गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्रले आजभन्दा दुई शताब्दीअघिको अँध्यारो युगमा पनि समाज सुधारका लागि साहस गर्ने आदिकविले रामायणका माध्यमबाट भाषाको एकीकरण गर्नुभएको उल्लेख गरे।
उनले भने, ‘गण्डकी प्रदेश आफैँमा महत्त्वपूर्ण प्रदेश हो। भौगोलिक रुपमा एकीकरण गर्ने पृथ्वीनारायण शाह र भाषाको एकीकरण गर्ने भानुभक्तको जन्मस्थान यही गण्डकी प्रदेश रहेको छ।’
बहुजातीय, बहुभाषिक, बहुसंस्कृतियुक्त गण्डकी प्रदेशका विविधतालाई यहाँको समृद्धिसँग सरकारले जोड्न चाहेको उनले बताए। भानु जयन्तीकै अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको जनाउँदै उनले आगामी दिनमा भानु वाङ्मय प्रतिष्ठान जस्ता संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने उनले विश्वास व्यक्त गरे। भानुभक्त जस्ता व्यक्तित्वहरू जन्मिएको गण्डकी प्रदेशलाई सांस्कृतिक एवं साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उनले बताए।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले पोखरा–११ फूलबारीस्थित भानुपार्कमा रहेको आदिकवि भानुभक्तको पूर्ण कदको प्रतिमामा माल्यार्पण गरे। गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा विज्ञान प्रविधिमन्त्री मेखलाल श्रेष्ठले आदिकविको योगदानलाई जीवन्त राख्न प्रदेश सरकारका तर्फबाट निरन्तर साथ र सहयोग हुने विश्वास व्यक्त गरे।
भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष भक्तबहादुर श्रेष्ठले (सरुभक्त) नेपालको भाषिक एकीकरणमा भानुभक्तको विशिष्ट योगदान रहेको बताए। उनले भने, ‘भाषा, साहित्यको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नु जरुरी छ।’
कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, गण्डकी प्रदेश प्रज्ञा –प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का ‘विखर्ची’, पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपाने, भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मिया, सचिव अम्बिकाप्रसाद भट्टराई, वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्य, पूर्ववडाध्यक्ष निर्मल कर्माचार्य, आमा समूहका अध्यक्ष मिठु गुरुङलगायतले नेपाली भाषा साहित्यको विकासमा आदिकविले पु¥याएको योगदानको चर्चा गरे।
उक्त अवसरमा पृथ्वीनारायण क्याम्पसमा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने ममता भट्टराईलाई भानु वाङ्मय पुरस्कारबाट १० हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो। कार्यक्रममा पोखरा–११ का पूर्व वडाध्यक्ष निर्मल कर्माचार्यले भानु वाङ्मय प्रतिष्ठानले संचालन गर्ने गरी प्रत्येक वर्ष नेपाली विषयका एकजना शिक्षकलाई सम्मानका लागि १ लाख रुपैयाँको अक्षयकोष राख्ने घोषणा गरे। यसअघि, पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट पोखरा–११ भानु उद्यानसम्म प्रभातफेरी गरिएको थियो।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापति पदमा सरोज…






