समयले जिम्मेवारी दिन्छ, कर्मले पहिचान बनाउँछ: लक्ष्मण बराल


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०८३ मा प्रकाशित




राजनीतिमा पद प्राप्त गर्नु मात्र ठूलो कुरा होइन, प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै समाज र संगठनमा सकारात्मक प्रभाव छोड्नु वास्तविक उपलब्धि हो। समयले मानिसलाई जिम्मेवारी दिन्छ, तर त्यो जिम्मेवारीलाई कति सार्थक बनाउने भन्ने कुरा व्यक्तिको सोच, प्रतिबद्धता, इमानदारी र कर्ममा निर्भर हुन्छ।

सामाजिक जीवनमा सक्रिय रहँदै, समाजसेवालाई प्राथमिकतामा राख्दै र वडावासीका सुख–दुःखमा निरन्तर साथ दिँदै अगाडि बढिरहेको मेरो यात्रा कुनै पद वा व्यक्तिगत स्वार्थ प्राप्तिका लागि मात्र होइन। समाजका लागि केही सकारात्मक काम गर्ने, संगठनलाई बलियो बनाउने र भावी पुस्ताले समेत स्मरण गर्न सक्ने कामको जग बसाल्ने संकल्पबाट प्रेरित छ।नेकपा एमाले पोखरा महानगरपालिका वडा कमिटी–५ को अध्यक्षका रूपमा विगत दुई वर्षदेखि निर्वाह गर्दै आएको जिम्मेवारीको औपचारिक समयावधि यही मंसिर २६ गते समाप्त हुँदैछ। यस अवधिमा प्राप्त अनुभव, सहकार्य, चुनौती र उपलब्धिहरूलाई फर्केर हेर्दा केही महत्वपूर्ण कामको सुरुवात गर्न पाएकोमा सन्तुष्टि र आगामी दिनमा अझ धेरै गर्नुपर्ने जिम्मेवारीबोध दुवै महसुस गरेको छु।

अध्यक्ष बरालले संगठन सुधार र नेतृत्व परिमार्जनका लागि कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आत्मसुधारको बाटो अपनाउन पनि आह्वान गरेका छन् ।बरालले आफू पनि सुध्रिने र नेतृत्वलाई सही मार्गमा लैजान पहल गर्ने जिम्मेवारी अब प्रत्येक कार्यकर्ता र समर्थकको काँधमा आएको उल्लेख गरेका छन् । उनका अनुसार यो केवल नारामा सीमित विषय नभई व्यवहारमा उतार्नुपर्ने गम्भीर दायित्व हो ।उनले जनताको विश्वास, त्याग र संघर्षबाट राजनीतिक संगठन निर्माण हुने भएकाले हरेक सदस्यले आत्मआलोचना गर्दै आफ्ना कमजोरी सच्याउनुपर्ने बताएका छन् । अनुशासन पालन, जनतासँग नजिक हुने संस्कार विकास र जिम्मेवारी बोध संगठन सुदृढीकरणका आधार हुने उनको भनाइ छ ।

वडा कमिटी स्तरबाटै बलियो संगठन निर्माण हुने भन्दै बरालले कार्यशैली सुधार, पारदर्शिता अपनाउने र जनताको सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । नेतृत्व सुधारका लागि केवल आलोचना नभई सही सुझाव, सकारात्मक दबाब र व्यवहारिक उदाहरण प्रस्तुत गर्नुपर्ने उनको धारणा छ ।“संगठन बलियो बनाउने शक्ति तलबाट सुरु हुन्छ,” उनले भनेका छन्, “यदि वडा, टोल र गाउँ स्तरमा कार्यकर्ता इमान्दार, सक्रिय र प्रतिबद्ध भए माथिल्लो तह स्वतः सुदृढ बन्नेछ।” उनले “म सुध्रिन्छु” भन्ने संकल्पबाटै “पार्टी सुध्रिन्छ” भन्ने विश्वास निर्माण हुने उल्लेख गरेका छन् ।

