सन्देश श्रेष्ठ
पोखरा, भदौ १५
गण्डकी प्रदेश सरकारले रसुवा बाढीका कारण ज्यान गुमाउने गण्डकी प्रदेश भित्रका मृतकका परिवार र बेपत्ता परिवारलाई एक÷एक लाख दिने भएको छ । गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउने गण्डकी प्रदेश भित्रका मृतक र बेपत्ता परिवारलाई एक÷एक लाख दिने निर्णय गरेको हो ।
त्यस्तै, घाईतेको उपचारका लागि जनही ५० हजारका दरले सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले जानकारी दिए । उनका अनुसार मृतक परिवारलाई किरिया खर्च बापत थप २५ हजार उपलब्ध गराउनेसमेत निर्णय भएको छ । यसैगरी, रसुवा बाढीमा परेर घाईते वा विरामी भएका गण्डकी प्रदेशका नागरिकलाई पोखराबाट घरसम्म पु¥याउन सवारी साधनको व्यवस्था पनि गर्ने निर्णय भएको उनले बताए ।
मृतक तथा बेपत्ता परिवारलाई नगद सहयोग गर्ने निर्णय गरेको गण्डकी सरकारसँग रसुवा बाढीमा परेर कति संख्यामा आफ्ना नागरिकले ज्यान गुमाए र कति बेपत्ता छन् भन्ने यकीन तथ्याङ्क छैन । त्यो संख्या खोज्ने तदारुकता वा पहल गण्डकी सरकारले गरेको पनि देखिदैन । बरु नेपाल प्रहरीको गण्डकी प्रदेश कार्यालयले भने रसुवा बाढीमा परेर प्रभावित भएका गण्डकीका नागरिकको अभिलेख राख्ने प्रयास गरेको छ । सो कार्यालयका अनुसार हालसम्म गण्डकीमा ३ सय ३५ वटा शव प्राप्त भएका छन् । जसमध्ये १ सय ५३ वटा शव गण्डकी प्रदेशकै गोरखा, तनहुँ र नवलपुरमा प्राप्त भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णप्रसाद कोईरालाले जानकारी दिए । यसमध्ये कति नागरिक गण्डकीका हुन् भन्ने यकीन छैन,उनले भने,‘हामीले फेला पारेर र अन्य प्रदेशका जिल्लाबाट ल्याइएका शव कसको हो भन्ने छुट्टिसकेको छैन ।’ उनले हालसम्म पहिचान भएका २० वटा शव आफन्तलाई बुझाईसकेको पनि जानकारी दिए ।
गण्डकी सरकारले बाढीमा फसेका नागरिकको उद्धारका लागि संघ सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ । नागरिकको उद्धारमा ढिलाई नहोस् भन्नेमा गण्डकी सरकार सचेत छ,बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री शेरचनले भने,‘त्यसका लागि सबैसँग समन्वय गरेर उद्धार प्रभावकारी बनाउने निर्णय भएको छ ।’ त्यस्तै, बाढी पीडितको राहतका लागिसमेत समन्वय गर्ने निर्णय भएको उनले बताए । ‘उद्धारपश्चात कसैको पनि बिचल्ली हुन नदिन समन्वय गर्ने भन्ने छ’–उनले भने ।
यसैबीच, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–७ र ८ को सिमाना बिरेठाँटीस्थित बाटो पुर्ननिर्माणका लागि गण्डकी सरकारले तारजाली उपलब्ध गराउने भएको छ । मोदी खोलाले बगाएको सो बाटोमा तारजाली लगाउनका लागि गण्डकी सरकारले तारजाली उपलब्ध गराउने र बाटो निर्माणका लागि नेपाली सेनाले सहजीकरण गर्ने मन्त्री शेरचनले बताए । गण्डकी सरकारले तारजाली उपलब्ध गराउँछ,उनले भने,‘बनाउनका लागि नेपाली सेनाले सहजीकरण गर्नेछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशमा परेको प्राकृतिक विपद्का बेला राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा…






