पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित भएका छन्। बिहीबार पोखरामा सम्पन्न संस्थाको २३औँ साधारण सभा तथा ११औँ अधिवेशनले तिवारीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
अध्यक्ष पदमा तिवारीले १३६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सानुबाबु सुनुवारले १२३ र खेमराज आचार्यले १४ मत प्राप्त गरे।
निर्वाचित अध्यक्ष तिवारीले पोखराको प्याराग्लाइडिङलाई व्यवस्थित र मर्यादित पेसाका रूपमा विकास गर्न विशेष भूमिका खेल्ने बताए। उनले सबैलाई मिलाएर संस्थाको नेतृत्व गर्ने बताए।
ना को प्रथम उपाध्यक्षमा विजय गौतम १६६ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी नारायण पराजुलीले १०६ मत प्राप्त गरे। महासचिवमा रोशन गौतम १९२ मतसहित निर्वाचित हुँदा कमला नेपालीले ७८ मत प्राप्त गरिन्।
सचिवमा शर्मिला शर्मा १६० मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी भुवन गाहाले ११६ मत प्राप्त गरे। कोषाध्यक्षमा रामचन्द्र सुवेदी ‘राजु’ १३१ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी सुरेश कुमार श्रेष्ठले ८४ र रेशमबहादुर थापाले ५१ मत प्राप्त गरे।
प्राविधिक उपाध्यक्षमा सुरेश थापा निर्विरोध निर्वाचित भए। सदस्यमा अमित थापा, लक्ष्मण कुँवर, प्रकाश भुजेल, युवराज गौतम, रेवतीरमण पराजुली, रविन अधिकारी र दीपक थापा निर्वाचित भएका छन्। संस्थाको निवर्तमान अध्यक्षमा अनिल केसी छन्। संस्थाको आमन्त्रित सदस्यमा प्याराग्लाइडिङ पाइलट्स क्लबका अध्यक्ष लक्ष्मणबहादुर थापा चयन भएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






