गण्डकी । गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई प्रदान गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज पोखरामा आयोजित एक कार्यक्रममा पुनलाई उक्त सम्मान गरेका हुन । प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने घोषणा गत फागुन ४ मा गरिएको थियो । कार्यक्रममा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउनुभएको बताउँदै प्रशंसा गरे ।
शिक्षण पेसामा आवद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमासमेत यसले निरन्तरता पाउने उनले विश्वास व्यक्त गरे । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले रु १० करोड विनियोजन गरेको उनले जानकारी गराए ।
समृद्धिका लागि अनुसन्धानको विशेष महत्व रहेको उल्लेख गर्दै उनले छिट्टै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने बताए । सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको बताए ।आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेशभित्र जन्मिएर यहाँकै श्रीवृद्धिको लागि योगदान गरेकाबाट नाम छनोट गरिएको बताए । छनोट समितिले तीन जनालाई छान्न सक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एक जनालाई मात्र छनोट गरिएको उनले जानकारी दिए ।
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थामन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिमध्येबाट सम्मान गर्ने गरी कार्यविधि बनाइएको छ ।विभूषण ग्रहणपछि पुनले अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुक समृद्ध भएको उदाहरण प्रस्तुत गरे ।
अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको बताउँदै उनले अनुसन्धान र विकासका लागि अब ढिला गर्न नहुनेमा जोड दिए । युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको उनको भनाइ छ ।अनुसन्धान आफैमा कठीन काम भएको भन्दै उनले एक सय वटा अनुसन्धानमध्ये १०÷१५ वटा मात्र सफल हुने भएकाले शतप्रतिशत नतिजा आउन नसक्ने बताए ।
प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविष्कार केन्द्र खोलेकामा आफू उत्साही भएको बताउँदै उनले केन्द्र खुलेकै कारण आफूले यो सम्मान लिन तयार भएको स्पष्ट पारे । विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगीमा २०११ सालमा जन्मीएका हुन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक उनी बायोमेडिकल, कृषि, शिक्षा, ड्रोन, लगायत क्षेत्रमा कार्य गर्दै आएका छ भने रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भइसकेका छन ।
गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा निःशुल्क उपचार, विमानस्थलको भिआइपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा…







