अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवस – २०२५ र नेपालमा यसको सान्दर्भिकता

- सन्दर्भ : अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवस २०२५


     डा. अनिल सुवेदी (कृषि तथा जैबिक बिबिधता बिज्ञ)    
     जेठ ९ गते २०८२ मा प्रकाशित




आज सन् २०२५ मे २२ तारिख, ‘अन्तर्राष्ट्रिय जैविक विविधता दिवस’ । सम्पूर्णमा हार्दिक शुभकामना । 

पृष्ठभूमि

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी सम्मेलनको आयोजना भएको थियो । त्यस सम्मेलनमा विश्वका सहभागी राष्ट्रहरूले मे २२ तारिखका दिन जैविक विविधता महासन्धि (Convention on Biological Diversity – CBD) पारित गरी नेपाल लगायत सबैले सो महासन्धिमा हस्ताक्षर गरेका थिए ।त्यसैको कार्यान्वयन पक्षलाई निरन्तरता दिदै सन् २००० डिसेम्बर महिनामा बसेको संयुक्त राष्ट्र संघको साधारणसभाले बार्षिकरूपमा अन्तर्राष्ट्रिय जैविक बिबिधतादिवस मनाउने निर्णय गर्यो । त्यस यता प्रत्येक बर्ष जैविक बिबिधता दिवस मनाइदै आइएको छ । यस दिवसको मुख्य उद्देश्य जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकताको बारेमा आम जनचेतना फैलाउनु हो । प्रत्येक बर्ष यसको नारा (Theme) फरक फरक हुने गर्छ । सन् २०२५ को नारा “प्रकृतिसँग सद्भाव र दिगो विकास” (Harmony with Nature and Sustainable Development) भन्ने रहेको छ । सन् २०२२ मा संयुक्त राष्ट्र संघका पक्षधर राष्ट्रहरूको सम्मेलनले ‘कुनमिन-मोन्ट्रीयल बिश्वब्यापी जैविकबिबिधता रूपरेखा’ (Kunming-Montreal Global Biodiversity Framework) तयार गर्यो, जसमा जैविक विविधताको संरक्षण र दिगो उपयोगका लागि सन् २०५० सम्मका लागि चार वटा प्रमुख उद्देश्यहरू र सो अगावै सन् २०३० सम्मका लागि २३ वटा लक्ष्यहरू हासिल गर्ने कार्ययोजना उल्लेख गरिएका छन् । अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवसले पनि यिनै लक्षहरू र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (Sustainable Development Goals) प्राप्त गर्ने कार्यको आवश्यकतालाई पनि योगदान गर्ने बिश्वास गरिएको छ । यिनैलाई टेवा दिन आजका दिन नेपाल लगायत विश्वका प्राय: सबै देशमा यो दिवस मनाइने गरिन्छ ।

जैविक बिबिधता भन्नाले के बुझिन्छ?

जैविक विविधताले पृथ्वीमा रहेका वनस्पति, पशुपन्छी, ढुंसीहरू र अन्य सूक्ष्म जीवहरूका विविधता/भिन्नता, तिनीहरू वीचको अन्तर-सम्बन्ध र अन्तर-क्रियालाईलाई जनाउँछ । यस अन्तर्गत जातिय विविधता (Species Diversity), अनुवंशिक विविधता (Genetic Diversity)/प्रजातिय बिबिधता (Varietal Diversity) र पारिस्थितिक प्रणाली विविधता (Eco-system Diversity) पर्दछन् । यिनले गासबास, कपास, औषधिजन्य बस्तुहरू प्रदान गर्नुका साथै सन्तुलित वातावरण, स्वास्थ्य वायु, र मनोरंजन समेतमा योगदान गर्छन् । यिनीहरू वीचको सम्बन्ध र आपसी निर्भरतामा सन्तुलित भई प्रत्येक जीव बाँचेका हुन्छन् ।पशुपन्छी, बोटबिरुवा र अनेकौं सूक्ष्म जीवहरूको अन्तर-सम्बन्धबिना, स्वस्थ पारिस्थितिक प्रणालीहरू प्राप्त गर्न सकिदैन । मानवलगायत पृथ्वीमा रहेका सबै प्रकारका जीवका लागि जैविक विविधता आवश्यक छ । त्यसैले तिनको संरक्षण हुन आवश्यक हुन्छ ।

