कुश्माको नारायण माविमा नियम विपरित प्रअ नियुक्त, अदालतद्धारा निर्णय कार्यान्वयन नगर्न आदेश जारी


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०८१ मा प्रकाशित




पर्वत– आर्थिक अपचलन पछि चर्चामा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा रहेको नारायण माध्यमिक विद्यालयमा नियम विपरित प्रद्यानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ ।

जिल्लाकै नमुना र अब्बल मानिएको नारायण माध्यमिक विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा कार्यरत बरिष्ठ र योग्य शिक्षकलाई पाखा लगाएर कनिष्ठलाई प्रअ नियुक्त गरेको हो । विद्यालयमा २०७७ चैत ९ गतेदेखि प्रद्यानाध्यापकमा कार्यरत शिक्षक गोविन्दप्रसाद पोखरेलको गत चैत ६ गते शिवालय माविमा काज सरुवा भएपछि विद्यालय व्यवस्थापन समितिले बरिष्ठतम् शिक्षकलाई जिम्मेवारी नदिईकन कनिष्ठलाई जिम्मेवारी तोकेको हो ।

पोखरेलपछि बरियताका आधारमा शुभन्तनाथ सुवेदी रहेका थिए । शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ अनुसार विद्यालय व्यवस्थापन समितिले सुवेदीलाई निमित्त प्रअको जिम्मेवारी दिनुपर्ने भएपनि उनीभन्दा कनिष्ठ प्रकाश रिजाललाई निमित्त प्रअको जिम्मेवारी दिएको सुवेदीको गुनासो छ ।

विद्यालय व्यवस्थापन समितिको वैशाख ६ गते बसेको बैठकले प्रकाश रिजाललाई पुणर् अधिकार सहित प्रद्यानाध्यापकको जिम्मेवारी प्रदान गर्ने निणर्य गरेको थियो । यस अघि विद्यालयमा आर्थिक अपचलन को घटना बाहिरीएपछि २०८० असोज २३ गते बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले तत्कालका लागि माध्यमिक तह तृतिय श्रेणीका शिक्षक रिजाललाई निमित्त प्रअको जिम्मेवारी दिएको र पछि पौष ८ गतेको वैठकले आर्थिक कारोबारको जिम्मा समेत दिएको थियो ।

आफुभन्दा कनिष्ठ शिक्षकलाई विद्यालय ब्यवस्थापन समितिले प्रअको जिम्मेवारी दिएपछि बरिष्ठताको बरियतामा रहेका शिक्षक शुभन्तनाथ सुवेदीले उच्च अदालत पोखराको बागलुङ इजलासमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटउपर अदालतले वैशाख २५ गते विद्यालय व्यवस्थापन समितिको निणर्य कार्यान्वयन नगर्न नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत बागलुङ इजलासका न्याधिश मदन पोखरेल र यज्ञवहादुर राना मगरको संयुक्त इजलासले जारी गरेको आदेशमा भनिएको छ–‘ विद्यालयको निमित्त प्रअको जिम्मेवारीमा प्रकाश रिजाल रहेकै बेला शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को नियम ९३ मा समेत कुनै अवधि किटान नगरिएको, अर्को व्यवस्था नभएसम्मको लागि पद्यानाध्याकको जिम्मेवारी प्रदान गर्ने अधिकार नभएको अवस्थामा वैशाख ६ गतेको विद्यालय व्यवस्थापन समितिको निणर्य शिक्षा ऐन विपरित देखिएकाले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु’ भनिएको छ । अदालतले विद्यालयलाई जवाफका लागि १५ दिनभित्र हाजिर हुन भनेको छ ।

