,

‘मोचा’ आँधीका कारण बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा व्यापक क्षति


     एभरेस्ट आवाज    
     जेठ १ गते २०८० मा प्रकाशित




बङ्गालको खाडीमा एक दशक यताकै सबैभन्दा ठूलो आँधी ‘मोचा’ले आइतबार म्यानमार र दक्षिणपूर्वी बङ्गलादेशमा क्षति पु¥याएको छ ।

करिब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले विशेष गरी बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्ला र यसको अपतटीय टापुमा अत्यधिक क्षति पुगेको जनाइएको छ । कक्स बजार जिल्लाका डेपुटी कमिस्नर तथा डिस्ट्रिक्ट म्याजिस्ट्रेट शाहीन इमरानले सिन्ह्वालाई बताएअनुसार आँधीले घर र बालीनालीमा क्षति पु¥याएको छ र रुखहरु ढलेका छन् ।

अधिकारीका अनुसार कक्स बजारमा आएको आँधीका कारण कम्तीमा १२ हजार घर पूर्ण वा आंशिक रुपमा ध्वस्त भएका छन् ।उनले प्रभावित विकट क्षेत्रबाट जनधनको क्षतिका बारेमा आधिकारिक च्यानलमार्फत सूचना सङ्कलन भइरहेको जानकारी दिए ।

म्यानमारबाट आएका करिब १० लाख रोहिङज्या शरणार्थी रहेको बङ्गलादेशको कक्स बजार जिल्लाको शिविरमा रहेका सयौं अस्थायी आश्रयस्थलमा पनि क्षति पुगेको छ ।

अधिकारीहरूले आँधीका कारण प्रभावित क्षेत्रमा कुनै हताहती नभएको बताएका छन् । बङ्गलादेशका विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले कोक्स बजार जिल्लामा प्रभावितलाई सहयोग गर्न पर्याप्त कदम चालेको बताएकोका छन्।कोक्स बजारको तटीय जिल्ला र सेन्ट मार्टिन टापुसहित यसको अपतटीय टापुहरूमा खतरनाक सङ्केतसहित आँधीले अवतरण गरेको थियो ।

मौसम विभागका निर्देशक मोहम्मद अजिजुर रहमानका अनुसार सेन्ट मार्टिन टापुमा हावाको गति स्थानीय समयअनुसार आइतबार दिउँसो २ ः०० बजे अधिकतम १४७ किलोमिटर प्रतिघण्टा पुगेको थियो । राजधानी ढाकाबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय कक्स बजार जिल्लाको सेन्ट मार्टिन टापुमा व्यापक बाढी आएको टिभी फुटेजमा देखिएको छ ।

मोचाले देशको अन्तिम सीमा पार गर्न थालेको छ, यसको आधा भाग म्यानमारतर्फ र बाँकी आधा बङ्गलादेशतर्फ गएको छ । बङ्गलादेशको कक्स बजार र म्यान्मारको सिट्वेको बीचमा १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बतास चलेको रहमानले बताए । उनले मोचा पहिले नै कमजोर भइसकेको तर बङ्गलादेशको राजधानी ढाकालगायत केही स्थानमा सोमबार पनि मौसम खराब रहने उनले बताए ।

बङ्गालको खाडीमा माछा मार्ने डुङ्गा, र सामुद्रिक पानीजहाजलाई अर्को सूचना जारी नभएसम्मका लागि सुरक्षित स्थानमा बस्न भनिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।