विश्वमा अनेकौं थरीका प्रजातिहरू, अनुवांशिक स्रोत र पारिस्थितिक प्रणालीहरू छन् । जैविक बिबिधताको प्रचुरताको आधारमा विश्वमा ब्राजिल सबै भन्दा धनी राष्ट्र मानिन्छ । यसले विश्वको १२.९७% वनस्पति र पशुपन्छीबिबिधता ओगोटेको छ भने क्रमश: इन्डोनेशिया (१०.३६%), चीन (९.८%), कोलोम्बिया (९.४७%), पेरु (८.५६%), मेक्सिको (८.२९%), अष्ट्रेलिया (८.११%)र भारत (७.५८%) रहेका छन् । नेपाल ४९ औँ स्थानमा छ । तर केही दशक यतामानवीय गतिबिधिका कारण यी स्रोतहरूको अति दोहन र दुरूपयोग भएका छन् र यसबाट पृथ्वीमा पाइने बिभिन्न जैविक बिबिधतामा असन्तुलन पैदा भएको छ । कैयौं जैविक बिबिधता लोप भई सकेका छन् वा लोप हुने क्रममा छन् वा खतरायुक्त छन् । यसबाट भावी पुस्ताका लागि पनि असर पर्ने सत्यलाई नकार्न सकिंदैन । त्यसैले जैविक विविधता संरक्षण गर्नु पर्ने आजको आवश्यकता हो ।

नेपालमा जैविक बिबिधताको स्थिति 

​विश्वव्यापी भू-भागको दृष्टिले नेपालले केवल ०.०३% मात्र क्षेत्रफल ओगटे छ । तर जैविक बिबिधताको दृष्टिले नेपाल एक सम्पन्न राष्ट्र मानिन्छ ।जैविक विविधताको संख्याको हिसाबले नेपाल विश्वव्यापी स्तरमा ४९ औं रएसियामा ११ औं स्थानमा छ । तर जैविक बिबिधता घनत्व (BiodiversityRichness) को हिसावले नेपाल विश्वमा २५ औं स्थानमा पर्दछ । यसले विश्वको जैविक विविधताको १.३% ओगटेको छ । नेपालमा विश्वका ज्ञात वनस्पति मध्ये ३.२% र ज्ञात जीवजन्तु मध्ये १.१% रहेका छन् । नेपालमा ११८ प्रकारका पारिस्थितिक प्रणालीहरू (बन, चरनक्षेत्र/रेन्जल्याण्ड, सिमसार, र कृषि पारिस्थितिक प्रणालीहरू) तथा २४२ वटा सिमसार क्षेत्रहरू पहिचान भएका छन्, जसमध्ये १० वटा सिमसार त रामसार संरक्षित क्षेत्रमा सूचिकृत भई सकेका छन् ।फूल फूल्ने वनस्पति (Angiosperm) मध्ये नेपालमा ६,६५३ प्रजाति/उप-प्रजाति, फूल नफूल्ने वनस्पति (Gymnosperm) मा २८ प्रजातिहरू, १,००१ प्रजातिका लेउ (Algae), २,०२५ प्रजातिका ढुंसी (Fungi), ७७१ झाऊ (Lichens), १,१५० प्रजातिका ब्रायोफाइट (bryophytes) र ५३४ टेरिडोफाइटहरू (Pteridophytes)रहेका छन् । त्यस्तै २१० स्तनधारी, ८७१ चरा, २२८ माछा, १२,९५७ भन्दा बढी कीरा, १३७ घिस्रिने प्राणी र ५३ उभयचर छन् । वनस्पतिमा गुराँस प्रजातिको सङ्ख्या नै ३० वटा भन्दा बढी छन्, सुनगाभा/सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढी प्रजाति छन् । त्यस्तै कृषि जैविक बिबिधता अन्तर्गत अनेकौं प्रकारमा बाली र तिनका जात/प्रजातिहरू पाइन्छन् । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य छन् । त्यसमध्ये २०० भन्दा बढी प्रजातिको त खेती नै गरिन्छ । कतिपय अन्नबाली, तरकारीवाली र जडिबुटीका प्रजातिहरू नेपालकै रैथानेप्रजातिमा पर्दछन् ।

