पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिले पोखरा महानगरपालिका प्रमुख लाई ध्यानाकर्षण पत्र बुझाएको छ । समितिका अध्यक्ष सुनील पाण्डेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई आज बुझाएको हो ।
पोखराका तत्कालीन मेयर मानबहादुर जिसीले पोखराका विभिन्न स्थानको ६८ रोपनी सरकारी जग्गा निजी क्षेत्रलाई सुटुक्क भाडामा दिने सम्झौता भएको विषय विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि यस विषयमा सत्यतथ्य सार्वजनिक गर्न उक्त ध्यानाकर्षण पत्र बुझाईएको अध्यक्ष पाण्डेले बताए ।
ज्ञापन पत्रमा भनिएको छ , “पोखरा उपत्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष मानबहादुर जिसीले कार्यकाल सकिनै लाग्दा अपारदर्शी र शंकास्पद तवरले पोखराका विभिन्न स्थानको ६८ रोपनी सरकारी जग्गा निजी क्षेत्रलाई दिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कार्यकाल सकिनै लाग्दा नियमित निस्कन छाडेको पत्रिकामा सूचना छपाएर, सदस्य सचिवको सट्टा अध्यक्ष आफैंले हस्ताक्षर गरी हतारहतारमा सम्झौता हुनुले यसभित्र ठूलै चलखेल भएको पुष्टि हुन्छ । महानगरका मेयरसमेत रहेका व्यक्तिले सरकारी जग्गा संरक्षण गरी सार्वजनिक हितमा उपयोग गर्नुपर्नेमा व्यक्तिगत फाइदाका लागि यसरी लामो समयसम्म व्यक्तिलाई दिनु पोखराबासीप्रतिको घात हो भने सार्वजनिक जग्गाको चरम दुरुपयोग हो ।
केही दिनअघि पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षको पदभार ग्रहण गर्नुभएकोमा हामी यहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । साथसाथै, पदभारका बेला यहाँले गर्नुभएको सार्वजनिक जग्गाको अवस्था सार्वजनिक गर्ने र संरक्षण गर्ने प्रतिबद्धता व्यवहारमै देखियोस् भन्ने अपेक्षा गर्दछौं । अघिल्ला अध्यक्षले गरेको यो अपारदर्शी सम्झौता खारेज गरी पोखरा उपत्यकाका सार्वजनिक जमिन पहिचान, संरक्षण र सार्वजनिक हितका लागि उपयोगको सुनिश्चित गर्न हामी माग गर्दछौँ” ।
उक्त ध्यानाकर्षण पत्र बुझ्दै मेयर आचार्यले प्रक्रिया नपुगेको र शङ्कास्पद भएकाले पोखरा उपत्यका नगर विकास समितिको बैठक बसेर छानबिन गर्ने प्रक्रिया अगाडि बढाएको बताए ।
उनले छानबिनको रिपोट आए पछि सत्य तथ्य कुरा सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएका छन् । साथै उनले छानबिन समितीले बुझाएको रिपोर्ट सत्य हुन आए कानुनी प्रकृयाअनुसार अगाडी बढ्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा…







