भकुण्डे खोला भन्दा माथि ताल कहिल्यै थिएन : संयोजक पौडेल


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०७७ मा प्रकाशित



फेवाताल चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले केहि दिन अगाडि फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी छ भनेर सार्वजनिक ग¥यो । तर यो प्रतिवेदन विवादित बन्यो । किनभने तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला विश्वप्रकाश लामिछानेको नेतृत्वमा बनेको ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ले २०६९ सालमा बनाएको प्रतिवेदन भन्दा १६०९ रोपनी कम छ । लामिछाने प्रतिवेदनमा फेवातालको क्षेत्रफल १२८७४ रोपनी उल्लेख छ । फेवातालको क्षेत्रफल घटेपछि ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’का संयोजक विश्वप्रकाश लामिछानेले फेवाताल चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले नियतवश तालको क्षेत्रफल घटाएको आरोप लगाएका छन् । तर फेवाताल चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले भने लामिछाने प्रतिवेदन विज्ञको सहभागिता बिना हचुवाको भरमा सिमाङ्कन गर्दा तालको क्षेत्रफल धेरै देखिएको दाबी गर्दै आएको छ । यसै विषयमा केन्द्रीत रहेर फेवाताल चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पून्यप्रसाद पौडेलसँग एभरेस्ट आवाज डटकमका कार्यकारी सम्पादक सन्देश श्रेष्ठले गरेको कुराकानी ।

फेवातालको क्षेत्रफल घटेको हो ?
होइन, फेवातालको क्षेत्रफल घटेको सत्य होइन । बरु बढेको हो ।

तर पोखरेलीले त फेवातालको १६०९ रोपनी घट्यो भनिरहेका छन् त ?
यो निराधार आरोप मात्र हो । फेवातालको क्षेत्रफल घटेको छैन । फेवातालको क्षेत्रफल विश्वप्रकाश लामिछाने नेतृत्वको प्रतिवेदनले भनेजति छँदैछैन । त्यो कुनैपनि हालतमा पुग्दै पुग्दैन । नक्सामा भकुण्डे खोला काटेर ताल गएको देखिदै देखिदैन ।

हामीले त तथ्यलाई भन्नु प¥यो नि ! प्राचिन कालमा योसबै ताल थियो भनेर त हामीले भन्न मिलेन । त्यो खोलो भन्दा काटेर ताल छ भनेर भन्ने आधार नदेखिएकाले हामीले भकुण्डे खोलाभन्दा माथिलाई ताल भन्न सकेनौं । त्यो २०१० सालदेखि यथावत छ । त्यसले धार परिवर्तन गरेको देखिदैन ।

त्यतिमात्र होइन, ट्रोमोग्राफीलेपनि कडा चट्टान भएको ठाउँमा ताल थिएन । लुज चट्टान भएको ठाउँमा ताल थियो । त्यसकारण ट्रोमोग्राफीलेपनि भकुण्डेखोला भन्दा माथि ताल थियो भन्दैन । अर्को कुरा भनेको स्थानियलेपनि त्यहाँ ताल थियो भन्ने कुरा स्वीकार्दैन ।

लामिछाने प्रतिवेदन र तपाईंहरुको प्रतिवेदन किन फरक प¥यो त ?

लामिछाने प्रतिवेदनले भकुण्डे खोला भन्दा माथिकोलाई पनि ताल हो भनेर भन्यो । तर हामीले त्यसलाई ताल मान्न सकेनौं । तर त्यो जग्गालाई अर्को ताल बनाउनेगरी जग्गा अधिग्रहण गर्न सक्छौं । तर खोला भन्दा माथिकोलाई ताल मान्नै सकिदैन ।

फेवाताल सिमाङ्कनका आधारहरु के के हुन् ?

फेवाताल सिमाङ्कनका पाँचवटा आधारहरु छन् ।

पहिलो : फेवातालको बाँधको उचाई । बाँधको उचाई ७९४.७० ले पानीको लेवल भेट्छ । त्यो लेवल जहाँ कायम हुन्छ त्यो एउटा आधार हो ।

दोश्रो ः त्यहाँबाट बगेर आउने एउटा भकुण्डे खोला भन्ने छ । त्यो २०१० सालदेखि अहिलेसम्म निरन्तर छ । त्यो भन्दा माथि ताल गएको थियो भने त्यो खोलो हुँदैन थियो ।

तेश्रो ः हामीले ट्रोमोग्राफी सर्भेका आधारमा जहाँ कडा चट्टान छ त्यहाँ ताल थिएन, जहाँ कमजोर लुज चट्टान छ त्यहाँ ताल थियो भन्ने प्रमाणका आधारमा ।

चौथो ः हामीले भदौमा अत्यन्त ठूलो बाढी आउँदा लिइएको नक्सा । त्यसले पानीको लेवल कहाँ पुगेको छ ।

पाँचौं ः त्यहाँका बुद्धिजिवी र स्थानियबासीले भनेको मौखिक जानकारी । त्यसबाहेक हामीले अन्य धेरै नक्सा र प्रतिवेदनलाई आधार मानेर हेर्दा त्योभन्दा माथि ताल छ भनेर जान सकिएन ।

तालको क्षेत्रफल घटाएर दुषित जग्गालाई छुट दिन खोजिएको हो र ?

