पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घले खाना पकाउने एलपी ग्यास आवश्यकताभन्दा बढी मौज्दात नराख्न उपभोक्तालाई अपिल गरेको छ। ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले एकैपटक धेरै सिलिन्डर खरिद गर्न थालेपछि बजारमा अस्वाभाविक माग बढेको भन्दै सङ्घले तत्कालको आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको हो।
सङ्घले शनिबार सार्वजनिक अपिल जारी गर्दै नेपाल आयल निगम र एलपी ग्यास उद्योग सङ्घका अनुसार भारतबाट ग्यासको आयात नियमित भइरहेको र बजारमा ग्यासको वास्तविक अभाव नरहेको जनाएको छ। अभाव हुने त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न खोज्दा बजारमा मागको चाप ह्वात्तै बढेको र त्यसले कृत्रिम अभावको अवस्था सिर्जना गरेको सङ्घको भनाइ छ।
सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर घरमा मौज्दात नराखी तत्कालको आवश्यकताअनुसार मात्र खरिद गर्न आग्रह गरेको छ। यसबाट अन्य उपभोक्ताले पनि सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण बन्ने सङ्घले जनाएको छ।
ग्यासमाथिको परनिर्भरता कम गर्न वैकल्पिक ऊर्जाका रूपमा इन्डक्सन, राइस कुकरलगायत विद्युतीय सामग्रीको अधिकतम प्रयोग गर्नसमेत सङ्घले उपभोक्तालाई अनुरोध गरेको छ।
त्यसैगरी सङ्घले ग्यास विक्रेता तथा डिपो सञ्चालकलाई विगतको बिक्री तथ्याङ्कलाई मध्यनजर गरी वैज्ञानिक ढंगबाट ग्यास वितरण गर्न आग्रह गरेको छ। वितरण प्रणालीलाई पारदर्शी बनाउन खरिदकर्ताको नाम र सम्पर्क नम्बरसहितको अभिलेख राख्न तथा ज्येष्ठ नागरिक, दीर्घरोगी र घरायसी उपभोक्तालाई प्राथमिकता दिनसमेत सङ्घले अनुरोध गरेको छ।
अत्यावश्यक उपभोग्य वस्तुका रूपमा रहेको ग्यासको सहज, पारदर्शी र व्यवस्थित आपूर्ति तथा न्यायोचित वितरणमा सहयोग गरी जिम्मेवार नागरिक र असल व्यवसायीको दायित्व निर्वाह गर्न सङ्घले सबैमा आग्रह गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी…





