तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण गर्न शुरुआत गरेको छ।
नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमवारदेखि निस्सा वितरण थालनी गरेको हो। भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरूप निस्सा वितरण थालिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले लालपुर्जाको निस्सा वितरण गरे। व्यास–१ का ४४ भूमिहीन दलित, ४५ भूमिहीन सुकुमबासी र ३६७ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको नगरपालिकाका इञ्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिएका छन्। निस्सा लिन नआएकाहरूलाई सम्बन्धित वडा कार्यालयमार्फत वितरण गरिने उनले बताए।
भूमिहीन दलित र भूमिहीन सुकुमबासीका लागि दाबी–विरोधस्वरूप एक हप्ताको र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना जारी गरिने ई. मूलले बताए।
नगरपालिकाका १४ वटै वडामा भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासी गरी करिब १० हजार जना रहेको नगरपालिकाले बताएको छ।
व्यास नगरप्रमुख न्यौपानेले भूमिहीनलाई व्यवस्थित गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए। राष्ट्रिय भूमि आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले निस्साकै आधारमा अब जग्गा नापजाँचको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए।
जिल्लाका अन्य स्थानीय तहहरूले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण शुरू गरेका छन्। केही दिन अगाडिमात्रै आँबुखैरेनी र देवघाट गाउँपालिकाले पनि लालपुर्जाको निस्सा वितरण गरेका छन्। आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ तथा देवघाट गाउँपालिकाले वडा नं ५ मा निस्सा वितरण गरेको छ।
विसं २०७७ चैत २२ गते र विसं २०७८ फागुन २६ गते लगत संकलनका लागि ३५ दिने सूचना प्रकाशित गर्दा निवेदन दर्ता भएका व्यक्तिहरूलाई नापनक्साको निस्सा वितरण गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। वडा नं १ का ९५ र वडा नं २ का ९९ जनालाई निस्सा बाँडिएको छ। गाउँपालिकाले ६ वटै वडाका ८८३ भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्नेछ। निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले भूमिहीनले लालपुर्जा पाउने अध्यक्ष चुमानले बताए।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा…







