मानवसेवा आश्रम कास्की शाखाले हेम्जामा वैशाख १९ देखि २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” आयोजना गर्ने भएको छ। महायज्ञमार्फत संकलित रकम निर्माणाधीन भवन सम्पन्नता र सेवा विस्तारमा खर्च गरिने आश्रमले जनाएको छ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आश्रमका केन्द्र प्रमुख रामजी अधिकारी ले महायज्ञलाई निर्माण सम्पन्न गर्ने अभियानका रूपमा लिइएको बताए। उनका अनुसार भवनसँगै लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष वृद्धि पनि महायज्ञका मुख्य लक्ष्य हुन्।
आठ दिनसम्म सञ्चालन हुने महायज्ञ अवधिमा धार्मिक प्रवचन, योग शिविर, निःशुल्क स्वास्थ्य सेवा, युवा लक्षित उत्प्रेरणात्मक कार्यक्रम तथा सांगीतिक प्रस्तुति गरिने कार्यक्रम छ। आयोजकका अनुसार महायज्ञले धार्मिक तथा सामाजिक जागरणसँगै सेवा कार्यका लागि आवश्यक स्रोत जुटाउने अपेक्षा गरिएको छ।
हेम्जास्थित भवन निर्माणमा हालसम्म करिब आठ करोड रुपैयाँ खर्च भइसकेको छ भने कार्य सम्पन्न गर्न थप दुई करोड आवश्यक रहेको जनाइएको छ। आश्रितको संख्या बढ्दै जाँदा सेवा विस्तारका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले महायज्ञलाई प्रमुख आधारका रूपमा अघि सारिएको आश्रमको भनाइ छ।
महायज्ञ सफल बनाउन एक हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। संयोजकमा अनिलकुमार साही, सहसंयोजकमा धर्मराज बास्तोला र प्रचारप्रसार संयोजकमा सुस्मा पौडेल रहेका छन्।
आश्रमले सर्वसाधारण, दाताहरू तथा सरोकारवालालाई महायज्ञमा सहभागी भई सहयोग गर्न आग्रह गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






