सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ : मन्त्री श्रेष्ठ


     एभरेस्ट आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित





काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन ।सहकारी विभागले तयार पारेकोे सहकारीको दशवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रका विषयमा सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उनले सहकारी सञ्चालनका लागि प्रशस्त कानुन भए पनि कार्यान्वयनमा भने समस्या रहेको औँल्याएका हुन ।

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकायले नयाँ संरचना बनाउनेभन्दा पनि विद्यमान संरचनालाई पुनरावलोकन गरी सशक्त बनाउन र कमजोरी हटाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।विभागले तयार पारिरहेको सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र निर्माण गर्न ढिलाइ भइसकेको भन्दै सरोकारवाला सबैको राय र सुझाव समेटेर यसलाई छिटोभन्दा छिटो अन्तिम रुप दिन उनले जोड दिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रको सुधारका लागि आएको दशवर्षे सोचपत्रका विषयमा छलफलमा आएका विषय समेटेर अझै समृद्ध बनाएर अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दबाडीले सदस्यहरूको उद्यमशीलता विकास गरी गरिबी निवारण गर्ने उद्देश्य राखेर सहकारीका कार्यक्रम बनाउनुपर्छ भने ।सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले अवधारणापत्रको प्रारम्भिक मस्यौदा तयार भएको र सबैको सुझाव समेटेर यसलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।