जापानमा सक्रिय ३ वटा संस्थाले पुतलीबजार नगरपालिका–५ मा रहेको शीतला माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्याउने उद्देश्यले ती संस्थाले करिब ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उक्त सहयोग पूर्व विद्यार्थी मञ्चका अध्यक्ष सुभाष शर्माको संयोजनमा, जापानस्थित संस्थाका नेपाल प्रतिनिधि सुभाषबहादुर बोहरा तथा प्रेम रेग्मीको मध्यस्थतामा विद्यालयमा प्राप्त भएको जनाईएको छ ।सो रकमबाट विद्यालयमा विद्यार्थीको सिकाइ वातावरण थप व्यवस्थित र सिर्जनात्मक बनाउन खेलकुद सामग्री, कक्षाकोठा व्यवस्थापनका सामग्री तथा कला एवं चित्रकला सम्बन्धी सामग्री व्यवस्थापन गरिने भएको छ। यसअघि उक्त संस्थासँग सम्बन्धित चार जना जापानी नागरिकले शीतला माध्यमिक विद्यालयको भ्रमण गरी विद्यालय परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए। उक्त भ्रमणले विद्यालय र जापानस्थित संस्थाबीचको सम्बन्ध तथा आगामी सहकार्यका लागि सकारात्मक वातावरण निर्माण गरेको थियो।
विद्यालयको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै प्राप्त सहयोगलाई विद्यार्थीको सर्वाङ्गीण विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि, खेलकुदमा सहभागिता तथा कक्षाकोठाको सिकाइ वातावरण सुधारमा उपयोग गरिने विद्यालय तथा पूर्व विद्यार्थी मञ्चले जनाएको छ।पूर्व विद्यार्थी मञ्चले विद्यालयको आवश्यकता पहिचान गरी विभिन्न व्यक्ति, संस्था तथा समुदायसँग सहकार्य गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा सिर्जनात्मक विकासलाई निरन्तर अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ…






