पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन शुरु, बाढी पीडितको पुर्नस्थापनाका लागि अन्र्तराष्ट्रिय समुदायलाई गुहारेका छौं : अध्यक्ष श्रेष्ठ

- पोखरा उद्योग वाणिज्य संघको निर्वाचन भोलि, अध्यक्षका लागि ४ जना उम्मेदवार


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ

पोखरा, भदौ २०

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित जनताको राहत तथा पुर्नस्थापनाका लागि मन फुकाएर सहयोग गर्न आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्यको ३६ औं अधिवेशनको उद्घाटन गर्दै उनले भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोटदेखि धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरसम्मका नागरिक प्रभावित भएको भन्दै उनीहरुको पुर्नस्थापनाका लागि मन फुकाएर सहयोग गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका हुन् । बाढीका कारण त्यस क्षेत्रको जनजीवन कहालीलाग्दो रहेको बताउँदै उनले भने,‘पुर्ननिर्माणका लागि सरकारसँग मिलेर काम गर्छौं, तपाईं सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई पनि मनकारी मन लिएर सहयोग गर्नूस् ।

अध्यक्ष श्रेष्ठले यस कार्यमा सहयोगका लागि महासंघले अन्र्तराष्ट्रिय समुदायलाई गुहारेको पनि बताए । विश्वका ७० वटा उद्योग, वाणिज्य संघहरुलाई सहयोगका लागि पत्र लेखेर पठाइसकेका छौं,उनले भने,‘सो पत्रमा नेपाललाई सहयोग चाहिएको छ, तपाईंहरुले सहयोग गर्दिनूस् भनेर पठाएका छौं ।’

अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमनदी फुट्ने समस्या र त्यसले नेपाललाई गरेको असरबारे सोंच्नुपर्ने बेला आएको बताए । हुन त मानव सभ्यता नदीबाटै शुरु भएको हो,उनले भने,‘तर पर्यावरणीय जुन समस्या नेपालले भोगिरहेको छ, यसबारे नेपालले सोंच्नुपर्ने अवस्था आएको छ । विपद निम्त्याउने ठाउँमा अझै पनि हिमतालहरु छन् । यसको व्यवस्थापन कसरी गर्ने ? यसबारे राज्यले गम्भीर भएर सोंच्नुपर्ने, समाजले सोंच्नुपर्ने र नीजि क्षेत्रले सोंच्नुपर्नेछ ।’ उनले जलवायु परिवर्तनमा नेपालको भूमिका एकदमै न्यून ०.०४ प्रतिशत मात्रै भए पनि असर भने ठूलो मात्रामा भोगिरहेको बताए ।

महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नीजि क्षेत्रको सुरक्षाका लागि महासंघ र संघले आवाज बुलन्द गर्नुपर्ने बताए । राजनीतिक उथलपुथल हुँदा होस् वा प्राकृतिक विपदमा होस्, उद्योगी, व्यवसायी समस्यामा पर्दै आएका छन्,उनले भने,‘त्यसैले लगानी सुरक्षाको वातावरण निर्माणमा महासंघ, संघले भूमिका खेलोस् ।’ उनले प्राकृतिक विपत्तीका कारण पर्यटन क्षेत्र तहसनहस हुने अवस्था रहेको बताए । भने,‘आज पर्यटक आउने स्थिति छैन, उनीहरु आउनेवाला पनि छैनन्, पर्यटक आएनन् भने पोखराको अर्थतन्त्रमा कस्तो असर गर्ला ? यसबारे चिन्तन्मनन् गर्ने गराउनेतर्फ लाग्नुपर्नेछ ।’

नेपाल पर्यटन वोर्डका कार्यकारिणी सदस्य सन्तोष पोखरेलले प्राकृतिक विपत्ती गएको क्षेत्रबाहेक अन्य क्षेत्र खुल्ला रहेको सन्देश दिनुपर्ने बताए । विपदका कारण पोखराको पर्यटन क्षेत्र खस्किएको बताउँदै उनले भने,‘पोखरासहित समग्र नेपालको पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारमा योगदान दिने वाचा गर्दछु ।’

अध्यक्षको दौडमा चार उम्मेदवार

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाबीच प्रतिष्पर्धा हुँदैछ । आगामी २ वर्षे कार्यकालका लागि संघको अध्यक्षमा दुई प्यानलसहित ४ जनाबीच प्रतिष्पर्धा हुन लागेको हो । अध्यक्षका उम्मेदवार द्वय बलराम आचार्य र शोभा गौतमले प्यानलसहित तथा उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्दैछन् ।

