बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाको कहरका कारण उत्पन्न प्रतिकुलताका बिच पनि ‘सन्तुलित समाचार, खरो बिचार’ मूल मन्त्रका साथ नयाँ सञ्चार यात्रा शुरु गरेको खबर सुनाउन पाउँदा हामीलाई गर्व लागेको छ ।
रेडियो पत्रकारितामा दुई दशक लामो समय बिताएपनि कोभिड–१९, परम्परागत मिडिया र न्यू मिडिया (डिजिटल) बिचको ‘डिमार्केसन’ हो भन्ने हाम्रो बुझाई छ । त्यसैले मिडियाको ‘फम्र्याट’, प्रसारण मोडालिटी र ‘कन्टेन्ट’ रुपान्तरणका लागि कोभिड–१९ एउटा अवसर हो भन्ने हामीले ठानेका छौं । परम्परागत मिडियाले बदलिदो परिस्थितिलाई आत्मसात् गर्न सक्दैन । हामी रुपान्तरण हुनै पर्छ भन्ने निस्कर्षको प्रतिफल हो एभरेस्ट आवाज । जहाँ हामी प्रविधि, कन्टेन्ट र प्रस्तुतिको ईन्द्रेणीले हाम्रा श्रोता दर्शक र पाठकको मन छुन चाहन्छौं । हामी हिजोको अनुभवको ब्याजमा रमाउनु भन्दा शून्यबाट नयाँ ढंगको यात्रा शुरु गरेर शिखर चढ्न चाहन्छौं । हामीलाई थाहा छ यो यात्रा त्यति सहज छैन । हामी आफैले रोजेको यो यात्रा उतार चढावका बिचपनि निरन्तर अगाडि बढ्नेमा ढुक्क छौं । समयक्रममा फेरिन नसक्ने बिचार÷प्रविधि अन्ततः एक दिन डाइनासोर झैं बिलुप्त हुनेमा कुनै शंका छैन । त्यसैले नयाँ डिजिटल पुस्तालाई समाजसँग सम्वाद, सहकार्य र सम्बन्ध स्थापित गराउन हामी सेतु बनेर आएका छौं । हामी तपाईंलाई नवीन र सन्तुलित समाचार त पस्कन्छौं नै त्योसँगै विविध थरि ‘अर्गानिक’ बिचारपनि पस्किएर जिम्मेवार बन्न÷बनाउन प्रेरित गर्नेर्छौं ।
टिम एभरेस्ट परिपक्व सामाजिक अभियन्ताको नेतृत्वमा संगठित परिवर्तनलाई आत्मसात् गर्ने व्यावसायिक पत्रकार र सामाजिक गतिविधिमा संलग्न युवा उद्यमीहरुको संकटले स्वतः स्फुर्त जुटाएको जुझारु टिम हो ।
भनिन्छ लिडर त्यो हो,’जसले प्रतिकुल परिस्थितिलाई पनि अनुकुल बनाउने हिम्मत जुटाउँछ’ । हामीले त्यही मन्त्रलाई आत्मसात् गर्दै संकटका कारण ब्याप्त अन्यौल र निरासालाई आशामा बदल्ने कोशिस गरेका हौं । हामीलाई विश्वास छ हाम्रो यस प्रयासले अहिलेको घडिमा आशाको सानो भए पनि दियो जगाउने छ ।
दुई दशकको पत्रकारिताको अनुभवले हामीले बुझेका छौं पत्रकारिता पेशा हैन, यो त समाज, नागरिक र देशका लागि गरिने निशर्त सेवा हो । एउटा गुरुत्तर जिम्मेवारी हो । आवाज बिहिनको आवाज हो । विकृति र बिसंगति बिरुद्दको निरन्तर खबरदारी हो । हामी निरपेक्ष पत्रकारितामा विश्वास गर्दैनौं । पत्रकारिता समाजका लागि हो र त्यो संघीय लोकतन्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता, सुशासन÷समृद्धिका लागि हुन सक्नु पर्दछ भन्ने मान्यता राख्छौं । हामी समस्याको पोको मात्र छताछुल्ल पार्दैनौं । त्यससँगै समाधानको उपाय पनि सुझाउने पत्रकारिताको लय समात्न चाहन्छौं । यसैले हामी यो यात्रालाई सार्थक बनाउन तपाईंको समसाथ, रचनात्मक सुझाव, आवश्यक सहयोग र सदैव सद्भावको अपेक्षा राख्दछौं ।
हामी पत्रकारिताको विश्वब्यापी मान्यता, आचारसंहिता र नागरिक अपेक्षालाई शिरोधार्य गर्दै काँधमा जिम्मेवारी, भावनामा ईमान्दारी, मस्तिष्कमा समझदारी र कार्य क्षेत्रमा साझेदारी गर्दै जिम्मेवार पत्रकारिता गर्ने प्रण गर्दछौं ।
शुभारम्भको यस घडिमा नजिकै आईरहेको नेपालीहरुको महान पर्व बडादशैं, तिहार, नेपाल सम्वत्, छठलगायत सम्पूर्ण पर्वहरुको यहाँहरुलाई शुभकामना ब्यक्त गर्दछौं । कोभिड–१९ का कारण मानव जीवननै संकटमा परेको यो बेला हाम्रा चाड पर्वहरु संक्रमणका कारक नबनून् । हामी स्वस्थ रह्यौं भने अर्को वर्ष हाँसी खुसीसाथ हर्षोल्लासपूर्वक मनाउँला । त्यसैले सुरक्षित रहनु होला, जिम्मेवार बन्नुहोला । सबैको जय होस् ।
कर्म कुमारी गुरुङ / अध्यक्ष
दीपेन्द्र श्रेष्ठ / सम्पादक
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ…