यी मध्ये थुप्रै प्रजातिहरू अन्तर्राष्ट्रिय साईटिस (CITES) मा सूचिकृत भएका छन् । CITES को पुरा नाम Convention on International Trade in Endangered Species of Wild Fauna and Flora हो । CITES भनेको लोपोन्मुख वा अति न्यून संख्यामा भएका वन्यजन्तु र वनस्पति प्रजातिको बहुपक्षीय अन्तर्राष्ट्रिय व्यापार महासन्धि हो, जसले अन्तर्राष्ट्रिय व्यापारको खतराबाट लोपोन्मुख वनस्पति र पशुपन्छीहरूलाई जोगाउने लक्ष्य राख्छ ।CITES ले अनुमतिपत्र र प्रमाणपत्र प्रणालीको आधारमा वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन गर्दछ र व्यापार दिगो र कानुनी छ भनी सुनिश्चित गर्दछ । यस्तो व्यापारलाई नियमन गरी CITES ले वनस्पति र पशुपन्छी प्रजातिहरू र तिनीहरू निर्भर हुने पारिस्थितिक प्रणालीहरूको संरक्षण गर्न योगदान गर्दछ । CITES ले त्यस्ता प्रजातिहरूलाई तीन अनुसूचिमा सूचीबद्ध गरेको छ, जसमा अनुसूची एकले अति जोखिमयुक्त बन्यजन्तु र वनस्पतिलाई उच्चतम स्तरको सुरक्षा प्रदान गर्दछ र तिनको व्यावसायिक व्यापारलाई प्रतिबन्धित गर्दछ । नेपालका ७३ प्रजातिका स्तनधारी, ११३ प्रजातिका चरा, २९ प्रजातिका घस्रने प्राणी, २ प्रजातिका उभयचर, ३ प्रजातिका पुतली, र ४१७ प्रजातिका वनस्पति साइटिस् (CITES) मा सूचिकृत भएका छन् । यिनको शिकार गर्नु र ब्यापार गर्न गैर कानुनी मानिन्छ ।

​यस प्रकार नेपाल भौगोलिक क्षेत्रफलको आधारमा विश्वको एक सानो देश भएर पनि तुलनात्मक रूपमा जैविक विविधतामा एक महत्वपूर्ण देशमा पर्दछ ।सानो भईकन पनि नेपाल जैविक विविधतामा धनी हुनुमा यहाँको भौगोलिक, जलवायु, जातजाति, सांस्कृतिक र पारम्परिक विविधताका साथै संरक्षित क्षेत्र र निकुन्जहरू हुनु, पारिस्थितिक सन्तुलन हुनु र कृषक र स्थानिय वासिन्दाहरूको मौलिक/पारम्परिक स्थानीय ज्ञान हुनु, छोटो दुरीमा धेरै भौगोलिक र मौसमी भिन्नता पाइनु, फरक फरक प्राकृतिक भीर, पाखा, पहरा, गल्छी, उपत्यका र समथर स्थलहरू हुनु मुख्य कारणहरू हुन् ।

