विराटनगरमा बकरिद हर्षोल्लासका साथ मनाइयो


     एभरेस्ट आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित





मोरङ । इस्लाम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो चाड बकरिद९ईद उल अजहा० आज यहाँ हर्षोल्लासका साथ मनाइएको छ । यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाजप्रार्थना गरिएको छ ।इस्लाम धर्मावलम्बीको महान चाड बकर ईद रमजान पर्वको ७०औँ दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौँ दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्वसमेत भनिन्छ ।

यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बी बिहानै नुहाएर शरीरलाई शुद्ध बनाइ नयाँ बस्त्रधारण गर्छन् । त्यसपछि मस्जिद वा इदगाहामा पुगेर नमाज पढ्ने प्रचलन रहिआएको छ । यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो । जहाँ परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् ।

आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गर्दै आएकोे छ । यो पर्वका बेला हैसियत हुने मुस्लिम हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् भने अन्यले आफ्नो घरमा जनावरको कर्बानी बलि दिने गर्दछन् ।

उक्त कुर्बानीको मासु तीन भाग लगाएर एक भाग आफ्नो परिवार, अर्को भाग छिमेकी तथा इष्टमित्र र अर्को एक भाग गरीब तथा दिनदुःखीलाई बाँड्ने गरिन्छ । सबैले चाँड पर्व रमाइलो गरी मनाउनका लागि यसरी मासुको भाग लगाइन्छ ।यस पर्वको उपलक्ष्यमा मुस्लिम समुदायले आफन्तजनसँग एकआपसमा अँगालो हाली शुभकामना आदान प्रदान गर्नाका साथै युवायुवती, केटाकेटी विराटनगरको बजार तथा मलहरुमा किनमेल तथा चिसो पेयपदार्थ खाएर रमाइलो गरेका छन् ।

यसैबीच इस्लाम धर्मगुरुले कुर्बानी९बलि०को कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्चालमा नराख्न सबैलाई आग्रह गरेका छन।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।