अनलाईन स्क्याम गरी पोखरामा करिब १० लाख रुपैयाँ ठगी


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०८३ मा प्रकाशित




पोखराको प्रस्याङमा रहेको ओएसिस टुरिजम इन्टरनेशनलले बिभिन्न प्रलोभनमा पारेर ३० जनालाई ठगी गरेको खुलासा भएको छ ।

सो संस्थाले एसिया र युरोपका देशहरुमा घुम्न लैजाने भनी स्क्याम गरी ३० जना व्यक्तिबाट करिब १० लाख रुपैयाँ ठगी गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार दिउँसो सो संस्थामा छापा समेत मारेको थियो । सो क्रममा बिभिन्न देश घुमाउने लोभ देखाई ३० जना व्यक्तिबाट ९ लाख ६५ हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए । ठगीमा संलग्न एक भारतीय सहित २ जना व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको कर्नाटक राज्यस्थित महेश्वर जिल्ला शान्तिनगरका मोहम्मद यासिर र सप्तरीको कञ्चनपुर नगरपालिकाका विवेक रेग्मी रहेका छन् ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान गरी कारवार्ही प्रक्रिया अघि बढाईएको छ । उनीहरुले १५ जना युवायुवतीलाई रोजगारीको नाममा बिभिन्न व्यक्तिलाई सम्पर्क गरी भ्रमण प्याकेजको अनलाईन फर्म भर्न लगाउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय, बैदामबाट खट्टिएको टोलीले संस्थाबाट कम्प्युटर, मनिटर २ थान, रजिष्टर तथा रेकर्ड बुक ८ थान, कुपन रसिद ६ थान, संस्थाको छाप ४ थान र विभिन्न व्यक्तिहरुको नाममा काटिएका कुपनहरुको अर्धकट्टी नियन्त्रणमा समेत लिएको छ । त्यहाँ कामदारका रुपमा रहेका १५ जनालाई प्रहरीले सचेत गराएको छ ।

प्रहरीले १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई अवैधानिक क्रियाकलापमा संलग्न गराएको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।