पोखरा, जेठ २८
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको प्रोमोसनल टुर भारतको कलकत्तामा हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा हुने ‘पोखरा–नेपाल प्रोमोसनल क्याम्पेन एण्ड बी टु बी सेल्स मिसन’ भारतको पश्चिम बंगालस्थित कलकत्तामा गर्न लागेको नाट्टा गण्डकीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रोमोसनल टुर बुधबारदेखि शुरु भई असार १ गतेसम्म सञ्चालन हुने नाट्टा गण्डकी प्रदेश अध्यक्ष किशोर तिवारीले बताए । टुरमा नाट्टाका २२ जना प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए ।
कलकत्तामा हुने बी टु बी सेल्स मिसन कार्यक्रममा कलकत्ताका संघ संस्थाहरु इन्डियन एशोसियसन अफ टुर अपरेटर, वेस्ट बंगाल, ट्राभल एजेन्ट्स एशोसियसन अफ बंगाल, इस्टर्न हिमालय ट्राभल एण्ड् टुर अपरेटर्स एशोसियसन, ईन्टरप्राइजिङ ट्राभल एजेन्ट्स एशोसियसन ईस्टर्न च्याप्टर, एशोसियसन अफ बुद्धिष्ट टुर अपरेटर्स वेस्ट बंगाल च्याप्टर, एशोसियसन अफ डोमेस्टिक टुर अपरेटर्स अफ इन्डियाका प्रतिनिधिलगायतको सहभागिता रहने नाट्टा गण्डकीकी उपाध्यक्ष संगीता पौडेलले जानकारी दिईन् ।
‘पोखरा–नेपाल प्रोमोसनल क्याम्पेन एण्ड बी टु बी सेल्स मिसन’मा नेपालबाट गएका प्रतिनिधि र कलकत्ताका एजेन्सीहरुबीच पर्यटनका बहुआयामिक विषयसँगै त्यहाँका पर्यटक पोखरा भित्राउने विषयमा छलफल हुने अध्यक्ष तिवारीले जानकारी दिए । ‘कार्यक्रममा हामी पोखरा र समग्र नेपालको पर्यटनको गतिविधिहरु समेटिएको वृत्तचित्र, प्रवद्र्धनात्मक सामाग्रीहरु प्रर्दशन एवम् वितरण गर्छौं’–उनले भने ।
कलकत्ता टुरको अवसरमा पोखरा–कलकत्ता वा भारतका अन्य सहरमा हवाई उडान सञ्चालनको सम्भाव्यताबारे पनि छलफल गर्ने तयारी गरिएको गरिने नाट्टा गण्डकीका महासचिव चेतबहादुर कार्कीले बताए । भने,‘पर्यटकलाई पोखरा ल्याउन के के समस्याहरु छन् र ती समस्या समाधान गर्न रोडदेखि हवाई कनेक्टिभिटीलगायतका बारेमा छलफल गर्छौं ।’
नेपाल पर्यटन वोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले कलकत्तासहित त्यस वरपरका सहरका पर्यटक आकर्षित गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । पोखरामा भारतीय पर्यटकको आगमन राम्रो छ,उनले भने,‘अघिल्लो महिना मात्रै पनि पोखरामा आएको पर्यटकमध्ये भारतीय पर्यटकको हिस्सा २९ प्रतिशत थियो । पर्यटन वोर्डको सहयोगमा भएको यो प्रोमोसनल टुरले भारतीय पर्यटक थप गर्न मद्धत गर्छ भन्ने विश्वास छ ।’ उनले पोखरा, दिल्ली, देरादून र वनारसलगायतका भारतीय सहरमा हवाई कनेक्टिभिटी खोलेर पर्यटक आगमन दर उच्च बनाउन भ्रमण फलदायी हुने पनि बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटन वोर्ड र नीजि क्षेत्रबीचको सहकार्यमा हुने यस्ता टुरले भारतीय पर्यटक आकर्षित गर्न मद्धत पुग्ने गरेको बताए । ‘पर्यटन चलायमान गराउन यस्ता भ्रमणहरु भइरहनु पर्छ’–उनले भने ।
नेपाल पर्यटन बोर्डका पूर्वं वोर्ड सदस्य वासुदेव त्रिपाठीले नीजि क्षेत्रको पहलमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम पहिलेदेखि नै हुँदै आएको बताए । उनले भारतीय पर्यटक मात्रै ल्याउन सके पोखरालाई पर्यटकको अभाव नहुने बताए ।
नाट्टा गण्डकीमा गण्डकी प्रदेशका ११ जिल्ला भित्रका टुर एण्ड ट्राभल व्यवसायी आवद्ध रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दलित समुदायका बालबालिकाको मौलिक हकको प्रत्याभूति गर्न माग गर्दै संघीय सरकार तथा…







