पोखरा, जेठ २७
नेपालका तीन फरक पहिचान बोकेका पर्यटकीय सहर—पोखरा, भरतपुर र लुम्बिनी—अब एउटै पर्यटन यात्रामा जोडिने भएका छन्। स्थानीय तहबीच भएको त्रिपक्षीय समझदारीसँगै ‘सिल्भर ट्रयाङ्गल’ अवधारणाले औपचारिक गति पाएको छ।
पर्यटन राजधानी पोखरा, बुद्ध जन्मस्थल लुम्बिनी र जैविक विविधताको केन्द्र भरतपुरलाई एउटै पर्यटन सर्किटका रूपमा विकास गर्ने लक्ष्यसहित सहकार्य सुरु गरिएको हो। पोखरामा भएको कार्यक्रममा तीन स्थानीय तहले पर्यटन प्रवर्द्धन, ब्रान्डिङ, बजार विस्तार र गन्तव्यबीचको पहुँच सहज बनाउने विषयमा सहमति गरेका छन्।
सम्झौताले पर्यटकलाई एउटा सहरबाट अर्को सहरसम्म लैजाने मात्र होइन, एउटै यात्रामा फरक–फरक अनुभव दिने अवधारणा अघि सारेको छ। अध्यात्म, वन्यजन्तु र साहसिक पर्यटनलाई एउटै प्याकेजमा प्रस्तुत गर्ने तयारी गरिएको छ।
१२ बुँदे समझदारीअनुसार तीनै स्थानीय तहले आफ्नो नीति, योजना र बजेटमा सिल्भर ट्रयाङ्गल कार्यक्रम समेट्नेछन्। नेतृत्व र समन्वय प्रत्येक वर्ष आलोपालो हुनेछ भने संयुक्त पर्यटन मेला आयोजना गरिनेछ।
सहमतिअनुसार व्यवसाय–देखि–व्यवसाय र सरकार–देखि–सरकार तहमा नियमित संवाद हुने, संयुक्त प्रचार सामग्री तयार गरिने, एकीकृत पर्यटन प्याकेज बनाइने तथा डिजिटल सूचना प्रणालीमार्फत गन्तव्यबीच सूचना आदान–प्रदान गरिनेछ।
पोखरा महानगर प्रमुख धनराज आचार्य ले एउटै यात्रामा विविध अनुभव दिन सकियो भने विदेशी पर्यटकको बसाइ अवधि बढ्ने र त्यसको प्रत्यक्ष लाभ पर्यटन अर्थतन्त्रले लिने बताए।
भरतपुर महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी ले तीन सहरको साझा पहलले पर्यटनलाई नयाँ उचाइमा लैजान सक्ने बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन ले धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनलाई एउटै यात्रामा अनुभव गर्न सकिने अवसरका रूपमा यो सहकार्यलाई व्याख्या गरिन्।
नेपालमा बहुगन्तव्य पर्यटनको चर्चा पुरानै भए पनि स्थानीय तह स्तरबाट गरिएको यो सहकार्यलाई कार्यान्वयनमा लैजान सकिए पर्यटकको बसाइ अवधि, खर्च र गन्तव्यको आर्थिक लाभ तीनै क्षेत्रमा विस्तार हुने अपेक्षा गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं…