जैविक बिबिधताको महत्व 

​जैविक विविधता, पृथ्वीमा सबै तहमा पाइने जीवनको विविधता, पारिस्थितिक प्रणालीको स्वास्थ्य र स्थिरता तथा मानव कल्याणको लागि महत्त्वपूर्ण छन् । यिनले खाद्य उत्पादन, सफा पानी, जलवायु नियमन र अनेकौंऔषधिका स्रोतको रूपमा आवश्यक सेवा प्रदान गर्दछन् । यी बिबिधता मानव संस्कृति, परम्परा, र सांस्कृतिक कार्यहरूका लागि पनि महत्वपूर्ण छन् । नेपालमा बसोवास गर्ने बिभिन्न जातजाति, जनजाति, आदिवासी र अन्य वर्गका समुदायकोचाडवाड, धार्मिक पर्व, संस्कार र दैनिक कार्यका लागि बिभिन्न प्रकारका वनस्पतिर अन्नको उपयोग अपरिहार्य नै छन् । जैविक विविधता बिना, पारिस्थितिक प्रणालीहरू कम हुने र यिनको कमी वा अभावले प्रकृति र मानव समाजको जीवनलाई असर गर्दछन् । जैविक बिबिधताको बिशेष महत्व निम्नानुसार रहेका छन् :

१. पारिस्थितिक प्रणाली सेवाहरू :

• खाद्य सुरक्षा : जैविक विविधता कृषिको जग हो, जसले बढी उत्पादनमूलक बालीहरूको बिकास गर्न आवश्यक आनुवंशिक विविधतामा महत्वपूर्ण योगदानगर्दछ । 

• सफा पानी र हावा : विविध प्रजातिहरू भएको स्वस्थ पारिस्थितिक प्रणालीले पानी शुद्धीकरण गर्न र हावाबाट प्रदूषक तत्वहरूलाई फिल्टर गर्न मद्दत गर्छ; वातावरण स्वास्थ्य र सन्तुलित राख्न मदत गर्छ ।

• जलवायु नियमन : जैविक विविधताले कार्बन डाइअक्साइड अवशोषण गरी मौसम र समग्र जलवायुलाई नियमन गर्न मद्दत गर्छ । 

• परसेंचन : जैविक विविधताका कारण खाद्य उत्पादनको लागि आवश्यक पर्नेवनस्पति/कृषि वालीहरूमा परसेंचनमा महत्वपूर्ण भूमिका खेल्ने मौरी, कीरा, चरा र अन्य जनावरहरू पनि संरक्षण हुन जान्छ र उत्पादन प्रणालीलाई टेवा पुर्याउँछ । 

• कीट नियन्त्रण : जैविक बिबिधताले शिकारी र परजीवी कीराहरूको संख्या नियन्त्रण गर्न वा सन्तुलित राख्न मद्दत गर्छ ।

२. मानव कल्याण :

• औषधीय स्रोतहरू : जैविक बिबिधताकै कारण प्रकृतिमा अनेकौं औषधि र औषधीय तत्वहरू बोटबिरुवा, जनावर र सूक्ष्मजीवहरूबाट प्राप्त हुन्छन् । 

• सांस्कृतिक र सौन्दर्यतामा योगदान : जैविक विविधताले संस्कृति, परम्परा र सौन्दर्यशास्त्रमा महत्त्वपूर्ण भूमिका खेल्छ, जसले मानव जीवनलाई प्रेरणा प्रदान गर्दछ र समृद्ध बनाउँछ । 

• आर्थिक लाभहरू : जैविक विविधताले पर्यटन, कृषि लगायत अनेकौं ब्यापार,उद्योग ब्यबसायलाई टेवा दिन्छ, जसले आर्थिक उन्नतिमा योगदान पुर्‍याउँछ ।

३. दिगोपना :

• पारिस्थितिक प्रणालीमा स्थिरता : विविध पारिस्थितिक प्रणालीहरू, जलवायु परिवर्तन जस्ता वातावरणीय परिवर्तनहरूप्रति बढी लचिला हुन्छन् र अवरोधहरू राम्रोसँग सहन सक्ने हुन्छन् । यसले पारिस्थितिक प्रणालीमा स्थिरता ल्याउँछ ।

