अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले जनजीवन प्रभावित बनाएको छ ।
गएराती परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा पहिरोले मानविय क्षती समेत हुन पुगेको छ । रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार राति रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उनकी श्रीमती शनी घर्तीमगर र उक्त घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगरसमेत पुरिएका छन् । प्रहरीले स्थानीयको सहयोगमा पहिरो हटाउने तथा खोजी गर्ने कार्य जारी राखेको छ ।

यसैगरी, सुनछहरी गाउँपालिका–२ गिट्ठे गाउँमा समेत लादे बुढामगरको घरसमेत पहिरोले पुरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । प्रहरी टोली घटनास्थलतर्फ गएको बताईएको छ । यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा गए राति आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका तीन जनाको आज सकुशल उद्धार गरिएको छ ।
उद्धार टोलीको समयमै परिचालन डोरी र विशेष उद्धार उपकरणबाट गरिने उद्धार ‘रोप रेस्क्यु’ प्रविधिको प्रयोगबाट मन्दिरमा अलपत्र परेका तीनै जनाको सकुशल उद्धार सम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उद्धार गरिएकाहरुमा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित विरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय निर्माण गिरी छन् । अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित नयाँपुल–विरेठाँटी सडकखण्ड नजिकै मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढी पसेपछि उनीहरु अलपत्र परेका थिए ।

बाढीले मन्दिरमा आवतजावत गर्न प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुईवटा पुलसमेत बगाउनुका साथै मन्दिरको केही भागमा क्षति पु¥याएको थियो । खोलाको बहाव तीव्र भएपछि मन्दिरमा रहेका तीन जनाको तत्काल उद्धार आवश्यक परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको उद्धार टोली परिचालन गरिएको सहायक प्रजिअ बरालले जानकारी दिए ।
घटनाबारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिकाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १३ जनाको रोप रेस्क्यु तथा गोताखोर टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन भएको थियो । नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १६ जनाको टोलीसमेत उद्धारमा खटिएको प्रहरीले जनाएको छ । बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडकखण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडकसमेत बगेको छ । सडक बगेपछि उक्त सडकखण्डमा यातायात आवागमन अवरुद्ध भएको छ ।
यसैगरी नयाँपुल क्षेत्रमा रहेको विद्युत् पोलसमेत बाढीले बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन् । बाढीका कारण सडक तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि स्थानीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ । घटनाको विस्तृत क्षति विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनको काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी महिलाको शव भेटिएको छ । गएराति अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापाको शव भेटिएको हो ।
बेपत्ता थापाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय खटिएका थिए । पहिरोले पुरिएको घरभित्र थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए । पहिरोका कारण उक्त बस्तीका अन्य घर पनि जोखिममा रहेका स्थानीय दीपेन्द्र थापाले बताए । पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोमा परी स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत कास्कीका किसानलाई रु…





