दूध उत्पादक किसानलाई गण्डकीमा पाँच करोड ५८ लाख अनुदान


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०८३ मा प्रकाशित




आर्थिक वर्ष २०८२÷८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले जानकारी दिईन् ।उनले दैनिक २०० लिटर र वार्षिक २०० दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरुपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताईन् ।

हरेक आवमा कम्तीमा ३० दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका छन् । एउटा सहकारीलाई बढीमा रु १७ लाख ५० हजारसम्म प्रोत्साहन सहयोग गर्ने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा शर्माले बताईन् । “किसानलाई प्रतिलिटर दूधमा रु पाँचका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ, कतिपय सहकारीमा माग धेरै हुँदा प्रोत्साहन रकम केही कम पनि हुने गरेको छ,” उनले भनिन् ।

सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा चार प्रतिशत कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी ९६ प्रतिशत किसानलाई वितरण गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।