तेह्रौं सागको बक्सिङका स्वर्ण पदकधारी खेलाडी मदन भण्डारी स्पोर्टस एकेडेमीबाट नगद ५१/५१ हजार राशीसहित सम्मानित


     एभरेस्ट आवाज    
     पौष २ गते २०७७ मा प्रकाशित




मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङ स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । एकेडेमीले विहीबार पोखरामा एक कार्यक्रम गरि तेह्रौं सागको बक्सिङ स्पर्धामा स्वर्ण पदक जित्ने ३ खेलाडीलाई जनही ५१ हजार ५ सय राशीसहित सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरेको हो । एकेडेमीले तेह्रौं साग)मा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिस क्लवका भुपेन्द्र थापा मगर, नेपाल आर्मीकी मीनु गुरुङ र सनिल शाहीलाई सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, एकेडेमीका राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठ, एकेडेमीका गण्डकी प्रदेश अध्यक्ष राजेश गुरुङलगायतले अवीर, माला, दोषल्ला, नगद र सम्मान पत्र प्रदान गरेर सम्मानित गरे ।

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङ खेल हुनुभन्दा पहिले राखेप सदसयसमेत रहेका एकेडेमीका गण्डकी प्रदेश अध्यक्ष राजेश गुरुङले बक्सिङ खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई मदन भण्डारी स्पोर्टस एकेडेमीको तर्फबाट स्वर्ण पदकसहित सम्मान गर्ने घोषणा गरेअनुसार विहीबार सम्मान गरिएको एकेडेमी गण्डकी प्रदेशले जनाएको छ । सुनको पदक बनाउन समय अभाव भएपछि आधा तोला सुनको मूल्य बराबरको रकमसहित सम्मान गरिएको एकेडेमीका गण्डकी प्रदेश अध्यक्ष गुरुङले जानकारी दिए ।

एकेडेमीले हालैमात्र भारतमा भएको पावर लिफ्टिङ प्रतियोगितामा पदक जितेर आउने खेलाडीहरुलाईपनि नगदसहित सम्मान गरेको छ । एकेडेमीले स्वर्ण पदक जित्ने हसन गुरुङ, आशिष आले र श्रुती कार्की तथा रजत पदक बिजेता राजेश सुवाललाई नगदसहित सम्मान गरेको हो ।

एकेडेमीले साग अन्तर्गत पोखरामा भएका ८ वटा प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने समितिहरुलाईपनि सम्मान गरेको छ ।

एकेडेमीले पत्रकारिताको माध्यमबाट खेलकुदको क्षेत्रमा पु¥याएको योगदान तथा तेह्रौं सागका खेलहरु सम्पन्न गर्न सहयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, नेपाल पत्रकार महासंघ कास्की र खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशलाई नगद २१÷२१ हजार राशीसहित सम्मानपत्रले सम्मान गरेको छ ।

कार्यक्रममा खेल्ने क्रममा घाइते भई हाल उपचारर्थ खेलाडी तथा दिवंगत भएका खेलाडीका परिवारलाई पनि नगद सहयोग गरेको छ । एकेडेमीले हालैमात्र प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका वडी विल्डिङ तथा क्योकिशन कराते खेलाडीसमेत रहेका प्याराग्लाईडिङ पाइलट स्व.राजु गैरे (नेपाली)को परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा एकेडेमीका अध्यक्ष राजेश गुरुङले स्वर्गिय गैरेकी श्रीमती र छोरालाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

त्यस्तै, पोखरामा रहेर महिला भलिबल खेलाडी उत्पादन गर्न अहम भूमिका खेल्ने पूर्व भलिबल खेलाडी तथा प्रशिक्षक जीवन चौधरीलाई ७० हजार ७ सय ७० रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरिएको छ । चौधरी हाल विरामी भएर कार्यक्रममा उपस्थित हुन नसकेपछि सो रकम उनकै निवास नवलपुर गएर रकम हस्तान्तरण गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

यसैगरी, गत वर्ष सम्पन्न ढोरपाटन महिला राष्टिय भलिबल प्रतियोगितामा खेल्ने क्रममा घाइते भएकी राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरिएको छ । भने पोखरामा भएको क्लव स्तरिय क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा घाइते भएका सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

एकेडेमीले जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिका ३ कर्मचारीहरु श्याम विश्वकर्मा, विभा विश्वकर्मा र सुकबहादुर गुरुङलाई सम्मान गरेको छ । पोखरा रंगशाला निर्माण तथा हेरचाहमा महत्वपूर्ण सहयोग गरेको भन्दै श्याम विश्वकर्मालाई नगद ८ हजार तथा विभा र सुकबहादुरलाई ५÷५ हजार राशीसहित सम्मान गरेको हो ।

यस्तै एकेडेमीले टेनिसका खेलाडी स्व.सुरज नगरकोटीको परिवारलाई ५० हजार ५ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।