• प्राकृतिक दिगोपना : जैविक विविधताले पारिस्थितिक प्रणालीको दीर्घकालीन स्वास्थ्य र उत्पादकत्वको सुनिश्चित गर्दछ, जसले सबै जीवनलाई कायम राख्ने प्राकृतिक प्रक्रियाहरूलाई दिगोपन कायम राख्न सहयोग पुर्याउँछ ।

जैविक विविधतालाई खतरा 

जैविक बिबिधता मानव र पृथ्वीका अन्य जिवहरुका लागि अति महत्वपूर्णस्रोत हुँदा हुँदै पनि नेपाल लगायत विश्वभर यी सम्पदा खतरामा छन् । यसका बिभिन्न कारणहरू छन् । प्रमुख कारणहरू हुन् :

1. वासस्थानको क्षति, क्षय र खण्डीकरण : वासस्थान (Habitat) भनेको त्यो ठाउँ हो जहाँ कुनै वनस्पति वा पशुपन्छी प्राकृतिक रूपमा बसोबास गर्छन् ।बढ्दो सहरीकरण, अनियन्त्रित भौतिक संरचना निर्माण, बन फँडानी,खेतीयोग्य जमिनको खण्डिकरण, बिषाधिको अत्यधिक प्रयोग, एकल कृषि बालीको खेती गरिनु र व्यावसायीकरणका लागि अत्यधिक शोषणआदिका कारण जैविक विविधता अति खतरामा छन् ।

• मिचाहा, आक्रमणकारी र अनुबंश परिवर्तन गरिएका (Genetically ModifiedOrganism-GMO) प्रजातिहरूका बीऊ, बिरूवाको प्रयोगका कारण पनि स्थानीय/रैथाने वनस्पति/कृषि वालीहरू बिस्तारै घट्दै जानु वा लोप हुँदै जानु ।

• वातावारनिय प्रदूषण : रासायनिक विषादीको प्रयोग, औद्योगिक धूवाँ र रासायनिक पदार्थको अनुचित प्रयोग, यातायात साधनहरूमा जीवाश्म इन्धन(Fossil Fuel) को प्रयोग आदिका कारण सृजित प्रदूषणले बोटबिरुवा, जनावर र सूक्ष्मजीवहरूलाई हानि पुर्‍याई जैविक विविधतामा ह्रास हुने गर्छ ।

• विश्वव्यापी जलवायु परिवर्तन : तापक्रम, वर्षा र अन्य जलवायुमा हुने परिवर्तनले पारिस्थितिक प्रणालीलाई असर पुर्‍याउँछ र प्रजातिहरूलाई खतरामापार्छ ।

• जनसंख्या वृद्धि र अत्यधिक उपभोग : बढ्दो जनसंख्याका कारण प्राकृतिक स्रोतसाधन र जैविक विबिधतामा बढी भार हुनु, सिमित स्रोतबाट दैनिक उपभोग्य बस्तुहरूको आवश्यकता बढ्दै जानु र पारिस्थितिक प्रणालीलाई बाधा पुर्‍याउनु ।

• अवैध वन्यजन्तु व्यापार: बन्यजन्तुका बिभिन्न भागहरूको बिभिन्न देशहरूमामाग भएका कारण अबैध शिकार गरी चोरी निकासी मार्फत अबैध ब्यापारले महत्वपूर्ण बन्यजन्तुको संख्यामा कमी र क्रमिक ह्रास हुने क्रम बढ्दै जानु ।

जैविक बिबिधताको संरक्षण र दिगो ब्यबस्थापनको आवश्यकता र उपायहरू :

