श्रवणकुमार ज्येष्ठ नागरिक केन्द्रमा देउसी–भैलो, व्यवसायी दीपक कार्कीद्वारा १ लाख ११ हजार सहयोग


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०८३ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखराको बाटुलेचौरमा रहेको श्रवणकुमार ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा देउसी भैलोसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

केन्द्रमा सेवा लिईरहेका जेष्ठ नागरिकलाई सांस्कृतिक पर्वको महत्व र मनोरञ्जन दिलाउने उद्धेश्यले आयोजित कार्यक्रमको प्रमुख अतिथि पोखराका प्रतिष्ठित व्यवसायी दीपक कार्कीले उद्घाटन गरे । उनले नेपाली जनले मनाउँदै आईरहेका पर्वले समाजमा एकता, भातृत्व र सामिप्यता प्रदर्शन गरेको बताए । सिटिजन फर्निचर उद्योगका संचालक समेत रहेका उनले जेष्ठ नागरिकको सम्मान र संरक्षणले मात्र समाज सभ्य बन्ने बताउँदै, केन्द्रले गरेको कार्यको प्रशंसा गरे ।सोही अवसरमा व्यवसायी कार्कीले केन्द्रका लागि १ लाख ११ हजार १११ नगद सहयोग हस्तान्तरण गरे । सो रकम उनले केन्द्रका अध्यक्ष दानबहादुर बानियाँलाई प्रदान गरेका थिए ।

कार्यक्रमका अवसरमा संस्थाका उपाध्यक्ष जगन्नाथ तिमिल्सिनाले १ लाख ११ हजार,धार्मिक एवं सामाजिक व्यक्तित्व लामाचौरका मदन बहादुर केसीले १ लाख ११ हजार १११ ,कमला लामिछानेले १ लाख ११ हजार १११, पोखरा १६ दीप निवासी नन्दा गुरूङ र क्या कृष्ण गुरूङले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा ५१ हजार आर्थिक सहयोग गरेको केन्द्रका सदस्य शिवराज देवकोटाले जानकारी दिए । सोही अवसरमा समाजसेवी ईन्द्रकुमारी बानियाँले जेष्ठ नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने उद्धेश्यले युरोगार्ड हस्तान्तरण गरिन् । केन्द्रका अध्यक्ष दान बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य शिवराज देवकोटा र समापन निर्माण संयोजक चित्र ब थापाले गरेका थिए ।

कार्यक्रममा पोखरा एकेडेमी बाटुलेचौर, गन्धर्ब समुुदाय विकास समाज, गन्धर्व आमा समूह, झलकमान संगीत पाठशाला लगायतका संस्थाहरूले सांस्कृतिक तथा देउसी, भैलो प्रस्तुत गरेर जेष्ठ नागरिकलाई मनोरञ्जन प्रदान गरेका थिए ।अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर गत असोज १७ गतेदेखि केन्द्र संचालनमा आएको हो । ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव र सीपको सदुपयोग गर्दै, उनीहरूको भेटघाट, मनोरञ्जन, स्वास्थ्य र सामाजिक अन्तरक्रियाका लागि सहज वातावरण प्रदान गर्न केन्द्र स्थापना गरिएको बताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।