पुम्दी-भुम्दी पर्वतीय दौडमा युनाइटेड अजोड इन्स्योरेन्स पार्टनर


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०८३ मा प्रकाशित




पोखरा, असोज ३। तेस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता–२०८३ को इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड जोडिएको छ। पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको प्रवर्धनलाई ध्यानमा राख्दै कम्पनीले यस वर्ष पनि प्रतियोगितासँग सहकार्य गरेको आयोजकले जनाएको छ।

प्रतियोगितासँग सहकार्य गर्ने सम्बन्धमा युनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक दीननाथ बरालले सम्झौतापत्रमा हस्ताक्षर गरे। प्रदेश प्रमुख पौडेलले प्रतियोगितासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै अघिल्लो वर्षदेखि सुरु भएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।

पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा असोज २४ गते शनिबार पोखरा–२२ स्थित विश्वशान्ति स्तुपदेखि विशाल महादेवको मूर्ति (पुम्दीकोट), पोखरा–२२ को वडा कार्यालय हुँदै कालाबाङ घरेडी बुद्धपार्कसम्म करिब ८ किलोमिटर दूरीमा पर्वतीय दौड हुनेछ।

प्रतियोगितामा खुला, महिला, यू–१६, विदेशी पर्यटक, भेट्रान्स तथा वडास्तरीय गरी ६ विधामा धावकले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक विधाका विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि दर्ता खुला गरिएको छ। खेलाडीको नाम दर्ता सुरु भइसकेको पोखरा प्रवर्धन केन्द्रका सचिव सागर सुनारले बताए। उनले इच्छुक खेलाडीलाई समयमै नाम दर्ता गराउन आग्रह गरे।

पुम्दी–भुम्दी क्षेत्रको खेल तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स हस्पिटालिटी पार्टनर, नेलम्बो नेपाल मेडिकल पार्टनर र पोखरा टेलिभिजन अफिसियल टेलिभिजनका रूपमा जोडिएका छन्।

प्रतियोगिता सफल बनाउन पोखरा महानगरपालिकाले प्रवर्धन गरेको छ। परिचय एड्भर्टाइजिङ, पोखरा महानगरपालिका–२२ वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीको अनुमतिमा पोखरा–२२ को समन्वयमा प्रतियोगिता हुनेछ।

बीमा सेवासँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय

नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विगत ३२ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीको प्रधान कार्यालय काठमाडौंको सुन्धारास्थित सिटिसी महलमा छ।

कम्पनीले सातवटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गरी १०५ भन्दा बढी शाखा, उपशाखा तथा बीमा काउन्टरमार्फत बीमा सेवा दिँदै आएको जनाएको छ। गण्डकी प्रदेशको प्रदेश कार्यालय पोखराको न्युरोडमा छ भने प्रदेशअन्तर्गत शाखा, उपशाखा तथा बीमा काउन्टर गरी १४ वटा कार्यालय सञ्चालनमा छन्।

बीमा सेवासँगै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यमा समेत योगदान गर्दै आएको जनाएको छ। पछिल्लो समय भदौ १० गते रसुवामा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख ७० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ। उक्त रकममध्ये कम्पनीका कर्मचारीको एक दिनको पारिश्रमिकबाट ६ लाख ७० हजार रुपैयाँ र कम्पनीको तर्फबाट २५ लाख रुपैयाँ रहेको छ। विपद्का समयमा प्रभावित नागरिक तथा समुदायलाई सहयोग गर्ने उद्देश्यले गरिएको उक्त योगदानले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता देखाएको कम्पनीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।