उपहार गोलको उद्दतमा जावलाखेल आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन ७

जावलाखेल युथ क्लव १४ वर्षपछि आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको खेलमा जावलाखेल उपहार गोलको मद्दतमा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । विदेशी पाहुना टोली आभा एफसी उज्वेकिस्तानसँगको प्रतिष्पर्धात्मक खेलमा जावलाखेल भाग्यमानी ठहरियो । गोलको खडेरी परिरहेका बेला जावलाखेलले ५२ औं मिनेटमा उपहार गोल पाएको थियो । विपक्षी टिममाथि दबाब बढाउने क्रममा जावलाखेलका धर्बेन्द्र कुँवरले बायाँसाईडबाट क्रस गरेको बललाई उज्वेकिस्तानका कुसान गानीजानोभले आत्मघाती गोल गर्दै जावलाखेललाई उपहारमार्फत जित उन्मुख गराए । विपक्षी खेलाडीसमेत नभएको समयमा गानीजानोभले बल क्लियर गर्न खोज्दा बलले सिधै जाली चुम्न पुगेको थियो ।

उपहार गोलमार्फत अग्रता बनाएको जावलाखेल ६० औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । सार्दाेबेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकाल रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि जावलाखेलले अग्रता कायम राखेपछि उसको फाइनल यात्रा सुरक्षित बन्यो ।

जितसँगै जावलाखेल १४ वर्षपछि उपाधि नजिक पुगेको छ । २०६८ सालमा फाईनल यात्रा तय गरे पनि उपाधिबाट भने जावलाखेल बञ्चित भएको थियो । त्यसबेला फाईनलमा मनाङ मस्र्याङ्दी क्लबसँग जावलाखेल १–० ले पराजितहुँदै उपबिजेतामा चित्त बुझाएको थियो ।

१४ वर्षपछि फाइनल पुगेको जावलाखेलले अब उपाधिका लागि आयोजक सहारा क्लब पोखरासँग शनिबार प्रतिस्पर्धा गर्ने छ ।

आभा एफसी उज्वेकिस्तानको टोली विहीबारको खेलमा अभागी ठहरियो । तुलनात्मक रुपमा कमजोर खेल प्रस्तुत गरेको सो टोलीले गरेको दुई वटा प्रहार गोलपोष्टमा लागेर फर्किनु नै उसका लागि दुर्भाग्य सिद्द भयो । काउन्टर अट्याकमार्फ गोल गर्ने रणनीति अप्नाएको उज्वेकिस्तानी टोलीले १० औं मिनेटमै गोल गर्ने अवसर सिर्जना गरेको थियो । टोलीका लागि उमिडजोन करिलोभले गरेको प्रहार फष्र्टबारमा लागेर रिवाउण्डहुँदा अग्रता बनाउनबाट चुक्यो । त्यस्तै, ४२ औं मिनेटमा करिलोभले नै गरेको लामो शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिदा दोस्रो पटक अग्रता बनाउनबाट उज्वेकिस्तानी टोली चुक्यो । ९० औं मिनेटमा बाबिरस्व सभिरोभले गरेको कडा प्रहारमा पनि जावलाखेलका गोलकिपर बाधक बने । उनले पञ्च गरेर जावलाखेलको अग्रता जोगाए ।

विहीबारको खेलमा जावलाखेलका विदेशी खेलाडी जोखिडजोन राखिमोभ प्लयेर अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको उपाधि बिजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।