अध्यक्षका उम्मेदवार बुद्धाचार्य सदस्य, वाणिज्य उपाध्यक्षहुँदै हाल बरिष्ठ उपाध्यक्ष छन् । एलिगेन्स ट्रेड सेन्टरका सञ्चालक उनी सुनचाँदी व्यवसायी पनि हुन् । रियलस्टेट, पर्यटन व्यवसायलगायत आधा दर्जन संस्थाका सञ्चालक पोखरेल तेस्रोपटक अध्यक्षका प्रत्यासी बनेका छन् । दुई पटक पराजय बेहोरिसकेका उनी यसअघि सदस्य, उप–महासचिव, महासचिव भइसकेका छन् ।

अध्यक्षमा प्यानलसहित उम्मेदवारी दिएका आचार्य आचार्य सप्लायर्सका सञ्चालक हुन् । सदस्य, कोषाध्यक्षहुँदै उपाध्यक्ष (वाणिज्य) भइसकेका उनी अध्यक्षका दाबेदार बनेका हुन् । प्यानलसहित उम्मेदवारी दिएकी गौतम पुष्पाञ्जली ईभेन्ट सेन्टर, लुब्रिकेन्ट्स बेच्ने सुप्रिम सप्लायर्सलगायत ४ संस्थाकी सञ्चालक हुन् । वर्तमान कार्य समितिका महासचिव रहेकी गौतम पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ईतिहासमा पहिलो महिला अध्यक्ष बन्ने अठोट लिएर मैदानमा उत्रिएकी छन् । उनी यसअघि सदस्य, उप–महासचिव पनि भइसकेकी छन् ।

अध्यक्षमा चार जनाबीच प्रतिष्पर्धा भए पनि अन्य पदाधिकारीमा भने आचार्य र गौतमको प्यानलबीच प्रतिष्पर्धा हुँदैछ । संघको बरिष्ठ उपाध्यक्षका लागि आचार्य प्यानलबाट दीनेशचन्द्र बास्तोला र गौतम प्यानलबाट टीकाराम सुवेदी प्रतिष्पर्धामा छन् । सुवेदी वर्तमान कार्यसमिति सदस्य हुन् भने बास्तोला उद्योगतर्फका उपाध्यक्ष हुन् ।

उद्योगतर्फको उपाध्यक्षका लागि आचार्य पयानलबाट ललितबहादुर कुवँर र गौतम प्यानलबाट सौगात थापा प्रतिष्पर्धामा छन् । थापा र कुँवर दुबै वर्तमान कार्य समिति सदस्यहरु हुन् । वाणिज्यतर्फको उपाध्यक्षका लागि आचार्य प्यानलबाट मनोजकुमार श्रेष्ठ र गौतम प्यानलबाट भीम गौतम उम्मेदवार छन् । गौतम वर्तमान कार्य समिति सदस्य हुन् भने श्रेष्ठ कोषाध्यक्ष हुन् ।

महासचिवमा आचार्य प्यानलबाट सुदीप प्रधानाङ्ग र गौतम प्यानलबाट तारानाथ ढुंगाना उम्मेदवार छन् । महासचिवका उम्मेदवार प्रधानाङ्ग वर्तमान उप–महासचिव तथा ढुंगाना यसअघि पनि महासचिवमा पराजित उम्मेदवार हुन् ।

कोषाध्यक्षमा आचार्य प्यानलबाट देवेन्द्र प्रजु र गौतम प्यानलबाट जीवनप्रकाश श्रेष्ठबीचप प्रतिष्पर्धा हुँदैछ । प्रजु र श्रेष्ठ दुबै वर्तमान कार्य समिति सदस्य हुन् ।

उप–महासचिवमा भने ३ जनाबीच प्रतिष्पर्धा हुँदैछ । उप–महासचिवमा आचार्य प्यानलबाट प्रदीप राजभण्डारी, गौतम प्यानलबाट यादवप्रसाद पोखरेल र स्वतन्त्रबाट रामचन्द्र तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । उप–महासचिवका उम्मेदवार तीनैजना वर्तमान कार्यसमिति सदस्यहरु हुन् ।

खुल्ला सदस्यमा गोविन्दबहादुर केसी, मनोहरी पौडेल, नवीन नापित, एकनारायण गौतम, रामप्रसाद कँडेल, दुर्गा बराल, सूर्यराज घिमिरे (सुरेश), कमलबहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रामेश्वर अधिकारी, निर्मला चापागाईं, दिलिपकुमार श्रेष्ठ र हरिप्रसाद अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ ।

यसअघि वस्तुगत चार सदस्यमा लक्ष्मीप्रसाद अधिकारी, केशव ढकाल, लालप्रसाद ढकाल र मुक्तिप्रसाद पनेरु तथा उद्योगतर्फको एक सदस्यका लागि पिताम्बर अधिकारी सर्वसम्मत भइसकेका छन् ।

२०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्था संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।