पोखराको मध्य भाग भएर बग्ने सेती नदी धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । एकातिर धार्मिक दृष्टिकोणले हेर्दा सेती नदीमा नुहायो भनेपनि धर्म मिल्छ भन्ने धार्मिक विश्वास रहि आएको छ । अर्कोतिर पर्यटकीय हिसाबले सेती नदी पोखराको फेवाताल जत्तिकै महत्वपूर्ण मानिन्छ ।
धार्मिक महत्वकै कारण आम सर्वसाधारण माघे सक्रान्ति, ठूली एकादशीलगायतका चाँडपर्वमा सेती नदीमा आएर नुहाउँछन् । त्यतिमात्र होईन, कास्कीका अधिकांश तथा नजिकका तनहुँ, पर्वत, स्याङ्जाबाटसमेत सेतीमा दाहसंस्कारका लागि शव लिएर आउने गर्छन् ।
सेती नदी जति धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ त्यत्तिनै पर्यटकीय दृष्टिकोणले पनि उत्कृष्ट मानिन्छ । त्यहाँको खोंच हेर्न अहिलेपनि हजारौं पर्यटक पोखरा आउँछन् । अझ अहिले त सेती नदीको दुबै किनारालाई सौन्दर्यकरण गरेर पर्यटकीय केन्द्र बनाउने योजना महानगरले अघि सारेको छ । जसका लागि महानगरले गुरुयोजना तयार पारिसकेको छ भने त्यसलाई पूर्णता दिन नीजि क्षेत्रलाई सुम्पिने तयारी महानगरले गरेको छ ।
यति महत्वपूर्ण र पवित्र सेती नदीमा बंगुर फारमको मलमुत्र (दिसापिसाब) सिधै मिसाइएको छ । त्योपनि सामान्य १÷२ वटा बंगुर फारमको मलमुत्र होईन, १० हजार बंगुर अटाउने क्षमताको ‘पिगपार्क’को ।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दुई तिहाई अनुदान र बंगुर पालक किसानको करीब एक तिहाई लगानीमा पोखरा महानगरपालिका वडा नम्बर ३३ सहरेतरा बाघमारामा निर्माण भएको बंगुर ब्यबसाय औद्योगिक पार्क (पिगपार्क)को मलमुत्र मिसाइएको हो । पिगपार्कको ब्यबस्थापन हाल बंगुर बिल्डर सहकारी संस्था अमरसिंहचोक पोखराले हेर्दै आएको छ । नेपालकै सबैभन्दा ठूलो र नमूना पिगपार्क भनेर प्रचार गरिएको यो पिगपार्कबाट निस्केको सम्पूर्ण मलमुत्र सेती नदीमा सिधै मिसाएको छ । पिगपार्कमा कुल ३७ वटा टहरा रहेका छन् । त्यसमध्ये दुई तिहाई टहरामा हाल बंगुर पालन भइरहेको छ । २ वटा ब्लकबाट निस्कने ति बंगुरका मलमुत्रदेखि बंगुरको खोर सफा गर्दा निस्कने फोहोरजन्य सम्पूर्ण वस्तु २ वटा क्यानलमार्फत सिधै सेतीमा जाने गरेको एक बंगुर ब्यबसायीले बताए । हामीलाई त बंगुरको मलमुत्र क्यानलमा हाल्न भनिएको छ,‘उनले भने,‘पहिले त हामीलाई थाहा थिएन, तर अहिले बुझ्दा त यो मलमुत्र सिधै सेतीमा पो पुग्दो रहेछ ।’
पिगपार्क निर्माण समितिले शुरुमा बंगुरको मलमुत्र वैज्ञानिक ढंगबाट ब्यबस्थापन गर्ने बताएको थियो । तर पिगपार्कको गुरुयोजना र डिजाईन अनुसार मलमुत्र बिसर्जन स्थल नबनाएर बेईमानी मात्र गरेन, बरु सेतीकै अस्तित्वमाथि धावा बोल्दै पिगपार्कको सम्पूर्ण मलमुत्र सिधै सेतीमा हालिएको छ ।
