तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
यसअघि शुक्रबार र शनिबार बन्दीपुरमा पर्यटकको भीड हुने गरेकामा बिदाका कारण आइतबार पनि पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । उनले भने, “पछिल्लो समय सर्वसाधारणमा घुम्ने संस्कृतिको विकास भएको छ । त्यसमाथि सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेपछि बन्दीपुरमा आन्तरिक पर्यटक बढ्दैछन् ।” प्रधानले आइतबारमात्रै एक हजार बढी पर्यटक बन्दीपुर आएको जानकारी दिए । उनका अनुसार अन्य समयका आइतबार पर्यटकको चहलपहल निकै कम हुने गर्दथ्यो ।
बन्दीपुरका पर्यटन व्यवसायी वैशबहादुर गुरुङले हप्ताको दुई दिन बिदा दिने निर्णय पर्यटन प्रवर्द्धनका लागि सहयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, “घुम्ने संस्कृति विकास भएका कारण आइतबारको बिदाले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।” बन्दीपुर गाउँपालिकाले सन् २०२५ मा सञ्चालन गरेको बन्दीपुर भ्रमण वर्षका अवसरमा छ लाख ५० हजार पर्यटक बन्दीपुर भित्रिएका थिए । यहाँका खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा मिनी ग्रेटवाल, तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


युनाइटेड क्लब पोखराले पोखरा रंगशाला परिसरमा ११ थान कुर्सी जडान गरी जिल्ला…







