साफ महिला यु–१९ च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश फाइनलमा, नेपालको सम्भावना कायमै


     एभरेस्ट आवाज    
     माघ १९ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, माघ १९

बंगलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा जारी प्रतियोगितामा बंगलादेश लगातार दोस्रो जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो । यसअघि पहिलो खेलमा भुटानलाई पराजित गरेको बंगलादेशले सोमबार भएको खेलमा भारतलाई पराजित गर्दै फाईनलको यात्रा सुनिश्चित गरेको हो ।

सोमबारको खेलमा बंगलादेशले भारतलाई २–० ले पराजित गर्यो । पहिलो खेलमा भुटानबिरुद्द एक दर्जन गोल हानेको बंगलादेशले सोमबारको खेल पनि एकतर्फी पेलेको थियो । शुरुदेखि नै आक्रामक रणनीतिमा उत्रिएको बंगलादेशले खेलको २९ औं मिनेटमा गोलको खाता खोलेको थियो । बंगलादेशकी अर्पिताले गोल गर्दै अग्रता दिलाएकी थिईन् । त्यसको ११ मिनेटपछि अल्पीले थप गोल गर्दै अन्तर दोब्बर पारिन् । त्यसपश्चात दुबैतर्फ गोल हुन नसकेपछि बंगलादेश बिजयीहुँदै फाइनलमा प्रवेश गर्यो ।

सोमबार नै भएको दोस्रो खेलमा घरेलु टोली नेपालले भुटानलाई २–१ ले पराजित गर्यो । पहिलो खेलमा भारतसँग पराजित नेपालले दोस्रो खेल जितेसँगै फाइनल पुग्ने आशा बाँकी छ । पहिलो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो । नेपालका लागि सिर्जना बडुवालले ३५ औं मिनेटमा गोल गर्दै खाता खोलेकी थिईन् । मैदानको बायाँ साईडबाट पेनाल्टी बक्स बाहिरबाट हानेको उनको प्रहार सिधै गोलमा परिणत भएको थियो । ६९ औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । यसपटक प्रजिता राईले वान टच प्रहार गर्दै जाली चुमाईन् । भुटानका लागि सोनाम छेदेनले गोल गर्दै गोल अन्तर कम गरेकी थिईन् । उनले खेलको ८७ औं मिनेटमा गोल गर्दै बराबरी गर्ने आशा जिवित राखेपनि त्यसपछि थप गोल गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरिएको छ ।

जितसँगै नेपाल अंक तालिकामा भारतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । नेपाल र भारत दुवैको समान २ खेलबाट ३–३ अंक भए पनि गोलअन्तरमा नेपाल अगाडि छ । नेपालको गोलअन्तर शून्य रहेको छ भने भारतको गोलअन्तर १ रहेको छ ।

अब नेपालले आफ्नो समूह चरणको अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ भने भुटानले भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको खेलमा अंक तालिकाका शीर्ष स्थानमा रहेका दुई टोलीले फाइनल खेल्नेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।