पश्चिमाञ्चलका विद्यार्थीलाई ‘हस्पिटालिटी’ सेवाबारे अभिमूखिकरण

- शुक्रबारदेखि फुटसल सुरु


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०८२ मा प्रकाशित




पोखरा, जेठ ३०
पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ)दिएर बसेका विद्यार्थीलाई होटल व्यवस्थापन तथा हस्पिटालिटी सेवा सम्बन्धि प्रशिक्षण दिएको छ । पाँचदिन अवधिको उक्त तालिममा विभिन्न विद्यालयबाट यो वर्ष एसइइ दिएका ३५ जना छात्रछात्रा सहभागि थिए ।
विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार विद्यार्थीको फुर्सदको समयलाइ सदूपयोग गर्नका लागि विद्यालयले पाँचदिन अवधिको कार्यक्रममार्फत उनीहरुलाई सीप सिकाइएको हो । पाँचदिन अवधिको यो प्रशिक्षण शुक्रबार सकिएको छ । विद्यार्थीलाई निशुल्क प्रशिक्षण दिइएको हो ।
‘होटल व्यवस्थापनमा बढी चाँसो हुने विद्यार्थी यसमा सहभागि थिए । उनीहरुलाई होटल व्यवस्थापन र हस्पिटालिटी क्षेत्रबारे सीप सिकाइएको छ,’ उनले भने, ‘फुर्सदमा केही न केही सीप सिक्दा छात्रछात्रालाई फाइदा नै हुन्छ । उनीहरुले सिकेको सीपलाई घरमै पनि उपयोग गर्न सक्छन ।’
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझा, विद्यालयका प्राचार्य कोइराला, सहप्राचार्य मिनु श्रेष्ठ कुँवर लगायतले विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए । विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीका अनुसार विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थी यो प्रशिक्षणमा सहभागि थिए । ‘विद्यार्थीलाई दिइएको यो अभिमुखिकरणले उनीहरुलाई लाभ दिएको छ,’ उनले भने ।
पश्चिमाञ्चल माविका होटल व्यवस्थापन विषयका शिक्षक जितेन्द्र थापाले विद्यार्थीले होटल र रेस्टुरेन्टको भान्सादेखि पाहुनालाई कसरी सेवा दिने भनेर सिकेको बताए । ‘पछिल्लो पुस्ता आफ्नै घरको भान्सामा समेत हत्तपत्ति जान चाँहदैन । भान्सामा तयार भएको खानालाई कसरी पस्कने भन्ने पनि थाहा छैन । आतिथ्यताबारे पनि अहिलेको पुस्ता जानकार छैन,’ उनले भने, ‘कम्तिमा भान्सामा तयार भएको परिकार पस्कन र आतिथ्यता प्रदान गर्ने सीप बढ्नु पनि राम्रो हो ।’
शुक्रबारदेखि फुटसल
यसैबीच पश्चिमाञ्चल माविले दोश्रो संस्करणको एसइइ फुटसल प्रतियोगिता आयोजना गरेको छ । शुक्रबारदेखि सुरु भएको छात्रहरुको प्रतियोगिता दुइदिनसम्म चल्नेछ । एसइइ दिएका विद्यार्थीले मात्र यो प्रतियोगितामा भाग लिनेछन ।
विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार फुटसल प्रतियोगितामा विभिन्न ५० वटा टिम सहभागि छन् । विभिन्न विद्यालय सहित खेलाडीले समूहगत रुपमा टिम बनाएर प्रतियोगितामा खेल्न सहभागि भएका छन । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः १५ र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन । उत्कृष्ट प्लेयर, गोलकिपर र सर्वाधिक गोलकर्ताले पनि पुरस्कार पाउनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।