सडक पुनःनिर्माण तथा मर्मतका लागि एनटिभिएको सहयोग


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०८३ मा प्रकाशित




नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले गत साउनमा आएको विनासकारी बाढीका कारण क्षतिग्रस्त बिरेठाँटीहुँदै घोरेपानी, अन्नपूर्ण आधार शिविर जाने बाटोको पुनःनिर्माण एवम् मर्मतका लागि ५१ हजार १११ रुपैयाँ हस्तान्तरण गरेको छ ।

संस्थाका कार्यसमिति तथा व्यवसायी सदस्यहरूसँग सहयोग रकम संकलन गरी उक्त रकम आज आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष रविप्रसाद आचार्यले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुवहादुर केसी र वडा नं ७ का वडा अध्यक्ष एवम् प्रवक्ता भरत गुरुङलाई उक्त रकम बराबरको चेक स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता अन्नपूर्ण गाउँपालिका कास्कीमा जम्मा हुने गरी हस्तान्तरण गरे । अध्यक्ष आचार्यले प्राकृतिक रुपमा आइपर्ने विपत्तिमा राज्यको मुख मात्रै नताकी समाजिक संघसंस्था एवम समुदायको एकतावद्ध प्रयास आवश्यक हुनेमा जोड दिए । कार्यक्रमकै अवसरमा उक्त क्षेत्रमा पर्यटक यातायात सञ्चालन गरिरहँदा भोग्ने गरिएका विभिन्न कठिनाई सम्बन्धमा पनि गाउँपालिका अध्यक्ष केसीलाई जानकारी गराइएको थियो ।

पर्यटनको विकासले सबैमा फाइदा पुग्ने बताउँदै अध्यक्ष आचार्यले स्थानीय समुदाय, स्थानीय यातायात व्यवसायीसँगै पर्यटक यातायात व्यवसायी सबैले मिलेर यस क्षेत्रको विकासमा टेवा पुर्याउन सकिने धारणा राखे । गाउँपालिका अध्यक्ष केसीले सडकको पुनःनिर्माण एवम् मर्मतका लागि गरिएको सहयोग प्रति आभार व्यक्त गर्दै एनटिभिएका तर्फबाट उठाइएका विषयलाई गम्भीरताका साथ लिदै समस्या समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमको संयोजन संस्थाका महासचिव श्याम लामिछानेले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।