बाढीपीडितका लागि लामाचौर नेवाः खलद्वारा ५५ हजार ५५५ रुपैयाँ सहयोग


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०८३ मा प्रकाशित




लामाचौर नेवाः खलः गुठी कास्कीले रसुवा भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।

गुठीले आफ्ना ४० घरधुरी सदस्यहरूबाट संकलित ५५ हजार ५५५ रुपैयाँ कोषको हिमालयन बैंकमा रहेको खातामा सोमबार जम्मा गरेको गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए । गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण सयौं मानिसको ज्यान गएको, हजारौं प्रभावित तथा बेपत्ता र ठूलो मात्रामा भौतिक क्षति पुगेपछि देश नै शोकमा रहेका बेला सामाजिक उत्तरदायित्वस्वरुप गुठीले सहयोग गरेको हो ।परम्परा र संस्कृतिको संरक्षणसँगै विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु समुदायको महत्वपूर्ण दायित्व भएको जनाउँदै गुठीले आगामी दिनमा समेत सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गुठीले दिवंगतप्रति भावपूर्व श्रद्घाञ्जलीसहित पीडित परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासहित बेपत्ताको खोजीमा सबैजना जुट्न आग्रह गरेको छ । पोखरा महानगरपालिकाको प्रवद्र्धनमा, नेवाः खलः कास्कीको आह्वानमा लामाचौर नेवाः खलः गुठीले पोखरामा २७ औं तायाः मचा नृत्य प्रतियोगिता गर्दैछ । भदौ २० मा तय भएको उक्त प्रतियोगिता देशमा परेको विपत्ति र असहज परिस्थिति कारण मिति परिवर्तन गरिएको गुठीका सचिब योगेन्द्र श्रेष्ठले बताए ।

लामाचौर मिसः पुचः र लामाचौर ल्याम्ह पुचःको सहआयोजनामा हुने सो प्रतियोगिता अब असोज ३ गते शनिबार लामाचौरमा हुने मूल समारोह समिति संयोजक सुशीलकुमार श्रेष्ठले बताए । गुठीले प्रतियोगिता मिति परिवर्तन भएको जानकारी गराउँदै सम्पूर्ण सहभागी, शुभेच्छुक तथा सम्बन्धित सबैमा असोज ३ गते उपस्थित हुन अनुरोध समेत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।