बाटुलेचौरमा हुने बृहत खेलकुद कार्यक्रमको तयारी सुरु


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०८३ मा प्रकाशित




पुसको दोस्रो साता पोखरामा आयोजना हुने बृहत खेलकुद कार्यक्रमको तयारी सुरु भएको छ ।

भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले आगामी पुस ९ र १० गते पोखरा १६ स्थित ऐतिहासिक बाटुलेचौर खेल मैदानमा आयोजना गर्ने दुई दिवसीय कार्यक्रमको तयारी सुरु भएको मञ्चका अध्यक्ष हरिबहादुर वरुवालले जानकारी दिए । कार्यक्रम अन्र्तगत अन्तर विद्यालय जिल्ला स्तरीय सडक दौड र छात्रा भलिबल प्रतियोगिता रहेका छन् । छात्र–छात्रा सहभागी रहने ५ किलोमिटर सडक दौड र भलिबलका लागि कास्की जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयसँग समन्वय भईरहेको दौडका संयोजक राजु बहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार बढी भन्दा बढी विद्यार्थीको सहभागीता गराउने अभिप्रायले विद्यालयसँग समन्वय गरिएको जनाईएको छ ।

त्यस्तै छात्रा भलिबलका लागि पुस ८ गतेसम्म टिम दर्ताको समय तय गरिएको र बिभिन्न भलिबलका संस्थासँग समन्वय भईरहेको पनि संयोजक बलराम तिमिल्सीनाले बताए । छात्रा भलिबलका विजेताले नगद ५० हजार र उपविजेताले नगद २० हजार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने विद्यागत पुरस्कारको पनि व्यवस्था गरिएको मञ्चले जनाएको छ । छात्र–छात्रा सडक दौंड तर्फ प्रथम,दितीय, तृतीय, चौथो र पाँचौंले क्रमश: १० हजार, ७ हजार, ५ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

भलिबलका लागि ३ हजार र सडक दौंडका लागि ५० रुपैंया दर्ता शुल्क तोकिएको अध्यक्ष बरुवालले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न अध्यक्ष बरुवालको संयोजकत्वमा मुल समिति र बिभिन्न उपसमिति गठन गरिएको जनाईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।