बेनी–गलेश्वर सडक मर्मत


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित




गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक खण्डको बेनी–गलेश्वर क्षेत्रमा जोखिमपूर्ण रहेको सडक मर्मत गरिएको छ ।

पश्चिम नेपालको पशुपतिनाथको नामले चर्चित गलेश्वरधाममा साउने सोमबारका दिन पूजा र दर्शन गर्न जाने भक्तजनको सुविधालाई लक्षित गरेर बेनी नगरपालिकाले सडक मर्मत गरेको हो ।

सडकखण्डमा सानाठूला सवारीसाधन आवतजावतमा सहज हुनेगरी ठाउँठाउँमा ग्राबेल गर्नाका साथै स्काभेटरको प्रयोग गरी सडक मर्मत गरिएको बेनी–७ का वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

सडकखण्डमा साउन महिनाको हरेक सोमबार भक्तजनको चाप हुने भएकाले सवारीसाधन फस्ने जोखिमलाई ध्यान दिई जोखिम रहेका स्थानमा हरेक आइतबार नियमित मर्मत गरिने श्रेष्ठले बताए ।

सडकखण्डको मर्मत तथा जोखिमस्थानको स्थलगतरुपमा अनुगमनका लागि नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, वडा नं ७ का वडाध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाललगायत संलग्न एक समिति गठन गरिएको छ ।

नगरप्रमुख केसीले सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम गरिएको र बेनी–जोमसोम सडक निर्माण आयोजनालाई बेनी–गलेश्वर क्षेत्रको जोखिमपूर्ण ठाउँको बाँकी काम तत्काल सम्पन्न गर्नसमेत ध्यानाकर्षण गरिएको बताए ।

नगरपालिकाले भक्तजनको सहजताका लागि आकस्मिकरुपमा काम गरेको भए पनि आयोजना पक्षसँग सडक स्तरोन्नतिका लागि निरन्तर दबाब दिने नगरप्रमुख केसीको भनाइ छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।