नेवारी परम्परा अनुसार आजबाट मोहनी नखःको शुरुवात हुन्छ । हुन त अरु जातिले मनाउने दशैमा झै मोहनी नखः मा पनि घटस्थापनाकै दिन नल स्वा: (जमरा) रोपिन्छ । तर नल स्वा: रोपिए पछि बिचका दिनहरुमा खासै केही गरिदैन । काठमाडौमा भने पञ्चमीको दिन पचिमह्र अर्थात पचली भैरवको जात्रा मनाउने गरिन्छ । अन्यथा नल स्वा: रोपे पछि सात दिनसम्म दैनिक नित्य पूजाको साथमा नल स्वा: को पूजा मात्र गरिन्छ । सप्तमीको दिनमा नेवारहरु फूलपाती भित्राउने गर्दैनन् । फूलपाती पृथ्वीनारायण शाहको विजय अभियानसंगै बिभिन्न स्थानमा मनाउन थालिएको हो ।
खासगरी नेवारहरुको मोहनी नखः अष्टमीबाट शुरु हुन्छ । पूजा पछि समयवजी खाने गरिन्छ । समयवजीको भाग भने मूलढोकामा रहेको पिखालखुमा पनि चढाइन्छ । अष्टमीको राती हरेक नेवारहरुको घरमा “कुछिभ्वय” खाने गरिन्छ । कुलको सबै सदस्यहरु मिलेर लाइनै बसेर खाने भोज भएको हुँदा “कूलछिभ्वय” भनिएको हो । तर पछि अप्रभंश भइ “कुछिभ्वय” भन्न थालियो । यो भोज नेवार परम्परामा बिशेष महत्व राख्ने गर्दछ । यस भोजमा कूलका कुनै सदस्य उपस्थित हुन सकेन भने पनि उसको स्थानमा ब्व (भाग) राख्नुपर्छ । साथै बिबाहित दिदीबहिनीहरुको ब्व राखेर भोलीपल्ट उनिहरुको घरमा छोड्न जानुपर्ने परम्परा छ । तर अचेल खासै त्यस्तो गरेको देखिदैन । साथै अर्को महत्वपूर्ण कुरा कुछिभ्वय कुनै पनि साल जस्तोसुकै अवस्थामा पनि छुटाउनु हुदैन भन्दै परिवारको सदस्यको मृत्यु भइ मोहनी नख नै मनाउन नहुँदा पनि कुछिभ्वय भने खानपर्छ भन्ने परम्परा छ । यदि कुछिभ्वयकै दिन परिवारको कुनै सदस्यको मृत्य भएमा पनि दाहसंस्कार समाप्त गरिसकेपछि अदुवालाई मासुको रुपमा तथा मासको व:को ठाँउमा केराउको व: बनाएर भोज खाने गरिन्छ ।
कुछिभ्वयको ब्व लगाउँदा सबैभन्दा पहिले द्यब्व (देवताको भाग) लगाउनु पर्छ । घौब्व तथा आगँब्व (आगनमा पिखालखुको भाग) लगाइसकेपछि परिवारको संख्या बराबर ब्व लगाउनुपर्छ । कुछिभ्वको भाग लगाउँदा केराको पातमा राखिन्छ । केराको पातको बिचमा च्यूरा (कतै कतै दुइमाना भनिन्छ) राखिन्छ । त्यसपछि बिभिन्न खानेकुरा राखेर सजाइन्छ । खासगरि मासको व:, सुकाएको माछा, पकाएको फर्सी, भुतेको बोडी, केराउ, हरियो साग, मासुको परिकार, थ्वं (जाँड) , आदी सबै खानेकुरा राखेपछि कुछिभ्वे तैयार हुन्छ । भनिन्छ खानेकुराहरु १२ प्रकारको हुनुपर्छ ।
कुछिभ्वयको भोलिपल्ट ‘स्याक्वत्याक्व’ भनिन्छ । यस दिन काटमारको काम हुन्छ । यस दिन सवारी साधनको पूजा तथा बलि दिने गरिन्छ । यस दिन पूजा गर्ने हुँदा विश्वकर्मा पूजाको दिन सवारी साधनको पूजा गर्ने गर्दैनन् । तर अचेल भारतीय देखासिखी गर्दै नेपालमा पनि विश्वकर्मा पूजाको दिन सवारी साधन तथा ज्यावलहरु पूजा गर्ने चलनको शुरुवात भएको पाउँछौ ।
“स्याक्वत्याक्व’ शव्द भने सयेकुक्व त्यात शव्दबाट अप्रभंश भइ भएको भन्ने मान्यता छ । सयेकुक्व त्यातको अर्थ जति सिक्यो त्यति फाइदा हो । यसरी जति सिक्यो त्यति राम्रो भनिएको शव्द अचेल काटमार गर्ने दिनको रुपमा बुझ्ने गरिन्छ । घरमा काटिएको जनावर (कुखुरा वा खसी)को टाउकोको भागलाई “सिका:भू” लिने गरिन्छ । परिवारको ठूला देखी साना सम्मको पुरुष सदस्यको भागमा नाक, कान, आँखा, बङ्गरा आदी बाँडिन्छ । नवमीको रात मोहनीको मूख्य टिका मोहनी सिन्ह बनाउने गरिन्छ । यहि मोहनी सिन्हको नामबाट नै यो चाडको नाम मोहनी रहन गएको हो ।
बलिरहेको दियोमा माथीबाट अर्को पाला घोप्टाएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वासोलाई नै मोहनी सिन्ह भनिन्छ । यस टिकालाई पहिले तान्त्रिक बिधीबाट बनाइ यसलाई परिवारको सदस्यको निधारमा लगाइदिएमा सिद्धी प्राप्त हुन्छ भन्ने जनविश्वास गरिन्छ ।
दशमीको दिनलाई नेवारहरु चालं भन्ने गर्दछन् र अन्य जातिले मनाउने दशैमा झै नेवारहरुमा पनि घटस्थापनाको दिन रोपिएको नल स्वा: निकालेर मोहनी सिन्ह लगाइदिने र नल स्वा: पनि दिने गरिन्छ । साथै नेवारहरुमा रातो वा सेतो रङको “क्वखा” अर्थात कपडाको धजा पनि लगाइदिने गरिन्छ ।
दशमीको भोलिपल्ट चालं क्वकायेगु भनिन्छ । यो दिन अष्टमीमा पूजा गरिएको औजारहरु तथा पुस्तकहरुलाई निकालिन्छ । यसरी निकालिँदा परिवारको सदस्यलाई ल:ल्हाये (दिने) गरिन्छ । टिका भने पूर्णिमासम्म नै लगाउने गरिन्छ । आफ्ना फुकी (दाजुभाइ) तथा आफन्तहरु सबैकोमा टिका थाप्न जानुपर्छ ।
(तस्विर : नेवारी कुछिभ्वयको परिकार सजाइएको हो ।-सम्पादक)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।