मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले आज रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै खेलाडी सम्मान गर्दैछ । एकेडेमीले आज विहान ८ बजेदेखि पोखरा रंगशालामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । राष्ट्रिय खेलकुद परिषदका (राखेप) का सदस्य सचिब रमेशकुमार सिलवालको प्रमुख आतिथ्यता तथा एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको विशेष आतिथ्यतामा हुने कार्यक्रमको अवसरमा एकेडेमीले तेह्रौं सागमा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीसहित अन्यलाई सम्मान गर्न लागेको मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेश अध्यक्ष राजेश गुरुङले जानकारी दिए ।
एकेडेमीले आज तेह्रौं दक्षिण एशियाली खेलकुद (साग)मा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिस क्लवका भुपेन्द्र थापा मगर, नेपाल आर्मीकी मीनु गुरुङ र सनिल शाहीलाई सम्मान गर्ने जनाएको छ । उनीहरुलाई स्वर्ण पदकले सम्मान गर्ने घोषणा गरिएपनि पदक बनाउन सम्भव नभएपछि आधा तोला सुनको मूल्य बराबरको रकम र सम्मानपत्रबाट सम्मान गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
एकेडेमीले साग अन्तर्गत पोखरामा भएका ८ वटा प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने संघहरु, विषयगत समितीहरु, पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशलाई पनि सम्मान गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
एकेडेमीले खेल्ने क्रममा घाइते भई हाल उपचारर्थ खेलाडी तथा दिवंगत भएका खेलाडीका परिवारलाई पनि आजै सहयोग गर्ने जनाएको छ । हालै प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका वडी विल्डिङ तथा क्योकिशन कराते खेलाडीसमेत रहेका प्याराग्लाईडिङ पाइलट स्व.राजु गैरे (नेपाली)को परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने जनाएको छ ।
त्यस्तै, पोखरामा रहेर महिला भलिबल खेलाडी उत्पादन गर्न अहम भूमिका खेल्ने पूर्व भलिबल खेलाडी तथा प्रशिक्षक जीवन चौधरीलाई ७० हजार ७ सय ७० रुपैयाँ, गत वर्ष सम्पन्न ढोरपाटन महिला राष्टिय भलिबल प्रतियोगितामा खेल्ने क्रममा घाइते भएकी राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११ रुपैयाँ, पोखरामा भएको क्लव स्तरिय क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा घाइते भएका सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० रुपैयाँ, टेनिसका खेलाडी स्व.सुरज नगरकोटीको परिवारलाई ५० हजार ५ सय ५० रुपैयाँ आर्थिक सहयोग गर्ने एकेडेमीका गण्डकी प्रदेश अध्यक्ष सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
सम्मान तथा सहयोग कार्यक्रमका लागि पूर्व शसस्त्र प्रहरी महानिरिक्षक स्वर्गिय सहवीर थापाका छोरा किष्ट हस्पिटलका सिइओ आशिष थापा, सहारा हङकङका अध्यक्ष दीपक गुरुङ, मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलगायतले सहयोग गरेको एकेडेमीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







