मुस्ताङमा तीन महिनामा आठ अर्ब ३२ करोड राजस्व जम्मा


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८३ मा प्रकाशित




मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको छ ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले उक्त राजस्व जम्मा गरेको हो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आव २०८३÷०८४ को साउन महिनादेखि असोज २७ गतेसम्म उक्त राजस्व जम्मा भएको जानकारी दिए । कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवमा रु नौ अर्ब राजस्व जम्मा गर्ने लक्ष्य राखेको छ । कार्यालयले तीन महिना नपुग्दै ९३.५३ प्रतिशत राजश्व जम्मा गर्न सफल भएको छ । लक्ष्य पूरा हुुन रु ६७ करोड १७ लाख अर्थात ७.४६ प्रतिशत मात्रै राजस्व जम्मा गर्न बाँकी छ । उल्लेखनीय राजश्व वृद्धि हुनुको मुख्य कारण तातोपानी नाका र रसुवागढी नाका बन्द भएकाले हो ।

तातोपानी र रसुवागढी नाका पूर्ण रुपमा बन्द हुँदा त्यहाँबाट हुने निकासी तथा पैठारी मार्ग कोरलानाका विकल्प बनेको छ । चालु वर्षको साउन महिनादेखि असोज २७ गतेसम्मको अवधिमा रु १९ अर्ब ४० करोड ६७ लाख बराबरको मालवस्तु पैठारी भएको छ । यसैगरी रु ३७ लाख ७८ लाख मूल्य बराबरको मालवस्तु नेपालबाट चीनतर्फ निकासी भएको भन्सार विभागले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।