विदेश जानुपूर्व सीपमूलक तालिमप्रति युवा आकर्षित


     एभरेस्ट आवाज    
     असार २१ गते २०७९ मा प्रकाशित





काठमाडौँ । रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुले पछिल्लो समय सीपमूलक तालिम लिन थालेका छन् । सीप सिकेर विदेश जाँदा सिकेकै काम पाइने, पारिश्रमिक राम्रो पाइने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरु सीपमूलक तालिममा सहभागी हुन थालेका हुन् ।स्विट्जरल्यान्ड र नेपाल सरकारको साझेदारीमा बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले राहदानी बनाउने बेला नै युवाहरुलाई सीपमूलक तालिमका लागि प्रेरित गर्ने गरेको छ ।

परियोजना सुरु भएपछि चालु आर्थिक वर्षमा खाडी मुलुक, मलेसिया लगायतका देशहरुमा जाने १३१ जनाले सीपमूलक तालिम लिएका छन् । सामी परियोजना बागलुङका संयोजक मीनप्रसाद पौडेलका अनुसार परियोजनाले स्थापना गरेको आप्रवासी स्रोत केन्द्रबाट व्यक्तिगत परामर्श चार हजार ५६५ जनाले लिएका छन् । जसमा महिलाको सङ्ख्या एक हजार ७२६ छ । परियोजनाले समुदायमा आधारित कार्यक्रम चलाउँछ ।

आप्रवासी स्रोत केन्द्रमा दर्ता तथा समाधान भएका घटनाहरुको सङ्ख्या ९१ रहेका छन् । विदेश जान गरेको लगानी ठगिएका, विदेशमा ठगिएका, अप्ठयारोमा परेका, तलबभत्ता नपाएका लगायतका गुनासा तथा समस्या केन्द्रमा आउने गरेका छन् । वैदेशिक रोजगारीमा भएका घटनामा भएको क्षतिमा राहतस्वरुप केन्द्रले तीन करोड नौ लाख ४५ हजार ६८ आर्थिक सहायता दिलाउन सहजीकरण गरेको जनाइएको छ ।

चालु आवमा वैदेशिक रोजगारीका क्रममा समस्या ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा परेका कामदार तथा उनीहरुका परिवारलाई कानुनी सहायताका लागि प्राप्त ४८ उजुरी, गुनासा वा समस्याहरुमध्ये पाँचका उजुरी पूर्ण रुपमा समाधान भएको पौडेलले बताए । ती घटनाका पीडितहरुले १० लाख क्षतिपूर्ति पाएका छन् ।

परियोजनाले चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ जनाको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ । विदेशमा मृत्यु भएकामध्ये अधिकांशको हृदयघातका कारण मृत्यु हुने गरेको तथ्याङ्क आप्रवासी स्रोत केन्द्रसँग छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।