सर्वकालीन अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधनमा उनका प्रशंसक र समर्थकहरु सडकमै ओर्लिएर उनीप्रति श्रद्धाञ्जलीको भाव व्यक्त गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
फुटबल दुनियाँका कैयौँ हस्तीहरूले म्याराडोनालाई श्रद्धाञ्जली दिएको संचार माध्यमहरुमा समाचार छ ।
यसमा मेस्सी, रोनाल्डोदेखि लिएर ब्राजिलका महान् खेलाडी पेलेले पनि श्रद्धाञ्जली दिएका छन्।
पेलेले श्रद्धाञ्जलीमा भनेका छन्, ‘मैले एक निकट साथी गुमाएँ र विश्वले एक महान् खेलाडी गुमाएको छ। मलाई आशा छ, हामी एक दिन आकाशमा एकैसाथ फुटबल खेल्नेछौँ ।’
म्यानचेस्टर सिटीका म्यानेजर पेप गुआर्डिएलोले म्याराडोनाले विश्व फुटबललाई अझ राम्रो बनाएको बताएका छन्।
म्याराडोनाका टिमका साथी रहेका ओहवाल्दो अर्बिलेसले म्याराडोनाले जति प्रसिद्धि र प्रशंसा पाए त्यही अहिलेका फुटबलका सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले कहिल्यै पनि पाउन नसक्ने बताएका छन्।
अर्बिलेसले भनेका छन्, ‘मानिसहरु पोर्चुगलका स्ट्राइकर रोनाल्डोलाई मन पराउँछन्, अर्जेन्टिनाका फरवार्ड मेस्सीलाई मन पराउँछन् तर म्याराडोनाले पाएको जस्तो प्रसिद्धि सपना पनि पाउन सक्दैनन्।’
बुधबारको च्याम्पियन्स लिगको खेलमा म्याराडोनाको सम्मानमा एक मिनेटको मौनधारण राखिएको थियो। यस हप्ताको युरोपेली फिक्सर्समा पनि एक मिनेटको मौनधारण राखिनेछ।
बुधबार अर्जेन्टिनामा फुटबल क्लब इन्टरनेशनल र म्याराडोनाको पूर्व क्लब बोका जुनियर्सबीच खेल थियो। जसलाई रद्द गरिएको थियो । निकै ठूलो संख्यामा प्रशंसकहरु स्टेडियम पुगेका थिए र म्याराडोनाको निधनलाई लिएर भावुक हुँदै रोए पनि।
त्यस्तै, म्याराडोना रहँदै आएका स्यान एण्ड्रेसमा पनि ठूलो संख्यामा प्रशंसकहरु पुगेका थिए। अर्जेन्टिनाको राजधानीमा म्याराडोनाका प्रशंसकहरु देशको सर्वकालीन फुटबलर म्याराडोनालाई विभिन्न तरिकाले सम्झिरहेका छन्।
हजारौँ माइल टाढा इटलीमा नेपोलीको सान पाउलो स्टेडियममा मानिसहरु भेला भए र त्यहाँ पनि म्याराडोनालाई श्रद्धाञ्जली दिए। यो ठाउँ म्याराडोनाको लागि विशेष छ। उनले त्यहाँ इटालियन क्लबका लागि १ सय ८८ खेल खेल्दै ८८ खोल गरेका थिए।
मानिसहरुले म्याराडोनाको शर्ट र फेस मास्क पनि लगाएका थिए। नेपोलीमा पनि म्याराडोनाको निधनको खबरले पूरै शहर शोकमा डुबेको छ। शहरका मेयरले सन पाउलो स्टेडियमको नाम म्याराडोना राख्ने पनि घोषणा गरेका छन्।
सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनालाई विश्व कपको उपाधि दिलाएका थिए।
अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा
डिएगो म्याराडोनाको निधनपछि अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण म्याराडोनाको निधन भएको हो।
म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति भवन कासा रोसारा ल्याइएको छ, यहाँ तीन दिनसम्म मानिसहरुले श्रद्धाञ्जली दिन सक्नेछन्।
उज्यालो अनलाइनमा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ…