बंगुरको मलमुत्र मिसाइएपछि सेती नदी प्रदुषित भएको छ । बंगुरको मलमुत्र सिधै सेतीमा मिसाइएको देख्दा जोकसैकोपनि नाक खुम्चिन्छ । अनि त्यसको तल नुहाउनु त के सेतीको पानी छुनपनि घिन लाग्ने स्थिति छ । पिगपार्कबाट निस्केको मलमुत्र सेतीमा मिसाइएको ठाउँबाट २ सय मिटर माथि पशुपति घाट छ भने ३ सय मिटर तल घुमाउरे घाट छ । जहाँ स्थानिय मानिसहरुको मृत्यू भएमा अन्त्येष्टी गर्ने गरिएको छ । प्रदुषणका बाबजुद स्थानियले अन्य विकल्प नपाउँदा सोहि घाटमा अन्त्येष्टी गर्ने गरिएको स्थानिय गणेश पौडेलले बताए । केहि राजनीतिक झुण्डको मिलेमतोमा बनाइएको अब्यबस्थित पिगपार्कका कारण पवित्र नदी दुर्गन्धित र वातावरण प्रदुषित भएको छ,‘उनले भने,‘यो तुरुन्त ब्यबस्थापन गर्नुपर्छ ।’
उसो त पिगपार्कको केहि माथिपट्टी र तलपट्टीपनि गरेर दुबैपट्टी बस्तीसमेत दुर्गन्धको चपेटामा परेका छन् । जसका कारण हरेक बर्षे याममा स्वाईन फ्लुको त्रास बढ्ने गरेको पौडेलले बताए । पिगपार्कबाट निस्केको मलमुत्र सेती नदीसम्म पुग्न बनाइएको २ वटा क्यानलसमेत नाङ्गो हुँदा स्वयम् बंगुरको रेखदेखका लागि बसेका ब्यबसायी तथा कामदारसमेत दुर्गन्धबाट प्रभावित छन् । दुर्गन्धले हामीलाईपनि समस्या छ नि,‘पिगपार्कमा कार्यरत एक मजदुरले भने,‘तर ब्यबस्थापन पक्षले स्ल्याब नराखिदिदा दुर्गन्ध झेलेरै भएपनि काम बस्नुपरेको छ ।’ सोहि दुर्गन्धका कारण कहिले बिरामी परिने हो भन्ने चिन्तासमेत लाग्ने गरेको उनले बताए ।
नागरिक समाजका अगुवा रामबहादुर पौडेल बंगुरको मलमुत्र सेतीमा मिसाउनु निन्दनीय भएको बताउँछन् । यो गलत हो,‘उनले भने,‘यो तुरुन्त हटाउनुपर्छ, पर्यटकीय र पवित्र नदीलाई डम्पिङसाईट बनाईनु अपराध हो ।’
पिगपार्क रहेको वडा नम्बर ३३ का वडाध्यक्ष शिवराज आचार्यले पिगपार्कले मलमुत्र सेती नदीमा हालेर गलत गरेको बताए । आफूले बंगुरको मलमुत्र सेतीमा नमिसाउन पटक÷पटक आग्रह गर्दापनि नटेरेको उनको भनाई छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बंगुरको मलमुत्र सेती नदीमा मिसाउन नपाईने बताउँदै सो कार्य तत्काल रोक्नुपर्ने बताए । सेतीजस्तो पवित्र र पर्यटकीय नदीमा मलमुत्र मिसाउनै पाईंदैन,‘उनले भने,‘तत्काल रोक्न भन्छु, रोकेन भने पिगपार्क नै बन्द गर्छु ।’
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले भने बंगुरको मलमुत्र सेतीमा मिसाइएको बारे अनभिज्ञता प्रकट गरे । प्रमुख जिल्ला अधिकारीको नम्बरमा फोन गर्दा कलडाईभर्ट भई सहायक प्रमुख जिल्ला अधिकारी पौडेलकोमा पुगेपछि उनले भने,‘खै योबारे जानकारी भएन, यसबारे सिडिओसाबसँग कुरा गरेर पछि भनूँला ।’ उनले महानगरको वातावरण महाशाखाले यसबारे चासो दिनुपर्ने संक्षिप्त प्रतिक्रिया दिए ।
सेतीमा मिसाइएको पिगपार्कबाट निस्केको मलमुत्र ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।