भलामको महामाया मन्दिर परिसरमा वृक्षरोपण


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. २०, भलामस्थित महामाया मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ ।

स्थानीय भलाम डाँडाखोर बहुद्धेश्यीय सहकारी संस्थाले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेको सो कार्यक्रममा रुद्राक्ष,वेलपत्र, पारिजात, गुलमोहर,धुपीसहित बिभिन्न प्रजातीका फलफुल गरी एक सय बढी विरुवा रोपिएको संस्थाले जनाएको छ । यसअघि कार्यक्रमको शुभारम्भ गर्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले वातावरण र पर्यावरणको संरक्षणका लागि नियमित रुपमा वृक्षरोपण गर्नुपर्नेमा जोड दिए । उनले सहकारी संस्थाले आर्थिक क्रियाकलाप मात्र नगरी वातावरणीय संरक्षणका क्षेत्रमा पनि काम गरेको भन्दै प्रशंसा गरे । सहकारीका अध्यक्ष तुलसीप्रसाद तिमिल्सेनाले वृक्षरोपण गरेर मात्र दायित्व पुरा नहुने बताउँदै, यसको रेखदेख र संरक्षण आवश्यक रहेको बताए ।

सहकारीका व्यवस्थापक उत्तमबहादुर क्षेत्रीले सहकारीले कृषि तथा दुग्ध र पशुपालनका क्षेत्रमा लगानी गरेको बताउँदै, संस्थामा हाल करिब १ हजार ३ सय सदस्य आवद्ध रहेको जानकारी दिए । सहकारीका अध्यक्ष तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन हिमबहादुर बस्नेतले गरेका थिए । यसैबिच वडा कार्यालय पोखरा २० ले शनिबार सार्वजनिक सुनुवाई गर्ने जनाएको छ । सो कार्यक्रममा वडाले गत आर्थिक वर्षमा वडाबाट सम्पन्न योजना र बाँकी रहेका योजनाको विषयमा वडाबासीलाई जानकारी गराउने बताईएको छ ।

वडाध्यक्ष खत्रीले यस वर्ष सम्पन्न गरिने कार्यक्रमसहित भावी योजनाका विषयमा पनि जानकारी गराईने बताए । वडा कार्यालय परिसरमा कार्यक्रमको आयोजना हुने उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।