पोखरा, ३ असोज। तमु धिं नेपालको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।
तमु धिं नेपालको असोज ९ र १० गते पोखरामा हुने ४२औँ वार्षिक साधारणसभा तथा १७औँ महाधिवेशनअन्तर्गत निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार शनिबार पदाधिकारीका लागि एकल उम्मेदवारी दर्ता भएपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित भएको औपचारिक घोषणा भने असोज ९ गते गरिने प्रमुख निर्वाचन अधिकृत एवं तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङले बताए।
निर्वाचन कार्यक्रमअनुसार अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्षमा गीमाया गुरुङ, प्रथम उपाध्यक्षमा अधिवक्ता जुनाकुमारी गुरुङ, द्वितीय उपाध्यक्षमा गोपाल गुरुङ, महासचिवमा कृष्णकुमार गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा बालकुमारी गुरुङ, कोषाध्यक्षमा जगतबहादुर गुरुङ र सहकोषाध्यक्षमा काशीमाया गुरुङको एकल उम्मेदवारी परेको थियो।
कास्कीको मादी गाउँपालिका–२ ताङतिङका श्रीप्रसाद गुरुङ भारतीय सेनाबाट सुवेदार मेजर दर्जामा सेवा निवृत्त हुन्। उनी तमु धिं नेपालका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन्। यसअघि उनले दुई कार्यकाल कोषाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए। उनले ताङतिङ दूधपोखरी तमु समाज पोखराको समेत नेतृत्व गरिसकेका छन्।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले लगातार दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेपछि अग्रज तथा अनुभवी श्रीप्रसाद गुरुङलाई नेतृत्व हस्तान्तरण गर्न पहल गरेका थिए। अन्य पदाधिकारीमा समेत सर्वसम्मति कायम गर्न पटकपटक गरिएको पहलपछि नेतृत्व निर्विरोध चयन भएको हो।
२०४२ साल जेठ ५ गते स्थापना भएको तमु धिं नेपालको १७औँ महाधिवेशन सम्पन्न गर्न संस्थापक उपाध्यक्ष शंकर गुरुङको प्रमुख निर्वाचन अधिकृतत्वमा निर्वाचन समिति गठन गरिएको छ। समितिमा पूर्वउपाध्यक्ष अधिवक्ता अनिता गुरुङ, पूर्वमहासचिव रुद्रकुमारी गुरुङ ‘मैना’, संरक्षक परिषद्का सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ र समाजसेवी क्या. चन्द्रप्रसाद गुरुङ छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ३। तेस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता–२०८३ को इन्स्योरेन्स पार्टनरमा…