वडा नं. ५ को समग्र विकासका लागि स्थानीय, प्रदेश तथा संघीय तहका विभिन्न निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आवश्यक बजेट माग तथा व्यवस्थापनका लागि पहल गर्नु, विकास निर्माणका विषयलाई सम्बन्धित निकायसम्म पुर्‍याउनु, समाजमा देखिएका विकृति र विसंगतिविरुद्ध आवाज उठाउनु तथा दुःख, विपद् र अप्ठ्यारो परिस्थितिमा वडावासीसँगै उभिनु उनको प्राथमिकताका विषय रहँदै आएका छन्। उनले यी कामलाई केवल राजनीतिक जिम्मेवारीका रूपमा मात्र नभई सामाजिक दायित्वका रूपमा लिनुभएको वडा वासिहरु बताउदछन् । यस दुई वर्षको अवधिमा संगठनात्मक क्षेत्रमा पनि केही महत्वपूर्ण आधार तयार भएका छन्। वडा नं. ५ को इतिहासमै कम्तीमा आगामी १० वर्षसम्म पार्टीका नियमित गतिविधि सञ्चालन गर्न सकिने आफ्नै पार्टी कार्यालय स्थापना हुनु यस अवधिको महत्वपूर्ण उपलब्धि हो। पार्टी कार्यालय केवल बैठक बस्ने स्थान मात्र होइन, संगठन निर्माण, कार्यकर्ता परिचालन, विचार र नीतिबारे छलफल तथा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने स्थायी आधार पनि हो।

त्यसैगरी संगठनलाई थप व्यवस्थित, सक्रिय, अनुशासित र एकताबद्ध बनाउने प्रयास गरिएको छ। कार्यकर्ताबीचको सम्बन्धलाई सुदृढ बनाउँदै पार्टीका गतिविधिलाई निरन्तरता दिने, सामाजिक गतिविधिमा संगठनको उपस्थिति बढाउने र जनतासँग प्रत्यक्ष जोडिने कार्यलाई प्राथमिकता दिइएको छ। यी उपलब्धिहरू कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव भएका होइनन्। यसमा साथ, सहयोग, विश्वास र सुझाव प्रदान गर्नुहुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा वडावासीहरूको महत्वपूर्ण योगदान रहेकोमा सम्पुर्णमा आभार व्यक्त गरे । यद्यपि, दुई वर्षको अवधिमा भएका कामहरू नै पर्याप्त छन् भन्ने मेरो ठम्याइ होइन। सुरु गरिएका कामहरू पूरा गर्न बाँकी छन्, बनाइएका योजनाहरूलाई थप उचाइमा पुर्‍याउन बाँकी छ र वडा नं. ५ लाई अझ व्यवस्थित, समृद्ध, सुरक्षित र उदाहरणीय बनाउने सम्भावना प्रशस्त छन्।

विकासका आवश्यकता कहिल्यै समाप्त हुँदैनन्। समयअनुसार प्राथमिकता र कार्यशैली परिवर्तन हुन सक्छन्, तर जनताको अपेक्षा पूरा गर्ने दायित्व निरन्तर रहिरहन्छ भन्दै उनले “दुई वर्षे जिम्मेवारीको औपचारिक समयावधि समाप्त हुँदै गर्दा एउटा कुरा स्पष्ट रूपमा भन्न चाहन्छु पदको समयावधि समाप्त हुन सक्छ, तर जिम्मेवारीबोधको समयावधि हुँदैन। नेतृत्वको स्वरूप परिवर्तन हुन सक्छ, जिम्मेवारीको प्रकृति फेरिन सक्छ, तर समाज र संगठनप्रतिको प्रतिबद्धता परिवर्तन हुनु हुँदैन” भने ।

“आगामी दिनमा नेतृत्व जसको काँधमा आए पनि अहिलेसम्म सुरु गरिएका राम्रा कामहरूको निरन्तरता, संगठनको संस्थागत मजबुती र वडा नं. ५ को विकासप्रतिको साझा प्रतिबद्धता अझ बलियो बन्नुपर्छ। नेतृत्व व्यक्तिमा सीमित हुनु हुँदैन, प्रणाली र संस्थागत संस्कारमा स्थापित हुनुपर्छ। राम्रो कामको स्वामित्व सबैले लिन सक्ने र अधुरा काम पूरा गर्ने जिम्मेवारी सबैले महसुस गर्ने वातावरण निर्माण हुनु आजको आवश्यकता हो” भने । उनका अनुसार नेतृत्व पद मागेर मात्र प्राप्त हुने विषय होइन। नेतृत्व निरन्तरको कर्म, व्यवहार, इमानदारी र जनताको विश्वासबाट स्थापित हुने कुरा हो।

(बराल एमाले वडा कमिटी पोखरा ५ का अध्यक्ष हुन्)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।