पोखरा हङकङ बजारमा अचाक्ली भाडा वृद्धि गरेको व्यवसायीको गुनासो

- बिचौलियाको बिगबिगी अन्त्य गर्न सरकारसँग माग


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, बैशाख १३

पोखराको पृथ्वीचोकस्थित हङकङ बजारका सटरहरुको भाडा अचाक्ली वृद्धि गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । सो बजारका व्यवसायीहरुको साझा संस्था पोखरा हङकङ बजार व्यवस्थापन समितिले आईतबार पत्रकार सम्मेलन गरेर हालको भाडामा ५ देखि १२ गुणासम्म सटर भाडा बृद्धि हुनेगरी टेण्डर आह्वान हुँदा व्यवसायी व्यवसायबाटै पलायनको अवस्थामा पुगेको जानकारी गराएको हो ।

यो पोखरा हङकङ बजार पोखरा उपत्यका नगर विकास समितिको ३ रोपनीसहित कुल १० रोपनी जग्गामा सञ्चालित बजार हो । यो बजार सस्तो बजारका रुपमा परिचित छ । सटर भाडा सस्तो भएकाले उपभोक्ताले पनि सामान सस्तो पाउने गरेका छन् । भाडादर २०६९ सालमा स्थापित यो बजारमा ४ सय व्यवसायी रहेका छन् । पटकपटक ठेकेदार कम्पनी र व्यवसायीबीच विवाद हुँदै आएको यस बजारमा हाल ठेकेदार कम्पनीले चार गुणा बढी भाडा तिरेर ठेक्कामा लिएको बताइएको छ । पहिले सस्तोमा ठेक्कामा लाग्दै आएको यो बजारमा अहिले एक्कासी चार गुणा बढी रकममा ठेक्कामा गएपछि त्यसको मार व्यवसायीलाई पर्ने व्यवसायीको तर्क छ । केहि वर्ष अघिसम्म यो बजार वार्षिक ३ लाखमा भाडामा लाग्दै आएको थियो भने पछिल्लो पटक ११ लाख ७१ ह्जार १ सय ५ रुपैयाँ कायम थियो । तर यस वर्ष भने ५ वर्षका लागि १ करोड ६२ लाखमा टेण्डर पारेर सम्झौता भएपछि व्यवसायी भाडा बढ्ने त्रासमा रहेको समितिले जनाएको छ । बिचौलिया कम्पनीहरुले मिलेमतोमा टेण्डर पारेर बजार हडप्न लागेको समितिको आरोप छ ।

ठेकेदार कम्पनीले नै बढी भाडा तिरेर लिएकाले व्यवसायीलाई सटर भाडामा १० गुणासम्म सटर भाडा बढाउनेहुँदा आफूहरु बिस्थापनको जोखिममा परेको पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए । टेण्डरमार्फत बजार भाडामा पाउने कम्पनीले सटर भाडा बृद्धि गर्ने बताइसकेको र त्यसले व्यवसायीहरु त्रसित अवस्थामा रहेको उनले बताए । ‘अत्यधिक भाडा बृद्दिले साना व्यवसायी बिस्थापित हुने जोखिम बढेको छ’–उनले भने । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) र त्यसपछिको आर्थिक मन्दीका कारण संकटमा परेका व्यवसायी अहिले भएको भाडा बृद्धिले थला परेको उनले बताए । उनका अनुसार बढेको भाडा बृद्धि लागु भए ३० देखि ४० प्रतिशत व्यवसायी बिस्थापित हुनेछन् ।

बजार व्यवस्थापन समितिले भाडा दर पुनरावलोकन गर्न माग गरेको छ । समितिका अध्यक्ष श्रेष्ठले भाडादर वैज्ञानिक मापदण्डका आधारमा निर्धारण गर्न माग गरे । साना व्यवसायीलाई संरक्षण गर्ने नीति ल्याएर भाडादर निर्धारण गर्नुपर्ने उनको भनाई छ । बिचौलिया हाबी हुँदा व्यवसायी बिस्थापनको जोखिममा परेको भन्दै बरु सरकारले नै व्यवस्थापन गरिदिए व्यवसायी बाँच्ने उनको भनाई छ । बरु पोखरा उपत्यका नगर विकास समिति वा पोखरा महानगरपालिका आफैले चलाओस्,उनले भने,‘यसो गरेमा बिचौलियाले कमाउने पैसा सरकारको नाममा जान्छ । रोजगारी पनि सिर्जना हुन्छ ।’ उनले आफूहरु सिधै सरकारलाई भाडा बुझाउन तयार रहेको बताए । हामी सरकारलाई सिधै भाडा बुझाउन तयार छौं,उनले थपे,‘तर बिचौलियाको बिगबिगी अन्त्य गरोस् सरकारले ।’

व्यवसायीहरुले आफूहरुको माग पूरा नभए आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् । समितिका सचिव दीनेश आचार्यले आफूहरुको माग पूरा नभएको आन्दोलन गर्नुको विकल्प नभएको बताए । भने,‘व्यवसायी बचाउने सरकारको काम हो । शान्तिपूर्ण रुपमा माग गर्दा पनि जबरजस्ती भाडा बृद्धि गरे बाध्य भएर आन्दोलनमा होमिनुपर्ने हुन्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।