छैन छैन । त्यस्तो होइन । फेवातालको क्षेत्रफल भित्र परेका दुषित जग्गा हामी खोज्छौं । फेवातालको क्षेत्रफल बाहिर भएका जग्गाको त हामी खोज्न सक्दैनौं । किनभने संसारभर दुषित जग्गा कति छन् कति । त्यो सबै हामी खोज्न सक्दैनौं । तर ताल भित्र पर्ने दुषित जग्गा हामी खोजेरै छाड्छौं । त्यस्ता जग्गा खारेजपनि गर्छौं ।

किन विवादित भयो त यहाँहरुको प्रतिवेदन ?

हाम्रो पुरानो नापीमा ८७०७ रोपनी छ । अहिले हामीले सिमाङ्कन गर्दा २ हजार ५ सय ४८ रोपनी बढ्यो । त्यो बढेको जमिन भित्र दुषित जमिन रहेछ भने त्यो हामी खोज्छौं र खारेज गर्छौं । चाहे थोरै होस् वा सबै भएपनि हामी जाँचबुझ गरेर खारेज गर्छौं ।

फेवातालको सिमाङ्कन गरिरहेकै समयमा फेवातालको पानीको सतह घटाउनुलाई शंकाको नजरले हेर्नेहरुपनि छन् के भन्नुहुन्छ ?

मैले २०५८ सालमा सर्भे गर्दा फेवातालको क्षेत्रफल ५.८ वर्ग किलोमिटर छ भनेर प्रतिवेदन बनाएको थिएँ । त्यो मैले २०३८ सालमा युएनडिपी र एचएमजीले गरेको नक्साको आधारमा गरेको हो । त्यो गर्दा त्यसबेला पानीको लेवल ४.२५ वर्ग किलोमिटर थियो । र पुरेको भाग १२१ हेक्टर जमिन पुरेको थियो । १ हेक्टरमा २० रोपनी जमिन हुँदा झण्डै २४ सय रोपनी जमिन पुरिएको देखिन्छ । यस हिसाबले त्यतिखेर गरिएको र अहिले गरिएको सर्भे अनुसार फेवातालको क्षेत्रफल मिल्छ ।

फेवातालको पानीको सतह घटाइनुसँग सिमाङ्कनको कुनै लेनादेना छैन ?

छैन छैन, त्यस्तो केहिपनि छैन ।

तर कतिपयले त तपाईंले २०५८ सालमा गाडेको पिलर खोज्न तालको सतह घटाइएको हो भनेर आरोप लगाउँछन् त ?

त्यस्तो होइन । तालको सतह घटाउनु भन्दा अगाडि नै हामीले सिमाङ्कन गरिसकेका थियौं । त्यसैले आरोपमा सत्यता छैन । किनभने हामीले प्रतिवेदन २७ गते नै बनाइसकेका थियौं । माघ २९ गते बल्ल तालको सतह घटाउन बाँधको ढोका खोलिएको हो ।

सरकारले दिएको जिम्मेवारी अन्तर्गत अब के के बाँकी छन् त तपाईंहरुले गर्नुपर्ने काम ?

हामीले तालको सिमाङ्कन गरिसक्यौं । अब दुषित जग्गा खोजिरहेका छौं । फेवातालको चारकिल्ला भित्र रहेका दुषित जग्गाहरु खोज्ने हो । त्यसको काम अहिले भइरहेको छ । अबको ३ महिनाभित्र यसको काम हामीले सक्छौं । त्यसपछि हामीले तालको सौन्दर्यकरण गर्ने गुरुयोजना पनि बनाउँछौं ।

सिमाङ्कनमा कहिंकतैबाट प्रभावित भयो कि भन्ने आशंकापनि सुनिन्छ नि !

अहँ, कहिंकतैबाट हामीलाई केहि भनिएको पनि छैन । हामी प्रभावित पनि छैनौं र हुँदैनौं पनि । म दाबीका साथ भन्छु हिजोको सिमाङ्कन र अहिलेको सिमाङ्कनमा फरक छैन । हिजो पुरिएको जग्गासमेत समेट्दा बरु तालको क्षेत्रफल २ हजार ५ सय ४८ रोपनी जमिन बढेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।