पोखराका कृषकहरुले काठमाडौं र ललितपुरमा पुगेर कृषि तथा वातावरणमैत्री प्रविधिको अध्ययन अवलोकन गरेका छन ।
आधुनिक कृषि प्रविधि, वन संरक्षण, पानीका मुहानको पुनर्जीवन र वातावरणमैत्री खेती प्रणालीबारे व्यावहारिक ज्ञान दिने उद्देश्यले पोखराका कृषकहरुलाई प्राविधिक सहित स्थलगत अध्ययन अवलोकन गराइएको हो ।पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको आयोजनामा शनिबार र आइतबार भएको अवलोकन भ्रमणमा कृषक तथा कृषि प्राविधिक गरी ३५ जनाको सहभागिता थियो । भ्रमणका क्रममा सहभागीले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीसँगै गोदावरीस्थित इसिमोडले विकास गरेको ज्ञान तथा सिकाइ केन्द्रका विभिन्न गतिविधि अवलोकन गरेका थिए ।इसिमोडले गोदावरीमा वन संरक्षण, क्षयग्रस्त जमिनको पुनःस्थापना, पानीका मुहान संरक्षण, वर्षाको पानी संकलन, दिगो कृषि र वैकल्पिक ऊर्जासम्बन्धी प्रविधिको परीक्षण तथा प्रदर्शन गर्दै आएको छ ।
सहभागी कृषकले यी प्रविधिको प्रयोग, उपयोगिता र स्थानीयस्तरमा गर्न सकिने अभ्यासबारे जानकारी लिएका थिए ।गोदावरीमा इसिमोडले कृषि उत्पादनसँगै प्राकृतिक स्रोतको संरक्षणलाई जोडेर विभिन्न नमुना अभ्यास , भिरालो जमिनमा खेती गर्ने प्रविधि, माटोको उर्वराशक्ति जोगाउने उपाय, प्राङ्गारिक मल उत्पादन, थोपा सिँचाइ, मौरीपालन, च्याउ खेती तथा फलफूल उत्पादनजस्ता गतिविधि गर्दे आएको इसिमोडका जम्बु शेर्पाले बताए ।पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले किसानलाई प्रविधिबारे सैद्धान्तिक जानकारी दिनुभन्दा त्यसको प्रयोग भइरहेको स्थानमै लगेर देखाउँदा बढी प्रभावकारी हुने बताए । प्रत्यक्ष अवलोकन र प्रयोगको विधि बुझ्न पाउँदा किसानलाई आफ्नो खेती प्रणालीमा नयाँ प्रविधि अपनाउन सहज हुने उनको भनाइ थियो ।
भ्रमणमा सहभागी कृषकहरूले विभिन्न कृषि प्रविधि तथा वातावरणमैत्री अभ्यासबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएको बताएका थिए । आफूहरूको खेतीको प्रकृति र आवश्यकताअनुसार उपयोगी प्रविधि अपनाउने उनीहरूको भनाइ थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराका कृषकहरुले काठमाडौं र ललितपुरमा पुगेर कृषि तथा वातावरणमैत्री प्रविधिको अध्ययन अवलोकन…







