गण्डकी सरकारले बनायो घुसकाण्ड छानविन समिति, अख्तियारलाई पनि छानविनका लागि आग्रह गरिने


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज ५

गण्डकी प्रदेश सरकारले पोखराको पद्मनर्सिङ होम प्रालिको स्तरबृद्धिको नवीकरण गर्नका लागि बार्गेनिङ भएको घुसकाण्डको गण्डकी प्रदेश सरकार आफैले पनि छानविन गर्ने भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि छानविनका लागि गुहार्ने भएको छ । गण्डकी प्रदेश सरकारको आईतबार साँझ बसेको मन्त्री परिषद बैठकले सो घुसकाण्डको छानविन गर्न एक समिति बनाउनुका साथै अख्तियारलाई पनि छानविनका लागि आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो ।

मन्त्री परिषद बैठकले प्रदेश स्वास्थ्य मन्त्रालयबाट पछिल्लो दुई वर्षमा प्रदान गरिएका अनुमति वा अस्पताल स्तरोन्नतीको कानूनी व्यवस्था, अभ्यासलगायतका विषयमा छानविन गर्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिवको नेतृत्वमा ३ सदस्यीय छानविन समिति बनाएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले जानकारी दिए । छानविन समितिको सदस्यमा को को रहनेछन् भन्ने खुलाइएको छैन । ‘छानविन समितिलाई १५ दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ’–उनले भने ।

त्यस्तै, मन्त्री परिषद बैठकले घुस काण्डमा मुछिएका स्वास्थ्य मन्त्रालयका सचिव बसौलाको जिम्मेवारी खोसेको छ । अर्को व्यवस्था नहुन्जेलसम्मका लागि जिम्मेवारी खोसेर उनलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा काजमा हाजिर गराउने निर्णय भएको मन्त्री शेरचनले बताए ।

मन्त्री परिषद बैठकले घुस बार्गेनिङमार्फत स्तरबृद्धिको अनुमति दिइएको पद्मनर्सिङ होमको नवीकरण गर्ने निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ । मन्त्री शेरचनले भने,‘सो विषय छानविनको चरणमा रहेकोहुँदा उक्त अनुमती कार्यान्वयन नगर्ने, नगराउने वा स्थगन गर्ने निर्णय बैठकले गरेको छ’–उनले भने ।

सो ५० शैयाको अस्पताल स्तरोन्नती गरि १ सय शैयाको बनाउन दिइएको ६ महिने परीक्षण काल सकिएपश्चात नवीकरण गर्ने क्रममा तत्कालीन प्रदेश मन्त्री लक्ष्मणबहादुर पाण्डेसहित उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव युवानिधि बसौलाले ३० लाख रुपैयाँ घुस मागेको अडियो भिडियो (श्रव्यदृश्य) सार्वजनिक भएको थियो । सो अडियोभिडियोमा मन्त्री क्वार्टरमै पैसाको बार्गेनिङ भएको देखिन्छ भने उक्त रकम लिन मन्त्रीका स्वकीय सचिव पौडेलले ताकेता गर्दै फोन सम्वाद गरेका थिए । बार्गेनिङ गरेको अडिभिडियोमा मन्त्री र स्वकीय सचिवले आर्थिक लेनदेनका लागि बार्गेनिङ गरे पनि रकम लिएको अस्वीकार गरेका छन् । उनीहरुले मन्त्रालयका सचिव बसौलाले रकम मागेकाले सोहि अनुसार आफूहरुले आर्थिक लेनदेनको कुरा गरेको आरोप लगाएका छन् ।

तर सचिव बसौलाले भने आफूले कसैसँग पनि आर्थिक लेनदेनको कुरा नगरेको भन्दै घुस बार्गेनिङको आरोप अस्वीकार गरेका छन् ।

यसअघि यहि घुस काण्डबारे छानविन गर्न नेकपा एमाले संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा एमालेले पनि छुट्टै छानविन समिति गठन गरिसकेको छ । सो समितिले छानविन शुरु गरिसकेको बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।