लघुउद्यमीलाई सीपसँगै प्रविधि हस्तान्तरण


     एभरेस्ट आवाज    
     असार २४ गते २०७९ मा प्रकाशित





दमौली । व्यास नगरपालिकाले स्थानीय उद्यमी एवं कृषकलाई प्रविधि हस्तान्तरण गरेको छ । लघुउद्यम कार्यक्रम ९मेड्पा० मार्फत कृषकलाई सीप प्रदान गरी प्रविधि हस्तान्तरण गरिएको हो । उद्यमीको मागबमोजिम चाउमिन मेसिन, चाउमिन मिक्स्चर, दुना टपरी मेसिन, हाते ट्र्याक्टर, सिलाइ मेसिन सहयोग गरिएको व्यास नगरपालिकाका उद्योग पर्यटन शाखा प्रमुख मेघनाथ आचार्यले जानकारी दिए ।

नगरपालिकाको ८० प्रतिशत अनुदान र समूहको २० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए । वडा नं १ स्थित थानीमाई लघुउद्यमी समूहलाई रु एक लाख ३५ हजार मूल्य बराबरको चाउमिन मेसिन र रु एक लाख २५ हजार मूल्य बराबरको चाउमिन मिक्स्चर सहयोग गरिएको छ ।

वडा नं ८ स्थित कालिका दुना टपरी लघु उद्यमी समूहलाई रु एक लाख २५ हजार बराबरको दुना टपरी मेसिन सहयोग गरिएको छ । वडा नं १० स्थित मिलीजुली लघुउद्यमी समूहलाई रु ५८ हजार बराबरको हाते ट्याक्टर सहयोग गरिएको छ । वडा नं १० स्थित साझा लघुउद्यमी समूहलाई रु ७७ हजार बराबरको कुखुरा अटो ड्रिकर सहयोग गरिएको छ ।

वडा नं १० स्थित उद्यमशीलता लघुउद्यमी समूहलाई रु ६० हजार बराबरको कार वासर हेड प्रेसर वासर सहयोग गरिएको छ । वडा नं १० कै कालीडाँडा होमस्टे लघुउद्यमी समूहलाई फिल्टर, डिस्पेन्सर, वडा नं ६ र ८ को सिर्जनशील लघुउद्यमी समूहलाई चापकटर र दाना बनाउने मेसिन सहयोग गरिएको छ ।

वडा नं ६ स्थित सुन्दरदेवी लघुउद्यमी समूहलाई सिलाइ मेसिन र मिलीजुली लघुउद्यमी समूहलाई सिलाइ मेसिन सहयोग गरिएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास ९मेड्पा० कार्यक्रममार्फत नयाँ उद्यमी सिर्जना गर्दै सीप सिकाएर उनीहरुलाई प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए । नगरपालिकाले गत वर्ष वडा नं ६, ७, ८ र ९ तथा चालु आर्थिक वर्षमा वडा नं १, १० र १२ मा यो कार्यक्रम लागू गरेको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।