शिक्षक सुवेदीले गत चैत्र २४ गते आफुलाई निमित्त प्रद्यानाध्यापक नियुक्त गरिपाउँ भनि विद्यालय व्यवस्थापन समितिमा दिएको निवेदन उपर कुनै सुनुवाई नभएको बताए । आफु विदामा बसेको दिन पारी कुनै जानकारी विना आफुभन्दा कनिष्ठ पदमा रहेका रिजाललाई प्रअ नियुक्त गरेपछि आफु न्यायका लागि अदालत जानुपरेको उनले बताए । आफ्नो पद, योग्यता र अधिकारलाईनै कुण्ठित हुने गरी विद्यालयले निणर्य गरेको उनको भनाई छ ।

दबाब र प्रभावको भरमा आफुलाई पेल्न खोजीएको उनको आरोप छ । विद्यालयका हरेक गतिविधि हेर्दा आफुलाई प्रअको जिम्मेवारी दिने अवस्था नदेखेको सुवेदीको भनाई छ । रिजाललाई निमित्त दिईसकेपछि अध्यक्षले आफुलाई फोन गरेर तपाईलाई बनाईएन केरे भनेर हेयभावले हेरेको बताए । यो सरासर आफुमाथि नजरअन्दाज गरि नियम विपरित गरेको दावी गरे । जतिपनि निणर्यहरु भए मलाई हुन नदिनकै लागि प्रकृया मिचेर गरिएको सुवेदीको आरोप छ । अध्यक्ष, समितिका सदस्य वा शिक्षकहरुले पनि समन्वय नगरेको उनले बताए ।

अदालतको अन्तरिम आदेशपछि मात्र ब्यवस्थापन समितिले जेठ २ गते विद्यालयको रिक्त पुणर्कालीन प्रद्यानाध्यापक करारमा पदपुर्ति गर्नका लागि विद्यालयमा कार्यरत शिक्षकहरुवाट विकास प्रस्ताव माग गरेको छ । विकास प्रस्ताव पेश गर्ने अन्तिम मिति जेठ १५ गतेसम्म रहेपनि विद्यालय व्यवस्थापन समितिको वैशाख ६ गतेको बैठकले नै रिजाललाई प्रअमा नियुक्त गरेको थियो । तर मुद्धाको फैसला नभैकन प्रअको विज्ञापन खोल्नुपनि नियम विपरितनै हुने समितिकै सदस्यहरुको भनाई छ ।

यता कुश्मा नगरपालिकाका शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीले विद्यालयको प्रअ नियुक्ति गर्दा विद्यालयमा शिक्षा ऐन र नियमावली बमोजिम बरिष्ठ र योग्यतमको आधारमा छनौट गनुपर्ने बताए ।

उनले नारायण माविको विद्यालय व्यवस्थापन समितिको निणर्य विरुद्ध अदालतमा रिट परेकोले आफु बोल्न नमिल्ने भन्दै विद्यालय व्यवस्थापन समितिनै जिम्मेवार हुने दावी गरे । उनले प्रअ नियुक्तिको विषयमा नगर शिक्षा शाखामा कुनै निवेदन वा उजुरी आइनसकेको बताए । नारायण माविमा मावि तहमा कार्यरत शिक्षक ४÷५ जना रहेकाले उहाँहरु मध्येवाटै छनौट गरी नियुक्त गर्नुपर्ने बताए ।

यता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले आर्थिक अपचलनको घटनापछि विद्यालयमा आएको समस्याका कारण तत्कालीन अवस्थामा प्रकाश रिजाललाई निमित्त प्रअको जिम्मेवारी दिईएको र यसमा सवै शिक्षक र व्यवस्थापन समितिको सहमति रहेको बताए । उनले विद्यालयको असहज परिस्थितिलाई सहज बनाउनका लागि वैशाख ६ गते पअको जिम्मेवारी तोकिएको बताए ।

