गीतकार रमिल अधिकारीद्वारा रत्नशोभाका विद्यार्थीलाई सहयोग हस्तान्तरण


     एभरेस्ट आवाज    
     माघ १९ गते २०८२ मा प्रकाशित




गीतकार डा रमिल अधिकारीले पोखरा २८, माझठानास्थित रत्नशोभा माविका विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

गीतकार प्रतिष्ठान, नेपालको समन्वयमा डा। अधिकारीले आफ्ना छोरा अंश अधिकारीको जन्मदिनको अवसर पारेर सोमवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ११ हजार १११ रुपियाँ प्रदान गरेका हुन् । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ३० रुपियाँमा खाना खुवाइएको समाचारबाट प्रभावित भएर आफूले छोराको जन्मदिनमा नगद हस्तान्तरण गरेको डा। अधिकारीले बताए । डा। अधिकारी हाल न्युजिल्यान्डमा रही चिकित्सा क्षेत्रमा कार्य गर्दै आएका छन् ।

गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा यस्ता पवित्र कार्यमा सहयोग गर्नु प्रभावकारी हुने बताए । अनावश्यक तडकभडकलाई त्यागेर रचनात्मक कार्य गर्नेतर्फ लाग्ने संस्कार स्थापित गर्नेतर्फ प्रतिष्ठान लागिरहेको अधिकारीले बताए ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेललाई रकम हस्तान्तरण गरिएको थियो । प्रधानाध्यापक पौडेलले विद्यार्थीका लागि गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मादी भगवती ल फर्मका सञ्चालक बुद्धिप्रसाद सुवेदी र विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि पूर्णबहादुर खत्रीले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक ऋषिराम रानाभाटले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।