​माथि उल्लेख गरिएका र अन्य कारणले जैविक बिबिधतामा परिरहेकोअसरका कारण मानव जाति लगायत अन्य प्राणीहरूलाई नकारात्मक प्रभाव पर्न गएको छ । सांस्कृतिक, आर्थिक र जीविकोपार्जन लगायत स्थानीय वासिन्दा रकृषकहरूको स्थानीय ज्ञान पनि बिस्तारै ह्रास हुँदै गरेको छ । यिनको संरक्षण गरी दिगो ब्यबस्थान गरिनु जरूरी छ । यसका लागि बिभिन्न तहका सरकार,गैरसरकारी र निजि संस्थाहरू, स्थानीय समुदायहरू, कृषि उत्पादक, उपभोक्ताहरू तथा अन्य सरोकारावालाहरूको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय संरक्षणका असल अभ्यासहरूको खोजी र प्रबर्धन गर्न, कृषक र स्थानीय संरक्षकर्ताहरूलाई अनुदानको ब्यबस्था गरी प्रोत्साहन गर्न, जैविक बिबिधताको थप खोज र अनुसन्धान गरी स्थानीय र राष्ट्रिय स्तरमा अभिलेखन गर्न, बिषाधिको प्रयोगलाई निरूत्साहित गर्न, बन क्षेत्र तथा हाल खेती गरिएका र खेतीयोग्यजमिनको अतिक्रमण रोक्न, जथाभावी भौतिक निर्माण र प्लटिंग गर्न रोक लगाउन, जलवायु अनुकुल र जलवायुमैत्री कृषि गर्न गराउन, रैथाने प्रजातिका वालीहरू र कृषकका स्थानीय ज्ञानको अभिलेखन गरी बौद्धिक सम्पत्तिको रूपमादर्ता गर्न र सोबाट समुचित लाभको बाँडफाँड गर्न, र बृहद जनचेतना अभिवृद्धि गर्न नितान्त आवश्य छ । पारिस्थितिक प्रणाली र वासस्थानको पुनर्स्थापना गर्न तथा रैथाने बिऊबिजनको जिन बैंक र सामुदायिक बिऊ बैंकहरूमा सुरक्षित तवरलेराख्नु पर्दछ । त्यस्तै नेपाल सरकारले हस्ताक्षर गरेका बिभिन्न अन्तर्राष्ट्रिय सन्धि,प्रतिबद्धताहरू, राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरमा बनाइएका नीति, कानुनहरू र संरक्षण रणनीतिक कार्य योजनाहरूको प्रभावकारी कार्यान्वयन हुनु जरूरी छ ।जैविक बिबिधता संरक्षणका लागि मात्र संरक्षण गरिनुको सट्टा, तिनको दिगो रसमुचित उपयोग गरी कसरी आर्थिक लाभ लिन सकिन्छ भन्ने उपायहरूको पहिचान गरी स्थानीय समुदायलाई सो बारे ज्ञान, सिप र बजारीकरणमा प्रशिक्षण दिईनु पर्दछ । साथै माध्यमिक तहको शिक्षाको लागि पाठ्यक्रम तयार गरी पठन पाठनमा जोड दिइनु पर्छ ।

​यी र यस्तै कार्यहरूलाई अगाडि बढाउन र जैविक विविधताको महत्त्वलाईदर्शाउन प्रत्येक बर्ष विश्वभर अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवस मनाइने गरिएको हो । नेपालको सन्दर्भमा यस प्रकारको अभियानले अझै बढी महत्व राख्दछ । यस बर्षको नारा “प्रकृतिसङ्ग सद्भाव र दिगो बिकास” भन्ने नारालेनेपालमा जैविक विविधता संरक्षण र दिगो विकासको अन्तरसम्बन्धलाई पनि योगदान दिन्छ, नेपालमा रहेका बिभिन्न प्राकृतिक पारिस्थितिक प्रणाली (Eco-Systems) र अनेकौं जैविक बिबिधताको संरक्षणका प्रयासहरूलाई नेपालीहरूको कल्याण र आर्थिक बिकासका लक्ष्यहरू प्राप्तिमा योगदान गर्ने बिश्वास गर्न सकिन्छ ।

​हामी सबै जैविक बिबिधताको महत्व बारे जानकारी राखौं, ती सम्पदाको ह्रास हुनबाट सचेत होऔँ – जैविक बिबिधता दिवसको अवसरमा पुन: सबैमा हार्दिक शुभकामना ।अस्तु —- ।

(सन्दर्भ : अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवस २०२५)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।