जिम्मेवारीको हिसावले प्रअ भएपनि उहाँ निमित्तनै भएको शर्माले दावी गरे । उनले विद्यालयले नगरपालिकामै वैठक र छलफल गरेर जेठ २ गतेदेखि नमुना विद्यालयको प्रअ नियुक्तको प्रकृया अघि बढाएको बताए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य पुष्कल सुवेदीले अदालतको अन्तरिम आदेशपछि सवैको रायसुझावको आधारमा प्रद्यानाध्यापक नियुक्तीको प्रकृया थालिएको बताए । व्यवस्थापन समितिको वैशाख ६ गते दिएको जिम्मेवारी अदालतले कार्यान्वयन नगर्न भनेपछि पुणर्कालीन प्रअ नियुक्त प्रकृया थालिएको र जेठ १५ गतेपछि नियमपुर्वक नियुक्त गरिने बताए ।

विद्यालयका प्रद्यानाध्यापकको कार्यभार सम्हानुभएका प्रकाश रिजालले तत्कालीन असहज परिस्थितिमा आफुले जिम्मेवारी लिएको बताए । व्यवस्थापन समितिले प्रद्यानाध्यापक नियुक्त गर्न नमिल्ने भएकाले आफु निमित्त प्रअ नै भएको उनको भनाई छ । विद्यालय व्यवस्थापन समितिको गत असोज २३ गतेको निणर्यले आफुलाई निमित्तको जिम्मेवारी दिएपछि शुभन्तनाथ सुवेदीलाई तपाई हुनुस भनेर प्रस्ताव गरेको तर उहाँले नमानेको दावी गरे ।

म भन्दा सिनीयर शुभन्त सरनै हो रिजालले भने ‘उहाँलाई निमित्त बनाउनुपर्ने थियो, तर व्यवस्थापन समिति, भुपु व्यवस्थापन समिति, शिक्षक लगायत सवैको सहमतिमा मलाई जिम्मेवारी दिनुभयो ।’ अहिले विद्यालयको परिस्थिति सहज बन्दै गएकाले केहि समय आफुलेनै प्रअ भएर संचालन गर्न चाहेको पनि बताए । विद्यालयले पुणर्कालीन प्रअ नियुक्ती प्रकृया थालेकाले केहि समयमा यसको समस्या सल्टिने उनको दावी छ ।

निमित्त प्रअ बन्न नमानेको रिजालको यो कुरामा भने सुवेदीले पुरै झुट र निराधार भएको बताए । सवै प्रकृया आफुलाई कुनै सोधनी पुछनी नगरी, विशेष उपस्थितिमा हस्ताक्षर नगराई गराईएको बताए । उम्मेदवार हुन योग्य सवै शिक्षकले आफुलाईनै अघि बढाउन भनि माईन्युट गरेको भएपनि पछि उक्त माइन्यूट नै गायब गराईएको सुवेदीले बताए । आफु पछि पनि रिजालभन्दा सिनियर शिक्षक रहेकाले उनिहरुलाई पनि नसोधिएको बताए । रिजालभन्दा शिला र दयाशंकर सर पनि सिनियर रहेका बताए ।

वैशाख ६ गतेको निणर्य प्रकृयामा सहभागि नहुनुभएका विद्यालय ब्यवस्थापन समितिका सदस्य देवराज पुरीले संस्थाभित्रको समस्या संस्थाभित्रैवाट व्यवस्थापन गर्नुपर्नेमा अदालतसम्म पुग्नु राम्रो कुरा नभएको बताए । उनले विद्यालयजस्तो विद्यार्थीको भविष्य निर्माण गर्ने मन्दिरमा शिक्षा ऐन, नियमावली र प्रचलित कानून अनुसारनै प्रद्यानाध्यापक नियुक्ती हुनुपर्नेमा जोड दिए ।

नारायण माध्यमिक विद्यालयको २०७९ साउन १५ गते जारी विद्यालय सुधार योजनामा पनि सुवेदी तत्कालीन प्रअ पोखरेल पछि दोस्रो बरियतामा रहेको र रिजाल पाँचौ बरियतामा रहेका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।