आर्थिक गणना बैशााख २ देखि शुरु हुने


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०८२ मा प्रकाशित




आगामी बैशाख दुई गते देखि देशभर आर्थिक गणना हुने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालय कास्कीको आयोजनामा आइतबार भएको छलफल कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देलले आगामी बैशाख २ गतेदेखि असार ७ गते सम्म देशैभर आर्थिक गणना हुने जानकारी दिए । उनले यस गणनाले आर्थिक क्रियाकलापका बारेमा ठोस तथ्यांक ल्याउने विश्वास व्यक्त गरे । राष्ट्रिय तथ्यांक कार्यालय कास्कीका प्रमुख नन्दलाल सापकोटाले गणनाको लागि गणक तथा सुपरिबेक्षकहरू प्रतिष्ठानहरूमा भौतिकरूपमा नै उपस्थित भएर गणना गरिने उल्लेख गर्दै सबै पक्षको सहयोगमा गणना सम्पन्न हुने बिश्वास व्यक्त गरे । यसअघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आर्थिक गणना देशभरमा संचालनमा रहेका आर्थिक क्रियाकलाप संचालन गर्ने आधारभुत बिबरण संकलन ,प्रशोधन ,विश्लेषण र प्रकाशन गर्ने हुँदा समग्र देशको आर्थिक र बिकासको परिसूचकको मापनमा महत्त्वपूर्ण हुने बताए । उनले गणना नेपालको वास्तविक अर्थतन्त्रको आकार निर्धारणका लागि थप प्रभाबकारी नीति निर्माणमा समेत सहयोगी हुने बिश्वास व्यक्त गरे ।

कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले भरपर्दो र बिश्वसनिय गणना राष्ट्र निर्माणको आधार तयार गर्ने हुँदा सम्पूर्ण ब्यबस्थापन सहित उत्कृष्ट कार्य सम्पादनमा उत्रिनु पर्नेमा जोड दिए । कार्यक्रममा सरोकारवाला निकाय ,कार्यालयका प्रतिनिधि तथा उद्योगी, व्यवसायीको सहभागीता रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।