करोडको प्रारम्भिक लगानी छ भने ६० रोपनी क्षेत्रफल रहेको छ । उक्त स्थानमा थप भौतिक संरचना र अन्य पूर्वाधार विकासको काम भइरहेको छ । हाल भ्यू टावर, फोटो सेसन स्पट, पिङ सञ्चालनमा छन् भने निकट भविष्यमा चिडिया घर,किड्स पार्क, जेट कोष्टर लगायतका कुराको मज्जा रिर्सोटमा पुग्ने पाहुनाले लिन सक्ने उहाँको भनाइ छ ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारी भन्नुहुन्छ । “कोरोना महामारीले मानिसको दिनचर्यालाई नराम्ररी प्रभावित बनाएको छ, एकै ठाउँमा एउटै दैनिकीबाट दिक्क बनेका मानिस फरक फरक ठाउँ घुम्नु र गइरहेको ठाउँ भन्दा पनि फरक ठाउँमा गएर रमाउन खोज्ने भएकाले शान्त स्थानको खोजीमा आन्तरिक पर्यटक देखिने थालेका हुन् ।” अधिकारी भन्नुभयो, “पोखरा घुम्न आउने कतिपयलाई लेकसाइडका होटलहरु आइशोलेशनको रुपमा प्रयोग भएको हुनसक्ने आशंका छ, त्यसैले पनि टाढा र सुरक्षित ठाउँहरुको खोजी हुन पुगेको हो ।” उहाँले प्राकृतिक सुन्दरताले मानसिक रुपमानै शान्त बनाउने भएकाले अहिलेको अवस्थामा मानसिक तनावबाट मुक्त हुन नयाँ नयाँ स्थान पुग्ने गरेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले पर्यटन गतिशिल भइरहने भएकाले यस्तो अवस्था दीर्घकालिन नभइ अल्पकालिन हुने गरेको बताउनुहुन्छ । “पर्यटन भनेकै नयाँ ठाउँ घुम्ने अनुभव बटुल्ने हो । कोभिड –१९ को महामारी रहेकाले भिडभाड हुने र संक्रमणको जोखिम हुने स्थान भन्दा फरक स्थानको खोजी मानिसले गर्दछ । बाहिरबाट घुम्न आउनेहरुले पोखरा भन्ने वित्तिकै लेकसाइड भन्ने बुझ्छन् । अहिलेको अवस्थामा लेकसाइडमा भीडभाड हुनसक्ने अनुमानले पनि अलि टाढा टाढा गएर रमाउन खोजीएको हुन सक्छ तर यो अल्पकालिन मात्र हो ।” उहाँले ‘आइसोलेटेट’ स्थान खोज्ने ट्रेनले यस्तो भएको हुन सक्ने बताउनुभयो ।
कोरोना विरुद्धकको भ्याक्सिन आइपुगेपछि यो टे«न हट्ने र पुनः लेकसाइड चलायमान हुने उहाँको बुझाइ छ । “अहिले भ्याक्सिन टुरिज्मको कन्सेप्ट पनि आएको छ, सम्भवतः अब विस्तारै भ्याक्सिन टुरीज्मले पर्यटनलाई चलायमान बनाउन सक्छ । जसरी भूकम्प, प्राकृतिक विपत्तीको बेला देश विदेशबाट स्वयमसेवक आएर पुर्ननिर्माण उद्धारमा जुटे, त्यसरीनै अहिले भ्याक्सिन टुरिज्मबाट यो महामारिलाई न्यूनिकरण गर्न सकिन्छ । जस्तै, एयरलाइन्सहरु, विदेशबाट आउनेहरु, विदेशी हेल्थ वर्कर मार्फतबाट भ्याक्सिन ल्याएर सप्लाइ गर्न सकियो भने सहज हुने देखिन्छ ।” उहाँले सरकारी प्रक्रियाबाट गर्दा ढिला हुने भएकाले यो प्रक्रिया प्रभावकारी हुनसक्ने बताउनुभयो । “अहिले लेकसाइड सुनसान भएपनि दीर्घकालिन रुपमा त्यसको असर पर्छ भन्ने होइन । अहिले स्वास्थ्य सुरक्षालाई नै मानिसले प्राथमिकतामा दिने गरेका छन् ।”
पर्यटनका अध्येता एवम् विश्लेषक श्रीकान्त खतिवडाले पोखरा घुम्न आउर्ने अधिकांश शहरबजारबाट आउने गरेको बताउनुभयो । खतिवडाले भन्नुभयो “हामीले पोखरा आउने भिजिटर्सको मुभ अध्ययन गर्दा हेर्दा विश्वविद्यालयका प्रोफेसर, बैंकर्स, उद्योग व्यवसायका लगानीकर्ताहरु बढी देखिने गरेका छन् । उनीहरु सिटी एरियाबाट अलि ग्रामिण भेगमा घुम्न रुची राख्ने गरेको देखिन्छ ।” उहाँले अहिलेको अवस्थामा पनि घुम्न आउने वर्ग यस्तै शहर केन्द्रित छन्, उनीहरुले फरकपन खोज्न शहरदेखि केही टाढा र शान्त ग्रामिण परिवेशलाई रोज्ने गरेको उहाँको भनाइ छ ।
उहाँले अहिले कोभिड –१९ का कारण ‘माइस टुरिज्म’ (मिटिङ्ग, इन्सेन्टिभ, कन्फ्रेन्स, एक्जिविशन) भएको छैन । नर्मल अवस्थामा आएपछि स्वतः लेकसाइडमा चहलपहल बढ्ने उहाँको विश्वास छ । उहाँले हिजोको लयबाट अबको पर्यटन अगाडि बढ्न नसक्ने बताउभयो । “अब आन्तरिक तथा बाह्य पर्यटकले सेप्टी मेजर, हेल्थ प्रोटोकोललाई प्राथमिकतामा दिन्छन् । त्यो कुरामा ध्यान दिनुपर्छ । अब भिडभाडमा बाहेक अब पृथक शैलीको पर्यटकीय गतिविधि गर्नुपर्छ ।”
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटाका अनुसार पोखरामा जमिन बाहेक एक खर्ब ९२ अर्बको लगानी पर्यटन क्षेत्रमा रहेको छ । यस क्षेत्रमा ७५ हजारले रोजगार पाएका छन् भने कुल ग्राहस्थ उत्पादनमा ७.९ प्रतिशत योगदान रहेको छ । पर्यटनमा दैनिक १३ करोड ३६ लाखको घाटा भएको छ । त्यसैगरी नेपाल आउने पर्यटकले औसतमा ४५ देखि ५० अमेरिकी डलर खर्च गर्ने गर्दछन् । गत वर्ष नेपालमा करिब ११ लाख ९८ हजार पर्यटक आएकोमा तीमध्ये पाँच लाख जति पोखरा आएको जनाइको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।