कुमुदिनी होम्समा अभिभावकहरुलाई शैक्षिक परामर्श


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०८१ मा प्रकाशित




जेठ ५पोखरा । कुमुदिनी होम्स माध्यमिक विद्यालयले १ कक्षा देखि ५ कक्षा सम्मका विद्यार्थीका अभिभावकहरुका लागि एकदिने शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

‘शिक्षा र संस्कारको लागि असल अभिभावकको भूमिका’ विषयक उत्प्रेरणा कार्यक्रममा मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटुवालले देशका असल नारिक बनाउन स–सानो उमेरबाटै बालबालिकालाई असल अभिभावकको असल संस्कार आवश्यक हुनेमा जोड दिए ।

विद्यालयमा विद्यार्थीलाई अध्ययनको साथसाथै अतिरीक्त कक्षाहरु र सिकाईले राम्रो गन्तव्य बनाई दिइएको हुन्छ । यसैमा सबै ठिकठाक हुन्छ भनेर बस्ने छुट अभिभावकमा नभएको उनले बताए । उनले भने, ‘हामीले पठनपाठनको क्रममा सैद्धान्तिक, व्यवहारिक दुबै तवरले सिकाउछौं दुईमत छैन तर घरको वातावरण पनि बालबालिकामैत्री हुनुपर्छ । उनिरुहरुसंगको संगत सकारात्मक उर्जा दिने खालको हुनुपर्छ र त्यो वातावरण घरैबाट तयार पार्नुपर्छ ।’

एउटा विद्यार्थी अध्ययन सकेर लक्का जवान भईसक्दा पढाईमा अब्बल अंक प्राप्त गरेको होस् त्यो ठिकै छ तर व्यवहारिक सिकाई, सहयोगी, उपकारी, सहयोगी र संस्कारी भएन भने प्रगतिमा बाधा पर्न सक्ने उनले औल्याए ।

विद्यालयका संसथापक अध्यक्ष अशोक पालिखेले विद्यार्थी उत्पादनका विद्यालयले कुनै सम्झौता नगर्ने बताए । उनले विद्यार्थीलाई नेपाली मौलिक, कला, संस्कार, संस्कृतिबाट बिमुख नबनाउने भन्दै सकेसम्म सर्वगुण भएको होउन् भन्ने विद्यालयको चाहना र लक्ष्य रहेको दाबी गरे ।

उनले भने, ‘गाउँ बन्न, टोल, समाज र देश बन्न असल शिक्षा र सबल तथा सक्षम नागरिक हुनुपर्छ । राम्रो शिक्षाकै लागि हामीले कास्की जिल्लामै सबैभन्दा पहिले ब्रिटिश कोर्ष इन्टरनेशनल प्राइमरी करीकुलम अनुसार पढाई शुरु गर्यौं । साथै न्यूजिल्याण्डको थ्रि डिआई कम्प्युटर कोर्षको अतिरीक्त कक्षा संचालन गरिरहेका छौं ।’

गएको वर्ष मात्रै विद्यालयले विद्यार्थी, अभिभावक र शिक्षकहरुका लागि २७ वटा तालिम संचालन गरेको र यो वर्षको हालसम्म ६ वटा भईसकेको उनले बताए । विद्यार्थीको पढाईको बारेमा वा आफुलाई लागेका कुनैपनि कुराहरु संकोच नमानेर विद्यालयमा आएर सल्लाह, सुझाव वा गुनासो भन्न उनले अनुरोध गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।